मान्छे नभएको समयमा नेकपा कार्यकर्ताको घर प्रहरीद्वारा तोडफोड, आफन्तसमेत गिरफ्तार

दाङ : प्रहरीले यही असार १६ गते राती एक बजे दाङको गडवा गाउँपालिकाको राङसिङ गाउँ अपरेसन गरी मान्छे नबसेको घरसमेत तोडफोड गरेको जानकारी प्राप्त भएको छ ।

प्राप्त समाचारअनुसार कोरोना त्रास र लकडाउनको समयको समेत परबाह नगरी प्रहरीले गाउँलेलाई आतङ्कित पार्दै मध्यरातमा नेकपाका स्थानीय कार्यकर्ताको घर छापामारेर तोडफोड गरेको हो ।

समाचारअनुसार प्रहरीले राङसिङका नेकपा कार्यकर्ता यज्ञबहादुर कुमाल, मनु गिरीलगायतको ताला लगाएको घरमा ताला फोडेर छापामारेको थियो भने सँगैको घरमा बसेका नेकपा कार्यकर्ताका पाहुना नरेश गिरीलाई गिरफ्तार गरी चौकीमा पुर्याएको थियो ।

स्थानीय जनसमुदाय र बुद्धिजीवी चौकीमा पुगेर पाहुना लाग्न आएका नरेशलाई छोड्न दबाब दिएका थिए । दबाबपछि नरेश नेकपासम्बद्ध नदेखिएको भन्दै स्थानीय बुद्धिजीवीको रोहबरमा उनलाई रिहा गर्न प्रहरी बाध्य भएको पनि समाचारमा उल्लेख छ ।

मुलुकमा कोरोना सङ्क्रमणको महामारी र लकडाउनका कारण जनजीवन अस्तव्यस्त र त्रस्त भएको समयमा नेकपाले आफ्ना सबै आक्रामक कारबाही बन्द गरेर जनचेतना र जनजागरणमा लागेको समयमा यसरी रातबिरात ताला लगाइएको घर घेरा हाली बस्तीमा आतङ्क मच्चाउने कार्य निन्दनीय भएको भन्दै स्थानीय बासिन्दासमेत आक्रोशित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :