केपी वली शासनका दिनगन्ती सुरु


काठमाडौँ : राष्ट्रियता, जनतन्त्र, जनजीविका, जनस्वास्थ्य सबै क्षेत्रमा असफल र बदनाम भएर फतक्क पाकिसकेको केपी वलीको शासनका अब दिनगन्ती सुरु भएका छन् । पार्टीको प्रथम अध्यक्ष र दुई तिहाइ हाराहारीको कथित वाम सरकारका प्रधानमन्त्री केपी शर्मा वलीका दुवै पदका दिनगन्ती सुरु भएका हुन् ।

पदमा नहुँदा पनि राष्ट्रियता, जनतन्त्र र जनजीविकाविरुद्ध एकएकवटा उपद्रव गरिरहने, पदमा पुगेपछि राष्ट्रियता जुवाको खालमा राख्ने, आफ्नै सहयात्रीसमेत कसैलाई रौँबराबर नगनी आफ्नै गुटस्वार्थमा लिप्त रहने वलीलाई आफ्नै पार्टीका ३१ जना स्थायी समिति सदस्यले दुवै पदबाट राजीनामा मागेपछि उनको शासनका दिनहरू गन्तीमा आउन थालेका हुन् । पछिल्लोपटक त ‘दिनभर वली र रातभर झोली’ मा लाग्ने चरम अवसरवादी रामबहादुर थापादेखि विष्णु पौडेलसम्मले वलीलाई धोका दिएर क्याम्प फेरेका छन् ।

यतिबेला पार्टी र सरकार दुवैतिर वलीका विपक्षमा बहुमत छ । सरकारी नेकपाका ३१ स्थायी समिति सदस्यले वलीका विपक्षमा खुलेरै बैठक गरिसकेका छन् । उनीहरूले वलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद त्याग्नुपर्ने माधव नेपाल, पुष्पकमल दाहाल, झलनाथ खनाललगायत नेताहरूको लोलीमा बोली मिलाएपछि वली तिल्मिलाउँदै राष्ट्रपति कार्यालय पुगेका छन् । राष्ट्रपति कार्यालयलाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री वलीको दुःख बिसाउने ठाउँका रूपमा लिइन्छ । राष्पति वलीको अन्ध समर्थक रहेकाले वलीलाई सङ्कटबाट चाउन सङ्कटकाल लगाउने, संसद् विघटन गरी चुनाव घोषणा गर्नेसम्मको निर्णय हुनसक्ने विश्लेषकहरूको मत छ ।

सरकारी नेकपाको मङ्गलबार र बुधबार बसेको स्थायी समितिका बैठकहरूमा ३१ जना सदस्यहरूले नै दुवै पदबाट वलीको राजीनामा मागेपछि वली विभिन्न बहानामा बैठक छाडेर आफ्नो गुटका नेताहरूसँग छलफलमा व्यस्त भएका थिए । रक्षामन्त्रीसमेत रहेका वली समूहका ईश्वर पोखरेलले बुधबार साँझ बीसीसीसँग गरेको कुराकानी सुन्नेहरूले पनि अब वलीको रक्षा गर्न कुनै बाह्य शक्तिले समेत नसक्ने र दिनगन्ती सुरु भइसकेको वली शासनका दिन नबढ्ने सङ्केत गरेका छन् । शेरबहादुर देउवासँग मिलेर अमेरिकी राष्ट्रघाती परियोजना पारित गरेरै छोड्ने रटान लगाइरहेका वलीले पार्टीभित्रै पनि विश्वसनीयता गुमाउँदै गएका थिए । बाह्य जनमत त वलीका विरुद्धमै छ ।

पार्टीका प्रथम अध्यक्ष एवम् प्रधानमन्त्री रहेका वलीले पनि उनका प्रतिपक्षीले झैँ बुधबार बिहान आफू निकट स्थायी समिति सदस्यहरूलाई बोलाएर आफ्नो भविष्यप्रति चिन्ता गरिदिन र आफ्नो पदको रक्षा गरिदिन याचना गरेका थिए । उनले बोलाएको भेलामा रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी, घनश्याम भुसाल र योगेश भट्टराई पनि सहभागी रहेको स्रोतले बताएको छ तर उनीहरूले पनि वलीको रक्षा हुने कुनै उपाय प्रस्तुत गर्न सकेनन् किनकि यी पात्रहरू अर्को समूहमा पनि सहभागी छन् । केही दिनअघि उनले दिएको भारतका कारण आफ्नो पद धरापमा परेको अभिव्यक्ति पार्टीभित्रै चरम विवादमा परेको छ । यसअघि नक्कली राष्ट्रवादी बनेर सहानुभूति बटुल्दै आएका वलीको यो कार्ड भने उनको राजनीतिक भविष्य सिध्याउने एउटा बलियो कडी बनेको निष्कर्ष राजनीतिक विश्लेषकहरूले निकालेका छन् ।

स्रोतका अनुसार वलीले पार्टी स्थायी समितिका अत्यधिक बहुमत सदस्यले राखेको राजीनामाको प्रस्ताव मान्नुको साटो उल्टै बालुवाटारमा गुटको बैठक राखेर बहुमतलाई चुनौती दिएकाले झम्सीखेलमा वलीबाहेकका नेताहरूको बैठक राखेर वलीलाई दुवै पदबाट हटाएरै छोड्ने निष्कर्ष निकालिएको उनको विपक्षका एक स्थायी समिति सदस्यले बताएका छन् ।

झम्सिखेलमा भेला भएका स्थायी समितिका बहुमत सदस्यले वलीको नेतृत्वमा पार्टी र सरकार दुवै चल्न नसक्ने भएकाले वलीलाई अपदस्थ गरेर नयाँ नेतृत्व निर्माण गर्नुपर्ने निष्कर्ष निकालेका छन् । सरकारी नेकपाको स्थायी समितिमा अहिले ४४ सदस्य छन् । ३१ पनाले खुलेरै वलीको राजीनामा मागिसकेका छन् भने पदप्रतिष्ठा नपाएका र खुल्न नसकेका अरू पनि कतिपय स्थायी समिति सदस्य निर्णायक अवस्थामा वलीका विरुद्ध जाने तयारीमा छन् । स्रोतका अनुसार रामबहादुर थापाले वली क्याम्प फेरिसकेका छन् भने टोपबहादुर रायमाझी, मणि थापा, घनश्याम भुसाल, विष्णु पौडेललगायत पनि क्याम्प फेर्ने तयारीमा छन् ।

कोको थिए वलीविरोधी झम्सिखेल बैठकमा ?

वलीलाई हटाउने निष्कर्ष निकाल्न राखिएको झम्सिखेल बैठकमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, लीलामणि पोखरेल, रघुजी पन्त, देवेन्द्र पौडेल, मणि थापा, गणेश साह, चक्रपाणि खनाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, मातृका यादव, मुकुन्द न्यौपाने, देव गुरुङ, वर्षमान पुन, भीम रावल, शक्ति बस्नेत, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, भीम आचार्य, बेदुराम भुसाल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र घनश्याम भुसाल सहभागी भएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पार्टीमा मात्र नभएर संसदीय दलमा पनि वलीविरुद्ध बहुमत रहेको सरकारी नेकपा स्रोतले जनाएको छ । सरकारी नेकपाका १७४ सांसदमध्ये बहुमत पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमका पक्षमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :