शुक्रबारबाट जिल्लाभित्रै सार्वजनिक सवारीसाधन सञ्चालन हुने, भाडा भने ५० प्रतिशत बढाइयो

काठमाडौँ : चैत ११ गतेबाट लकडाउन गरिएसँगै बन्द रहेका सार्वजनिक सावरीसाधनहरू असार २६ गते शुक्रबारबाट जिल्लाभित्रका लागि खुला हुने भएका छन् । सरकारले यात्रुको मारलाई बेवास्ता गर्दै र सवारीधनीको हितमा काम गर्दै पचास प्रतिशत भाडा बढाउने निर्णय पनि गरेको छ ।

सरकारले सबैखालका सार्वजनिक यातायातका सवारीसाधन शुक्रबारबाट जिल्लाभित्र मात्र चल्ने दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. युवराज खतिवडाले बिहीबार आवश्यक सावधानी अपनाउँदै जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय भएको बताएका छन् ।

यता काठमाडौँ उपत्यकाको हकमा भने तीनवटै जिल्लालई एउटै मानेर सवारीसाधन चल्न दिइने भएको छ । तर एक जिल्लाबाट अर्को जिल्ला र लामो दूरीका सवारीसाधन भने खुला गरिएको छैन ।

जिल्ला–जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने भएकाले ५० प्रतिशत भाडा तिर्नुपर्ने सरकारी निर्णय छ । सवारीसाधनका धनीले भाडा वृद्धि गराउन सरकारलाई दबा दिँदै आएका थिए तर अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य धेरै घटेको भन्दै भाडा अझ घटाउनुपर्ने माग हुँदै आएको थियो ।

यस्तै ट्याक्सीमा पनि २ जनाभन्दा बढी चढाउन पाइनेछैन । निजी सवारीसाधनको हकमा भने जोर–बिजोर प्रणाली कायम नै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :