अखिल (क्रान्तिकारी) ले गर्यो शुल्क असुलीविरुद्ध अन्तरक्रिया

काठमाडाैँ : अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले कोरोना सङ्कट र शुल्क असुलीको समस्या विषयमा अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियाका वक्ताहरुले शिक्षा राज्यको दायित्व भएको भन्दै बन्दाबन्दीको समयमा विद्यार्थी र अभिभावकबाट शुल्क लिनु गलत भएको बताएका छन् ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय महासचिव प्रकाश शाहीले शिक्षा राज्यसत्ताको प्रश्नसँग जोडिएको भन्दै सत्ताको खराब चरित्रविरुद्ध सङ्घर्षको विकल्प नभएको बताए । उनले राज्यको अवैज्ञानिक नीतिका कारण लाखौँ विद्यार्थीको भविष्य सङ्कटमा परेको पनि प्रस्ट पारे । उनले अनलाइन शिक्षाका नाममा विद्यार्थी र अभिभावकसँग शुल्क असुल्ने कार्य गलत र अमानवीय भएकाले त्यसका विरुद्ध सङ्गठनले कडा सङ्घर्ष गर्ने चेतावनी दिए ।

अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले संविधानमा शिक्षालाई निःशुल्क र अनिवार्यसमेत घोषणा गरे पनि सत्ता सञ्चालकहरुले नै संविधानलाई उल्लङ्घन गरेको बताए । पाठकले शिक्षाजस्तो विषयलाई कम्पनी रजिस्टर्ड कार्यालयमा दर्ता गरेर नाफामूलक बनाउनु गलत भएको धारणा राखे । उनले राज्य शिक्षाको दायित्वबाट पन्छिएको पनि प्रस्ट पारे ।

अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक वीरेन्द्र विकले सङ्गठनले पूर्वघोषित सङ्घर्षको कार्यक्रमअनुसार कोरोना सङ्कट र शुल्क असुलीको समस्याबारे सरोकारवालासँग छलफल चलाएको भन्दै सङ्घर्षलाई सहयोग गर्न अपिल गरे । उनले शुल्क असुली नरोकिए सङ्गठनले प्रतिरोधात्मक सङ्घर्ष गर्ने चेतावनी पनि दिए ।

कार्यक्रममा प्याब्सन केन्द्रीय सल्लाहकार लोकनाथ उपाध्याय, प्याब्सन रूपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, एनप्याब्सनका रूपन्देही अध्यक्ष पुरुषोत्तम बस्याल, अभिभावक सङ्घ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, हिसान रूपन्देहीका अध्यक्ष कृष्ण पौडेल, उपाध्यक्ष दिनेश भुसाललगायतले शिक्षाप्रति राज्य उदासीन भएको, बजेटले निजी शिक्षाको समस्या समाधान गर्न नसकेको, निजी विद्यालयको समस्यालाई वर्गीकरण गरेर समाधान गर्नुपर्ने, कोरोना र बन्दाबन्दीको समस्यालाई ध्यान दिँदै जोर–बिजोर वा वैकल्पिक उपाय खोजेर विद्यालय सञ्चालन गर्नुपर्ने, बन्दाबन्दीको समयको बेला शुल्क नलिने, अभिभावक, शिक्षक र विद्यालय सञ्चालक भएर राज्यलाई ध्यानाकर्षण गराउनेलगायत विषयमा बोलेका थिए ।

कार्यक्रममा युवा सङ्गठन नेपालका लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषण र अखिल नेपाल लेखक सङ्घका महासचिव खोमा तरामु मगरले कोरोना कहर पुँजीवादको सङ्कट भएको भन्दै यसको विकल्प वैज्ञानिक समाजवाद भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :