भारतीय मिडियाका विषयमा बल्ल बोल्यो नेपाल सरकार

काठमाडौँ : नेपाल सरकारले प्रधानमन्त्री केपी वली र चिनियाँ राजदूतका विषयमा भारतीय सञ्चारमाध्यमले बनाएको भिडियोको विषयलाई लिएर राजनीतिक र कानुनी उपचार खोज्ने बताएको छ ।

अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले भारतीय मिडियामा आएका समाचारको सरकारले भत्र्सना गर्ने र यसको उपचार खोज्ने बताएका हुन् ।

नेपालमा भारतीय च्यानलहरू बन्द गर्नुपर्छ भन्ने आवाज उठिरहेको बेला बिहीबार नियमित पत्रकार सम्मेलनमा सरकारका सञ्चारमन्त्रीले मिडियालाई प्रतिबन्ध लगाउनुभन्दा आफू अनुशासनमा बसून् भन्ने चाहेको बताए ।

भारतीय जी समाचारले प्रधानमन्त्री वली र चिनियाँ राजदूतबारे भारतीय टीभीमा आपत्तिजनक टिप्पणी गरेर बनाएको भिडियो भाइरल छ । उक्त भिडियोमा चिनियाँ राजदूत यान्छीलाई विषकन्या शब्दको प्रयोग गरिएको छ ।

राजदूतले प्रधानमन्त्री वलीलाई प्रभावमा पारेको भन्दै भारतीय सञ्चारमाध्यमले पत्रकारिताको सामान्य धर्म, मर्यादा र आचारसंहितालाई समेत ख्याल गरेका छैनन् । नेपालले नयाँ नक्सा सार्वजनिक गरेदेखि भारतीय मिडियाहरू अझ बढी एकोहोरो रूपमा नेपालविरुद्ध विषबमन गर्दै आएका छन् ।

नेपालको राष्ट्रियतामाथि सीधा हस्तक्षेप गरिरहेको भारत नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरामा परेड खेलिरहेको छ । यस्तै सुस्तालगायत सीमा क्षेत्रका करिब एक सय स्थानमा भारतले नेपाली भूमि अतिक्रमण गरिरहेको छ । सीमा क्षेत्रमा बस्ने नेपालीहरूमाथि अत्याचार गरेको छ । भारतीयहरूले सीमा क्षेत्रका नेपाली नागरिक र सीमामा खटिएका नेपाली प्रहरीमाथिसमेत आक्रमण गर्ने गरेका छन् ।

नेपालले लिम्पियाधुरा, कालापानी, लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेदेखि नै भारतीय मिडियाहरू निकै अशोभनीय तरिकाले प्रस्तुत हुँदै आएका थिए । भारतीय सञ्चारमाध्यमलाई झूटा र सनसनीपूर्ण समाचार (फेक न्युज) का लागि गोयबल्स नै मानिन्छ ।

दुई ठूला छिमेकीको बीचमा रहेको नेपाल स्वाधीन र स्वतन्त्र मुलुक हो । नेपालका शासकहरूले आफ्नो निहित स्वार्थका लागि भारतीय साम्राज्यवादको गोटी बन्ने, सत्ता र कुर्सीका लागि भारतीय स्वार्थलाई प्रवेश गराउने गरेकाले नेपालमा भारतीय मिडियाहरूसमेत निकृष्ट ढङ्गले प्रस्तुत भैरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :