तिम्रा जेल र हिरासतले हाम्रो पार्टी र क्रान्ति कमजोर हुनेछैन

पुनः गिरफ्तार हुनुअघि नेकपाका नेता वीरजङ्गले भने


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ ले एउटै मुद्दामा व्यक्तिलाई पटकपटक गिरफ्तार गर्ने र देशभरि डुलाउने काम गरेर राज्यले आफैँले बनाएको कानुनका विरुद्ध काम गरिरहेको बताएका छन् । उनले गिरफ्तारी, जेल र हिरासतले नेकपा र उसले सञ्चालन गरेको एकीकृत जनक्रान्ति कमजोर नहुने पनि उद्घोष गरे ।

दाङ देउखुरी अदालत परिसरमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै नेता वीरजङ्गले सरकारले आफूहरूलाई झूटो मुद्दा लगाएर देशैभरि डुलाउने काम गरेको भन्दै आवश्यक परे बलिदान दिन तयार भएका क्रान्तिकारीहरूलई दुस्मनका जेल, नेल र यातनाले कुनै असर नगर्ने बताए ।

सरकारका गतिविधिका कारण जनतामा व्यापक वितृष्णा पैदा भएको भन्दै नेता वीरजङ्गले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरूलाई उठाएका कारण आफ्नो पार्टीलाई दमन गरिएको बताए । उनले भने, ‘हाम्रो पार्टीका सीमित मान्छेलाई समातेर जबर्जस्ती, बनावटी, नक्कली कागजमा सही गराउँदैमा वा मान्छेलाई जेल र हिरासतमा बन्दी बनाउँदैमा हाम्रो पार्टी र क्रान्ति कमजोर हुनेछैन ।’

कोरोना भाइरस नियन्त्रण र रोकथाममा सरकार असफल भएको भन्दै नेता वीरजङ्गले देशैभरका क्वारेन्टिनहरूमा सद्दे मान्छे राखिएको र पछि बिरामी बनाएर पठाइएको बताए ।

दाङ देउखुरी जिल्ला अदालतले सोमबार रिहा गरेलगत्तै प्रहरीले नेता वीरजङ्गलाई पुनः गिरफ्तार गरेर काभ्रे लगेको छ । दाङ देउखुरी जिल्ला अदालतले १५ हजार धरौटीमा रिहाइको आदेश गरेपछि प्रहरीले अदालत परिसरबाटै वीरजङ्गलाई गिरफ्तार गरेको थियो । २०७६ असोज २९ गते नेकपा राप्ती ब्युरो बैठकबाट गिरफ्तार भएका वीरजङ्गसहित २१ जनामध्ये उनलाई तुलसीपुर कारागारबाट जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतबाट रिहा भएलगत्तै अदालतमै फूलमाला र अबिरले उनलाई स्वागत गरिएको थियोे तर त्यसको केही छिनमै प्रहरीले पुनः गिरफ्तार गरी काभ्रेतिर लगेको थियो ।

दाङबाट असोज २९ गते गिरफ्तार २१ जनामध्ये अरू २० जना यसअघि नै रिहा भैसकेका छन् तर वीरजङ्गलाई अहिलेसम्म पनि सरकारले रिहा गरेको छैन । अदालतबाट यसअघि नै प्रत्येकलाई १५ हजार धरौटीमा रिहा गर्न आदेश दिइसकेको भए पनि प्रहरी प्रशासनले राजनीतिक पूर्वाग्रहका आधारमा वीरजङ्गलाई भने बारम्बार गिरफ्तार गरिराखेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :