भर्ना हुन र शुल्क तिर्न दबाब दिने निजी विद्यालयलाई कारबाही गरिने

काठमाडाैँ :अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सेती–महाकाली क्षेत्रीय समन्वय समितिले कोरोना महामारीको जटिल अवस्थामा विद्यालय बन्द रहेको बेलामा पनि प्याब्सन र एनप्याब्सनले शुल्क उठाउने गरेको भन्दै त्यसको भत्र्सना र निन्दा गरेको छ । साथै विद्यालयहरूलाई शुल्क नतिर्न सम्पूर्ण अभिभावकहरूलाई अपिल पनि गरेको छ । क्रान्तिकारीले भर्ना हुन र शुल्क तिर्न दबाब दिने विद्यालयलाई चेतावनीपत्र पठाउने, अटेर गरे आवश्यक कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

अखिल क्रान्तिकारीको सेती–महाकाली क्षेत्रीय समन्वय समिति संयोजक वीरेन्द्र विकले प्रेस विज्ञप्ति जारी गर्दै कमिसनको चलखेलमा निजी विद्यालयहरूले प्रत्येक वर्ष मनपरी ढङ्गबाट पाठ्यपुस्तकहरू बदल्ने गरेकोमा यो वर्ष पुरानै पाठ्यपुस्तक कायम गर्न ध्यानाकर्षण गराउन आग्रह गरेको छ ।

सामुदायिक विद्यालयहरूले अझैसम्म पनि अभिभावक वा विद्यार्थीलाई बोलाएर किताब पनि वितरण गर्न नसकेको भन्दै उच्च सतर्कता अपनाएर विद्यार्थीहरूलाई पुस्तकहरू उपलब्ध गराउन पनि क्रान्तिकारीले अनुरोध गरेको छ ।

साथै क्रान्तिकारीको विज्ञप्तिमा यही असार १९ गते सेती–महाकालीका ९ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइमा ज्ञापनपत्र बुझाउने र २१ गते सरोकारवाला निकायसँग अनलाइन माध्यमबाट अन्तरक्रिया गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :