सञ्चारमाध्यमहरूले पत्रकारलाई पेसाबाट निकाल्न थालेपछि पत्रकारहरू आन्दोलित


काठमाडौँ : कोरोना भाइरस (कोभिड १९) को महामारीको कारण देखाउँदै विभिन्न सञ्चारमाध्यम सञ्चालकहरूले कार्यरत श्रमजीवी पत्रकारहरूलाई पेसाबाट निकाल्न थालेपछि विभिन्न पत्रकार सङ्गठनहरूले श्रमजीवी पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घलाई आन्दोलन घोषणा गर्न आग्रह गरेका छन् ।

पत्रकारहरूको पेसागत सुरक्षाको सुनिश्चितता माग गर्दै आन्दोलनका पक्षमा उभिएका विभिन्न पत्रकार सङ्गठनहरूले विभिन्न बहानामा सञ्चारमाध्यमबाट निष्कासन, राजीनामाको दबाब र काम गरेको पूरा तलब नदिने मिडिया सञ्चालकहरूको रबैया कुनै पनि हालतमा स्वीकार्य नरहेको उल्लेख गर्दै जारी प्रेस विज्ञप्तिमा नेपाल पत्रकार महासङ्घलाई थप दबाबमूलक कार्यक्रमका लागि आग्रह गरिएको छ ।

विज्ञप्तिमा दर्जनभन्दा बढी मिडिया हाउसमा श्रमजीवीका गम्भीर समस्या देखिएकाले मिडिया सञ्चालकहरूले श्रमजीवी पत्रकार ऐनविपरीतका कदमहरू तत्काल बन्द गरी सहजतापूर्वक श्रमजीवीहरूलाई काम गर्ने वातावरण निर्माण गर्न माग गरिएको छ ।

नेपाल सरकार सञ्चार मन्त्रालयलगायत सबै सम्बन्धित निकायहरूलाई कानुनसम्मत ढङ्गले श्रमजीवी पत्रकारहरूका समस्या समाधानका लागि पहल गर्न आग्रह गर्दै जारी विज्ञप्तिमा श्रमजीवीको श्रमको उचित सम्मान र पेसागत सुरक्षाका लागि सशक्त आन्दोलन गर्ने उल्लेख छ ।

कोरोना महामारीका कारण बन्द हुन पुगेका स्वरोजगारमुखी तथा साना मिडिया र रोजगारी गुमाउन पुगेका पीडित श्रमजीवी पत्रकारहरूका लागि विशेष आवधिक राहत प्याकेजको व्यवस्था गर्नुपर्ने विषय पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :