अखिल (क्रान्तिकारी) ले टाँस्यो शुल्क लिने स्कुलहरूमा कालो ब्यानर


बुटवल : अखिल (क्रान्तिकारी) ले लुम्बिनी ब्युरोअन्तर्गतका रूपन्देही, कपिलवस्तु, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मीलगायत जिल्लाका अनलाइन शिक्षा र बन्दाबन्दीको समयमा शुल्क लिने स्कुलहरूमा कालो ब्यानर टाँसिएको जनाएको छ ।

रूपन्देहीका प्यारामाउन्ट बोर्डिङ स्कुल, बुटवल पब्लिक स्कुल, कपिलवस्तुको शिवगढी बोर्डिङ स्कुल, मदरल्यान्ड बोर्डिङ स्कुल र आदर्श बोर्डिङ स्कुलमा सङ्घर्षस्वरूप कालो ब्यानर टाँसिएको अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोका संयोजक वीरेन्द्र विकले बताए । त्यसैगरी अर्घाखाँची, पाल्पा, गुल्मी, नवलपुर र नवलपरासीका विभिन्न स्कुलहरूमा पनि कालो ब्यानर टाँसिएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोले शुल्क असुलीविरुद्ध चरणबद्ध सङ्घर्ष घोषणा गरेको थियो । यसअघि ध्यानाकर्षणपत्र बुझाएको, सरोकारवालासँग अन्तरक्रिया गरेको, विद्यार्थी र अभिभावकले संयुक्त कोणसभा गरेको अखिल (क्रान्तिकारी) ले जनाएको छ । लकडाउनको समय र अनलाइन शिक्षाका नाममा विद्यार्थी र अभिभावकलाई पत्र थमाउँदै शुल्क तिर्न मानसिक दबाब दिइएकाले शुल्क असुली नरोकिए प्रतिरोधात्मक सङ्घर्ष गर्ने सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :