कास्कीमा सहिद अजितको स्मृतिसभा


काठमाडौँ : नेकपा कास्कीले जनयुद्धका सहिद विजयराज बास्तोला ‘अजित’ को १६ औँ स्मृतिसभा सम्पन्न गरेको छ ।

जनयुद्धमा तत्कालीन शाही नेपाली सेनाद्वारा अन्य साथीहरूसहित गिरफ्तारपछि अजितलाई निर्ममतापूर्वक हत्या गरेको थियो । २०६१ साल असार १६ गते उनको हत्या भएको हो । बास्तोलाको योगदान र बलिदानको उच्च सम्मान गर्दै नेकपा कास्कीले उनको स्मृतिसभा गरिएको जनाएको छ ।

सभामा सहिद अजितका छोरा प्रकाश बास्तोलाले बाबुको जीवनी र योगदान सुनाएका थिए । छोरा प्रकाशको प्रतिबद्धता र बाबुको योगदानको प्रशंसा साथै सम्झना गर्दा सभास्थल भावविह्वल बनेको थियो । छोरा प्रकाशले बाबुले उठाएको क्रान्तिको झन्डा झुक्न नदिने र आफू हालसम्म पनि निरन्तर बाबुको सपनामा लागिरहेको बताएका थिए ।

सहिद विजयराज बास्तोला बाबु कृष्णविलास बास्तोला र आमा कृष्णकुमारी बास्तोलाका सन्तानका रुपमा २०२५ साल भदौ २१ गते साबिक सिद्ध गाविस १, टाकान्जा कास्कीमा जन्मिएका थिए । उनका श्रीमती खिमादेवी बास्तोला, भाइ उदयराज बास्तोला, दिदी पार्वती अधिकारी, छोरा प्रकाश बास्तोला र छोरीहरू पवित्रा र अस्मिता बास्तोला छन् ।

अजित जनयुद्धकालमा २०५६ जेठ १ गतेदेखि पार्टीको पूर्णकालीन कार्यकर्ता बनेका थिए । पार्टीको योजनामा उनले पश्चिम रोल्पादेखि रुकुमसम्म अभियानकर्मीका रूपमा सहभागिता जनाएका थिए । सहादतको समयमा उनी नेकपा (माओवादी) को इलाका पार्टी सदस्यको भूमिकामा रहेर काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :