केपी वलीको प्रधानमन्त्री र अध्यक्ष दुवै पद धरापमा

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले नै मागे राजीनामा


काठमाडौँ : भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागेको भन्दै केही दिनदेखि विवादास्पद भनाइ राख्दै आएका केपी वलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद धरापमा परेको छ ।

सरकारी नेकपाको मङ्गलबार बसेको स्थायी समिति बैठकमा पार्टीका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत अधिकांश नेताले वलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदको गरिमा नराखेको र जनतालाई सकारात्मक अनुभूति हुने गरी कुनै काम गर्न नसकेको भन्दै राजीनामा मागेका हुन् ।

केही दिनअघि एक कार्यक्रममा वलीले नयाँ नक्सा ल्याएपछि आफ्नो सरकार ढाल्न भारतीय दूतावास सक्रिय भएको अभिव्यक्ति दिएपछि मङ्गलबारको बैठकमा त्यो कुराको पुष्टि गर्न अन्य नेताहरूले जोड दिएका थिए । स्थायी समितिको बैठकमा द्वितीय अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको राजीनामा भारतले नभएर आफूहरूले मागेको बताएका थिए ।

सरकारी नेकपाका यी नेताहरूले केही दिनअघिसम्म वलीलाई एउटा मात्र पदबाट राजीनामा दिन भनेका थिए तर मङ्गलबारको बैठकमा भने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि वलीको राजनीतिक भविष्य नै अन्योलमा परेको छ । यतिबेला अमेरिकाले मात्र वलीलाई एमसीसी पारित गराउने स्वार्थमा साथ दिइरहेको र दिल्लीले राम्रो साथ नदिएको जानकारहरू बताउँछन् । अमेरिकी स्वार्थले वलीको पद नजोगिने पनि विज्ञहरूको राय छ । वलीले आफूलाई दिल्लीले प्रधानमन्त्रीबाट हटाउन थालेको भनी दिएको अभिव्यक्ति उत्ताउलो र सतही भएको टिप्पणी गरेको पनि बैठकमा बोल्ने नेताहरूले बताएका थिए ।

स्रोतका अनुसार बैठकको सुरुमै बोलेका प्रचण्डले वलीको राजीनामा माग गरेका थिए भने त्यसपछि खनाल, नेपाल, गौतम र अन्य स्थायी समिति सदस्यहरूले पनि राजीनामा मागेका थिए । वलीको राजीनामा माग्नेहरूमा नाराणकाजी श्रेष्ठ, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, भीम रावल, रघुजी पन्त, गणेश साह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गोकर्ण बिष्ट, पम्फा भुसाल, युवराज ज्ञवाली र भीम आचार्य रहेको बैठक स्रोतले बतायो । उनीहरूले वलीको हठ, जिद्दी र अदूरदर्शिताका कारण पार्टी र सरकार दुवै अप्ठ्यारोमा परेको भन्दै राजीनामा माग गरेको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :