सांसद बस्नेतलाई एमसीसीका पक्षमा मतदान गरेमा कारबाही गर्ने नेकपाको चेतावनी

काठमाडौँ  :नेपाल कम्युनिस्ट पार्टी सल्यानले जिल्लाबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद टेकबहादुर बस्नेतलाई अमेरिकी सहयोग परियोजना (एमसीसी) का पक्षमा मतदान नगर्न सुझावसहित पत्र लेखेको छ ।
अमेरिकी परियोजना एमसीसी संसद्बाट पास भए राष्ट्रघाती महाकाली सन्धिभन्दा झन् ठूलो राष्ट्रघात हुने भन्दै नेकपाले उक्त परियोजनाका पक्षमा मतदान नगर्न आग्रह गरेको हो ।
जिल्ला सेक्रेटरी तुफानले पठाएको उक्त पत्रमा राष्ट्रघाती महाकाली सन्धिकर्ता केपी वली नेतृत्वको सरकारले फेरि राष्ट्रघाती अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई सङ्घीय संसद्बाट पारित गराउने अन्तिम तयारी गरिरहेको हुँदा जनताको प्रतिनिधिका रूपमा राष्ट्रवादी सल्यानी जनताको भावनाविरुद्ध गएर एमसीसीका पक्षमा मतदान नगर्न सुझाव दिइएको छ ।
साथै उक्त परियोजनाका पक्षमा मतदान गरेमा कारबाही गर्न बाध्य हुने पत्रमा उल्लेख छ । पत्रमा भनिएको छ, ‘जनताको भावनाको विरुद्धमा गएर एमसीसीका पक्षमा मतदान गरेमा तपाईंलाई जिल्ला प्रवेशमा रोक लगाउनुका साथै नेपाल कम्युनिस्ट पार्टी सल्यान थप कारबाही गर्न बाध्य हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :