अमेरिकी राष्ट्रपति ट्रम्पलाई पक्राउ गर्न इरानले जारी गर्यो पक्राउ पुर्जी

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गर्न पुर्जी जारी गरेको छ । इराकको राजधानी बगदादमा गत जनवरीमा ड्रोन आक्रमण गरी इरानी सैन्य प्रमुख तथा इरानी रिभोलुसनरी गार्डका प्रमुख कासिम सुलेमानीको हत्या गरेपछि क्रुद्ध बनेको इरानले त्यसको बदला लिने बताउँदै आएको थियो । इरानले ट्रम्पलाई पक्राउ गर्न पुर्जी जारी गर्दै अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलसँग सहयोग पनि मागेको छ ।

सुलेमानीको हत्यारा ठहर गर्दै इरानले ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । इरानले इन्टरपोललाई हत्या अभियोगमा ट्रम्पविरुद्ध रेड कर्नर नोटिस जारी गर्न र तत्काल पक्राउ गरेर बुझाउन पनि इन्टरपोलसँग सहयोग मागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इरानी समाचार संस्था आईएसएनएका अनुसार जनवरी ३ मा भएको सुलेमानीको हत्यामा ट्रम्पसहित अन्य ३० जनालाई इरानले दोषी ठहर गरेको छ ।

फ्रान्समा रहेको इन्टरपोल मुख्यालयले भने इरानले जारी गरेको पक्राउ पुर्जी र पक्राउ गरेर बुझाउन गरेको अनुरोधबारे तत्काल केही प्रतिक्रिया दिएको छैन । रेड कर्नर नोटिस जारी गरिएका व्यक्तिलाई इन्टरपोलको सदस्य रहेका राष्ट्रले सम्बन्धित देशको प्रक्रिया पु¥याई पक्राउ गरेर बुझाउनुपर्ने हुन्छ ।

अमेरिकाले इरानी रिभोलुसनरी गार्डका प्रमुख रहेका सुलेमानीलाई ड्रोन आक्रमण गरी हत्या गरेको बताउँदै आएको छ । इरानले जारी गरेको पक्राउ पुर्जीबारे अमेरिकाले कुनै धारणा सार्वजनिक गरेको छैन ।

एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :