कोरोनाभन्दा डरलाग्दो आत्महत्या

काठमाडाैँ : वर्तमान केपी वली सरकारले गठनको सुरुआती दिनदेखि नै जनतालाई समाजवादको सपना देखायो । नाकाबन्दीको बेला नक्कली राष्ट्रवादको सपना देखाएको केपी वली सरकारको पालामा ठूलाठूला काण्डहरू भए । निर्मला बलात्कार–हत्याकाण्ड, वाइडबडी काण्ड, सुनकाण्ड, एनसेल काण्ड, १० अर्ब भ्रष्टाचार काण्ड सबै यही सरकारको पालामा भए । समाजवादको नारा दिएर जनताको लोकप्रिय मत प्राप्त गरेको सरकारसँग जनताले पनि धेरै अपेक्षा गरेका थिए ।

मानिसहरूले समाजवादी व्यवस्थामा गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार, सञ्चारलगायत आधारभूत आवश्यकता पूरा गर्ने दायित्व राज्यको हुने, जनताले राज्यका लागि योगदान गर्ने र राज्यव्यवस्थाप्रति उत्तरदायी हुने यस्तैयस्तै कल्पना गरेर बसेका थिए । तर देशमा व्याप्त बेथिति, भ्रष्टाचार, हत्या, हिंसा र आत्महत्याका घटनाहरू विकराल बन्दै गए ।

पछिल्लो समय कोरोना महामारी नियन्त्रण र रोकथाममा पनि सरकार पूरै असफल भयो । ३ महिनाअघि नै चीनको वुहानमा देखिएको कोरोना भाइरस विश्व भ्रमण गरेर नेपाल आउने बेलासम्म कोरोना रोकथाममा सरकारको तयारी निकै कम भयो । कुरा धेरै तर काम थोरै गर्ने सरकारले स्वास्थ्य सामग्री खरिदमा गरेको भ्रष्टाचारले कति बदनाम भयो भने देशभरिका सहरहरूका लकडाउनको भद्र अवज्ञा गर्दै ठूलाठूला प्रदर्शन भए । सडकबाट युवाहरूले १० अर्बको खोजी गरे ।

उता देशैभरि बनाइएका क्वारेन्टाइनहरू रोग सार्ने कारखानाजस्ता भए । सद्दे मान्छेलाई क्वारेन्टाइनमा हालेर बिरामी बनाउँदै पठाइयो । सुरुका दिनमा घरबाट अति आवश्यक सामान र औषधी किन्नसमेत बाहिर निस्केकाहरूलाई प्रहरीले लछारपछार पार्ने काम ग¥यो । तर जब कोरोना महामारी देशैभर फैलिन थाल्यो त्यतिबेला पीसीआर र आरडीटी पोजेटिभ देखिएकाहरू बकाइदा गाउँघरमा घुमिरहे र भोजभतेरमा सहभागी भइरहे । यसले गर्दा कोराना समुदायमा फैलिने खतरा बढ्यो ।

ठूलाठूला व्यापारी र भाटभटेनी सुपरमार्केटहरूलाई सुरक्षा दिएर खुला गर्न दिएको सरकारले उसकै छेउका साना पसलेहरूलाई पसल बन्द गर्न लगायो । यसले निम्त्याएको सङ्कटका कारण नेपालमा दैनिक १५ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्क छ । कोरोनाकै कारण आजसम्म ३१ जनाको ज्यान गएको छ भने लकडाउन अवधिमा आत्महत्या गर्नेको सङ्ख्या भने १५ सय पुगेको छ ।

राज्यको गतिविधि, महामारीको त्रास, लकडाउन, आर्थिक सङ्कटदेखि महामारीपछि उत्पन्न अन्य सङ्कट नै आत्महत्याका कारण भए पनि मुख्य गरी आर्थिक कारण नै मानिसले आत्महत्या गर्ने गरेको जनस्वास्थ्य विज्ञहरूको भनाइ छ ।

लकडाउनको समयमा कैयौँ मानिसहरूको रोजगारी गुमेको छ । रोजगारीमा भएकाहरू पनि न्यून पारिश्रमिकमा काम गर्न बाध्य छन् । उद्योगधन्दा, व्यापारव्यवसायहरू चौपट भएका छन् । सामान्य अवस्थामा घरखर्च धान्न नसक्ने समस्यामा मानिसहरू परेका छन् ।

अर्कोतिर कोरोनाको त्रासले मानिसहरू घरबाहिर निस्कन समस्या भएको छ । कोरोना लागिहालेमा समाजबाट सहनुपर्ने अममानका कारण पनि मानिसहरू मानसिक रुपमा विक्षिप्त बन्न पुगेको देखिन्छ । आजभोलि सामाजिक सञ्जालमा दाङकी एक युवतीले फेसबुक लाइभ गरेर कोठाको पङ्खामा झुन्डिएर गरेको आत्महत्याको घटना एउटा प्रतिनिधि उहाहरण हो । यस्तै मानिस व्यस्त हुनका लागि काम नभएपछि र भएको काम पनि खोसिएपछि एकोहोरो सामाजिक सञ्जालमा झुमिँदा र मानसिक दबाब पर्दा खासगरी युवाहरूमा आत्महत्या गर्ने दर बढेको जनस्वास्थ्य विज्ञहरूको टिप्पणी छ ।

प्रहरीको तथ्याङ्लाई आधार मान्ने हो भने देशैभरि बढिरहेको आत्महत्याको दर ३० प्रतिशतले बढेको अनुमान छ ।

यही असार १७ गते प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिको बैठकले लकडाउनको समयमा आत्महत्या रोकथाम गर्न सरकारलाई चारबुँदे निर्देशन नै दिएको छ । यसले पनि नेपालमा आत्महत्याको दर बढेको देखाउँछ ।

क्वारेन्टिनमा बसेका तथा क्वारेन्टिनबाट घर फर्किएका व्यक्तिले आत्महत्या गरेका छन् । मानसिक रोगलगायत दीर्घरोग भएका व्यक्तिलाई अन्याय भएको छ । उनीहरूमध्ये औषधि किन्न नसक्ने, चिकित्सक भेट्न नसक्ने, अस्पतालले पनि कोरोनाको आँखाले हेर्ने, अस्पतालमा सङ्क्रमण भएको समाचारले अस्पताल जान डर मान्ने, आयस्रोत घटेको हुँदा उपचार गराउन नसक्नेलगायत कारणले दीर्घरोगी, गर्भवती, सुत्केरीलाई मनोसामाजिक असर देखापरेको छ ।