पुष्पलालका सपनाको रक्षा गर्ने बाटोमा हामी छौँ : सुदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले कम्युनिस्ट घोषणापत्र नेपाली भाषामा उल्था गरेर मालेमावादको प्रचारप्रसार गर्ने, कम्युनिस्ट पार्टीको स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने पुष्पलालको योगदान निकै माथि रहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ९७ औँ जन्मजयन्तीका अवसरमा सोमबार ललितपुरको नख्खु कारागार परिसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेकपा नेता सुदर्शनले नेपाली समाज र इतिहासको भौतिकवादी व्याख्या गर्ने पुष्पलाल जीवनभर इमानदारीपूर्वक हरेक किसिमका त्याग गरेर नेपालमा गणतन्त्रका पक्षमा अडिक रहेकोे बताए ।

आधुनिक संशोधनवादको विरोध गर्दै माओ त्सेतुङका योगदानहरूको पक्षपोषण गर्ने पुष्पलालाई आज सबैले बिर्सिएको भन्दै सुदर्शनले पुष्पलालको उद्देश्य र बाटो बिर्सिएकाहरू पुरानै दृष्टिकोण र सत्तामा फर्केको धारणा राखे ।

नेपालका नामधारी कम्युनिस्टहरूले पुष्पलालको बाटो बिर्सिएर कम्युनिस्ट उद्देश्य र ध्येयप्रति गद्दारी गरेको भन्दै नेकपा नेता सुदर्शनले भने, ‘जबसम्म कम्युुनिस्ट पार्टी मालेमावादले युक्त भएर शक्तिशाली रहन्छ त्यति बेलासम्म धोका पनि भैरहन्छ भन्ने पुष्पलालको भनाइ आज सत्य साबित भएको छ । पुष्पलालले स्थापना गरेको पार्टीको नामको खोल ओढी कम्युनिस्ट पार्टीको उद्देश्य भुलेर सत्ताधारी कथित कम्युनिस्टहरु संशोधनवादी र संसद्वादी दलदलमा भासिएका छन् । कमरेड विप्लवले नेतृत्व गरेको हाम्रो पार्टी पुष्पलालका सपनालाई पूरा गर्न अघि बढिरहेको छ ।’

हाल विश्वभर फैलिएको कोरोना भाइरस महामारी नियन्त्रण गर्न पुँजीवादी देशहरू र नेपालको सरकारसमेत असफल रहेको उनले बताए । पुँजीवादी देशहरूमा भन्दा आफ्नैखाले समाजवादको अभ्यास गरिरहेका देशहरू जनगणतन्त्र कोरिया र चीनले तुलनात्मक रूपमा भाइरस नियन्त्रणमा सफलता हातपारेको उनको भनाइ थियो ।

सूर्य तिमिल्सेनाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन उमेश खत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :