अखिल (क्रान्तिकारी) द्वारा शुल्क असुलीविरुद्ध प्रदर्शन


बुटवल : निजी तथा सामुदायिक विद्यालयले बन्दाबन्दी समयको शुल्क असुली गरेको विरोधमा अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो र अभिभावकले संयुक्त रूपमा प्रदर्शन गरेका छन् । विरोध कार्यक्रममा विद्यार्थी नेता र अभिभावकले बन्दाबन्दीको समयमा र अनलाइन शिक्षाका नाममा विद्यार्थी र अभिभावकसँग शुल्क लिनु मानवताहीन कार्य भएको बताएका छन् ।

अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा आयोजित विरोध प्रदर्शनपछि आयोजत कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी ब्युरो संयोजक वीरेन्द्र विकले शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधारभूत विषय राज्यको दायित्व भएको भन्दै शिक्षालाई नाफासँग जोडेर माफियाकरण गर्नु गलत भएको बताए । उनले अनलाइन शिक्षा अव्यावहारिक भएको र अझ त्यसका नाममा शुल्क असुल्नु गम्भीर अपराध भएकाले यस्तो कार्य रोक्न सङ्गठनले सङ्घर्ष गरेको बताए ।

जिल्ला अभिभावक सङ्घ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले निजी तथा सामुदायिक विद्यालयले बन्दाबन्दी समयको शुल्क लिँदा विद्यार्थी तथा अभिभावकलाई मर्का परेको भन्दै यसका विरुद्ध सबै अभिभावक र सरोकावाला गम्भीर हुनुपर्ने बताए ।

लुम्बिनी ब्युरोअन्तर्गत कपिलवस्तुका दुई स्थानका साथै अर्घाखाँची, पाल्पा, नवलपुर र रूपन्देहीमा सङ्गठनले विरोध सभा गरेको ब्युरो संयोजक बिरेन्द्र विकले बताएका छन् । नवलपुरमा केन्द्रीय सदस्य रूपा बुढा मगर, पाल्पामा जिल्ला अध्यक्ष लंक राना, कपिलवस्तुमा विज्ञान, अर्घाखाँचीमा जिल्ला अध्यक्ष नवीनले विरोधसभालाई सम्बोधन गरेका थिए । विरोधसभामा विद्यार्थी र अभिभावकहरूको उल्लेख्या उपस्थिति रहेको समाचारमा जनाइएको छ ।

अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोले शुल्क असुलीविरुद्ध विभिन्न चरणबद्ध सङ्घर्षको कार्यक्रम घोषणा गरेको थियो जसअन्तर्गत ध्यानाकर्षणपत्र बुझाउने र सरोकारवालासँग अन्तरक्रिया सम्पन्न गरिसकेको सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :