बाढीपहिरो पीडितलाई राहत देऊ, घाइतेको निःशुल्क उपचार गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी बझाङले असार १९ गते राति आएको भीषण वर्षापछि गएको बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपा बझाङ इन्चार्ज विराट र सेक्रेटरी हरिलालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै स्युँ गाउँपालिका वडा नं. ८ मल्लेसी गाउँमा ज्यान गुमाएका ६ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

बाढीपहिरोको प्रकोपले गर्दा जनताको जिउधनको ठूलो क्षति भएकाले आफ्नो पार्टी निकै मर्माहत भएको भन्दै विज्ञप्तिमा बाढीपहिरोमा परेर घाइते भएकाहरूको निःशुल्क उपचार गर्न, ज्यान गुमाउनेहरूका परिवारहरू र धनमाल क्षति भएका जनतालाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिएको छ ।

उक्त स्थानमा अझै बाढीपहिरोको जोखिम रहेको भन्दै नेकपाले सम्भावित जोखिमपूर्ण बस्तीहरूको अध्ययन गरी बसाइँका लागि उपयुक्त स्थानमा बस्तीहरू बसाउन पनि राज्यसँग माग गरेको छ ।

असार १९ गते राति आएको भीषण वर्षाका कारण बझाङको स्युँ गाउँपालिका वडा नं. ८ मल्लेसी गाउँमा गएको पहिरोमा परी ६ जनाको ज्यान गएको थियो भने एकजना अझै बेपत्ता छन् । पहिरोमा १८ वटा घर बगेका छन् र करोडौँ धनमालको क्षति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :