सूदखोर वित्तीय संस्थाहरू कारबाहीको निशानामा छन् : निर्माण


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज निर्माणले लकडाउन अवधिभर कुनै पनि बैङ्क वा वित्तीय संस्थाहरूले ब्याज लिने वा लगानी असुल नगर्नू र नगराउनु भन्ने सर्वाेच्च अदालतको आदेशविपरीत बैङ्क र केही सूदखोर वित्तीय संस्थाहरूले जबर्जस्ती ब्याज र समूहको ऋण असुल गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

बन्दका कारण उद्योग, व्यापार, व्यवसायीहरूले कुनै उत्पादनका काम गर्न नपाएको बेला सूदखोरहरूले जनता र व्यवसायीलाई सङ्कटमा झन् सङ्कट पैदा गरेको पाइएको भन्दै नेता निर्माणले दलाल पुँजीपतिहरूलाई जनताको जीवनभन्दा नाफा मात्रै नहेर्न आग्रह गरेका छन् । उनले पुँजीवादी एजेन्टका रूपमा गाउँगाउँमा पसेका लघु वित्त माइक्रो फाइनान्सहरूले चर्को ब्याजमा जनतालाई लुट्ने काम गरिरहेको भन्दै त्यस्तो कार्यको निन्दा पनि गरेका छन् ।

सेम ब्युरो इन्चार्ज निर्माणले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै साना व्यापारी, उद्योगी, किसान र डेरा गरी बस्नेहरूको समस्याप्रति सरकार उदासीन भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

वैज्ञानिक बनका नाममा हुने बन विनास रोक्नुपर्ने तर कटान भैसकेको काठलाई खेर जान नदिन सङ्कलन र वितरण गर्न दिनुपर्ने भन्दै निर्माणले कथित समाजवादको नक्कली जामा भिरेको सरकारले शिक्षाका नाममा झन् चर्को व्यापारीकरण गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

जनता कोरोना महामारीले कष्टकर जीवन बिताइरहेको बेला सरकार भ्रष्टाचारमा डुबेको भन्दै नेता निर्माणले विज्ञप्तिमा भनेका छन, ‘अहिले असारे विकासका नाममा सात नम्बर प्रदेश सरकार र स्थानीय तहमा भैरहेको भ्रष्टाचार, अनियमितता र कमिसनको खेलप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसमा पनि बजेट परिचालन गर्ने भौतिक योजना मन्त्रालयमा भएको करोडौँ कमिसनको खेल नाङ्गो रूपमा बाहिर आएको छ । त्यस्तै कोरोना व्यवस्थापनका नाममा पनि करोडौँ खर्च भएको देखाउने तर क्वारेन्टाइन व्यवस्थापनमा लापरबाही गर्ने गरेको पनि पाइएको छ । अझ त्यसमा पनि क्वारेन्टाइन कोरोना फैलाउने केन्द्रका रूपमा प्रयोग भएको पाइएको छ । यसलाई सही व्यवस्थापन नगरेमा, भ्रष्टाचार नरोकेमा र जनताको विकासलाई पारदर्शी नगरेमा सम्बन्धित भ्रष्टाचारका केन्द्रमा पार्टीले कारबाही केन्द्रित गर्नेछ ।’

कोरोना आतङ्क र लकडाउनको समयमा पनि सरकारलेसामान्य मानवीय संवेदनशीलतालाई समेत ध्यान नदिई आफ्नो पार्टीका नेता–कार्यकर्तालाई धरपकड गरिरहेको भन्दै निर्माणले विज्ञप्तिमार्फत राष प्रकट गरेका छन् । केही दिनअघि सहिद सनराइजको स्मृतिमा सहभागी भएको समयमा गिरफ्तार गरिएका नेकपा कैलालीका जिल्ला नेताहरू दलबहादुर विक, प्रकाश रावल, बबरजङ्ग सिंहलगायत ६ जना र बाजुरा जिल्ला इन्चार्ज एन्डिजलगायत कैलालीमा गिरफ्तार गरिएकाहरूलाई तत्काल बिनासर्त रिहा गर्न उनले माग गरेका छन् । विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :