कैलालीबाट नेकपाका ६ नेता गिरफ्तार, बिनासर्त रिहाइको माग

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टी कैलालीले सहिद परिवारसँग भेटघाट गर्न जुगेडा पुगेका आफ्नो पार्टीका ६ जनालाई प्रहरीले गिरफ्तार गरेको भन्दै बिनासर्त तत्काल रिहाइको माग गरेको छ ।
कैलाली जिल्ला इन्चार्ज करणले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका जिल्ला सदस्यहरू दलबहादुर विक र प्रकाश रावल, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य बबरजङ्ग सिंह, जिल्ला अध्यक्ष सुभास जोशी, दलित अधिकारकर्मी डम्बर सुनार तथा सर्वसाधारण लक्की शाह गरी ६ जनालाई गैरन्यायिक एवम् फासिवादी शैलीमा गिरफ्तार गरिएको भन्दै भत्र्सना र निन्दा गरेका छन् ।
नेकपाका अनुसार गिरफ्तार गरिएका ६ जना धनगढी उमपहानगरपालिका जुगेडास्थित सहिद चन्द्रबहादुर सिंह ‘सनराइज’ को घरमा भेटघाटका लागि गएका थिए ।
विज्ञप्तिसहित
प्रेस विज्ञप्ति
हिजो मिति २०७७ असार १३ गते धनगढी उपमहानगरपालिका जुगेडास्थित महान् सहिद क.चन्द्रबहादुर सिंह ‘सनराइज’ को निवासमा पारिवारिक भेटघाटको सिलसिलामा जानुभएका हाम्रो पार्टीका जिल्ला समिति सदस्य क.दलबहादुर विक तथा प्रकाश रावल, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य क. बबरजङ्ग सिंह तथा सङ्गठनका जिल्ला अध्यक्ष क.सुभास जोशी, दलित अधिकारकर्मी डम्बर सुनार तथा सर्वसाधारण लक्की शाह गरी छजनालाई सामाजिक दलाल केपी वली सरकारको स्थानीय गृह प्रशासनले गरेको अनैतिक, अमानवीय, अराजनीतिक, गैरन्यायिक एवम् फासिवादी शैलीको गिरफ्तारीप्रति नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति कैलाली घोर निन्दा एवम् भत्र्सना गर्दछ । पछिल्लो समयमा महामारीको योजनाबद्ध रोकथाममा असफल केपी सरकार र घुस, कमिसन, भ्रष्टाचार, हप्ता असुलीमा लिप्त एवम् जिल्लामा हुने हत्या, आतङ्क एवम् बलात्कारका अपराधहरू रोक्न असफल मात्र होइन, बरु त्यस्ता घटनाहरूको आफैँ संरक्षक भएको स्थानीय गृह प्रशासनले जनताको ध्यान अन्यत्र मोड्न एवम् दलाल संसदीय व्यवस्थाले उत्पन्न गरेका विकृतिहरूविरुद्ध तथा एमसीसीजस्ता राष्ट्रघाती सम्झौताविरुद्ध राष्ट्रिय स्वाधीनताका मुद्दाहरूलाई लिएर सङ्घर्ष गरिररहेको हाम्रो पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गरी आफ्ना मालिकहरूलाई खुसी पार्ने उद्देश्यबाहेक अरू हुन सक्दैन । दलाल सरकारलाई हाम्रो पार्टी स्पष्ट रूपमा के भन्न चाहन्छ भने गिरफ्तार कमरेडहरूलाई झूट्टा मुद्दा लगाउने दुस्साहस नगरियोस् । उहाँहरूलाई अविलम्ब रिहा गरियोस् तथा कैलालीमा दमन, धरपकड तुरुन्त बन्द गरियोस् । अन्यथा दलाल राज्यसत्ताले कैलाली जिल्लामा हुने प्रतिरोधात्मक सङ्घर्षको मात्रा थेग्न मुस्किल हुनेछ।
अन्त्यमा गैरन्यायिक एवम् अमानवीय प्रकृतिको गिरफ्तारी एवम् गिरफ्तारीपछि परिवारजनलाई लुकाउन खोजिएको सूचनाको हक एवम् भेटघाटमा गरिएको बन्देजप्रति राष्ट्रिय मानवअधिकार आयोग, कानुनविद् एवम् पत्रकारजनहरूको गम्भीर ध्यानाकर्षण गर्न एवम् सकारात्मक पहलका निम्ति पनि हार्दिक अनुरोध गर्दछौँ ।
करण
सेक्रेटरी
मिति :१५ असार, २०७७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :