मालिकहरूको अत्याचारका विरुद्ध पत्रकारहरू बृहत् प्रदर्शनमा

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकारको पेसाको सुरक्षा र अधिकारका लागि यही असार १९ गते शुक्रबार बबरमहलमा बृहत् प्रदर्शन गर्ने भएको छ ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सोमबार बसेको पदाधिकारी तथा सदस्यहरूको बैठकले पत्रकारलाई पीडा दिने सञ्चारगृहलाई दबाब दिने उद्देश्यले प्रदर्शन गर्ने निर्णय गरेको हो ।

बैठकले ती सञ्चारगृहमा आगामी असार २० गतेदेखि आकस्मिक रूपमा धर्ना, घेराउ, कालो ब्यानर राख्नेलगायत विरोध कार्यक्रमको कार्यतालिका तय गरेको महासचिव रमेश बिष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आन्दोलनका लागि महासङ्घले यसअघि सञ्चारगृहहरूमा समयसीमासहित बुझाएको अल्टिमेटमको समीक्षासमेतका आधारमा यही असार १९ गते काठमाडौँको बबरमहलमा श्रमजीवी पत्रकारको पेसागत सुरक्षा र अधिकार स्थापित गर्न बृहत् प्रदर्शन गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

बैठकमा विश्वव्यापी रूपमा फैलिरहेको कोरोना (कोभिड–१९) को सङ्क्रमणले सञ्चारक्षेत्रमा परेको असर र श्रमजीवी पत्रकारको पेसागत सुरक्षाका विषयमा गम्भीर छलफल तथा समीक्षा भएको थियो । विशेषगरी लकडाउनको अवधिमा श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, बेतलबी बिदामा राख्ने, पारिश्रमिक कटौती गर्ने, काम गर्ने वातावरण नबनाउने, जिम्मेवारीविहीन गराउनेलगायत जटिल समस्या उत्पन्न भएको निष्कर्ष निकालिएको थियो ।

यस्तै श्रमजीवी पत्रकारको पेसागत सुरक्षाका लागि नेपाल सरकार, संसद्, पेसागत सङ्घसङ्गठन, संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ –आईएफजे), अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) लगायत राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदायलाई ऐक्यबद्धताका लागि आग्रह गर्ने निर्णयसमेत भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :