अखिल क्रान्तिकारीद्वारा निजी विद्यालयहरूलाई शुल्क नलिन चेतावनी

काठमाडौँ : अखिल (क्रान्तिकारी) मेची–कोसी क्षेत्रीय समन्वय समितिले शिक्षाका नाममा दलाली गर्न पल्किएका शैक्षिक दलालहरूले कोरोना महामारीका कारण जनताको दिनचर्या कष्टपूर्ण बन्दै गइरहेको समयमा पनि विद्यार्थीहरूबाट शुल्क असुली गर्नतिर लागेको भन्दै उक्त कार्य बन्द गर्न चेतावनी दिएको छ ।

मेची–कोसी क्षेत्रीय समन्वय समितिका संयोजक पुष्प न्यौपानेले प्रेस विज्ञप्ति जारी गर्दै निजी शिक्षण संस्थाहरूको छाता सङ्गठन प्याब्सन, एनप्याबसनलाई अभिभावकहरूमाथि शुल्कका लागि दबाब नदिन आग्रह गरेका छन् ।

सरकारले वैज्ञानिक र व्यवस्थित तवरले विद्यालयहरू सञ्चालन गर्न नसकिरहेको बेला र विद्यालयहरू क्वारेन्टाइनमा बदलिएको बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै भर्नाका नाममा शुल्क नलिन निर्देशनसमेत गरिसकेको अवस्थामा पनि निजी विद्यालय कमाउधन्दामा लागेको क्रान्तिकारीको भनाइ छ । शिक्षालाई सेवाका नाममा लुटेर आफ्नो साम्राज्य कायम राख्न पल्केका निजी शिक्षण संस्थाहरूको छाता सङ्गठन प्याब्सन, एनप्याब्सनको कदमप्रति खेद प्रकट गर्दै क्रान्तिकारीले पूर्वका झापा, मोरङ, सुनसरी, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमसहित ८ जिल्लामा तत्काल यस गलत निर्णयलाई सच्याउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ ।

क्रान्तिकारीले मेची–कोसी ब्युरोमा यही २२ गतेदेखि २४ गतेसम्मका लागि ३ दिनसम्म सङ्घर्षको कार्यक्रम पनि घोषणा गरेको छ । विद्यालयदेखि विश्वविद्यालयसममका परीक्षाहरू हुन नसकेका कारण विद्यार्थीहरू अन्योलमा परिरहेको समयमा क्रान्तिकारीले उचित व्यवस्थापनको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :