लुम्बिनी ब्युरोमा जबस मोर्चाद्वारा राष्ट्रघाती एमसीसीविरुद्ध प्रदर्शन


बुटवल : हिन्द प्रशान्त रणनीति (आइपीएस) को आर्थिक इकाई एमसीसी परियोजना खारेजीको माग गर्दै नेकपा निकट जनवर्गीय संगठनहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् । कपिलवस्तु, रुपन्देही, नवलपुर, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लामा विरोध प्रदर्शन सम्पन्न गरेको बताइएको छ ।

कपिलवस्तु नगरपालिकामा आयोजित विरोध प्रदर्शन कार्यक्रममा थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष शंघप्रसाद थारुले एमसीसी परियोजना आइपीएसको सैन्य रणनीतिसित सम्बन्धित भएकोले कुनै पनि हालतमा स्वीकार्न नसकिने बताए । उनले एमसीसी चीनलाई घेर्ने र नेपालको स्रोत साधन कब्जा गर्ने उद्देश्यमा केन्द्रित रहेको बताए । कार्यक्रममा मंगल थारुले पनि बोलेका थिए ।

रुपन्देहीको देवदहमा आयोजित कार्यक्रममा नेकपाका जिल्ला नेता जीवनले एमसीसीविरुद्ध प्रतिरोधी संघर्ष आवश्यक भएको भन्दै सम्पूर्ण देशभक्तहरु एक हुनुपर्ने बताए । उनले एमसीसी परियोजना संसदबाट पास हुन दिन नहुने भन्दै यसलाई असफल पार्न सबै देशभक्तहरु एकजुट हुनुपर्ने बताए । त्यसैगरी तामनगरमा आयोजित जनवर्गीय संगठनहरुको संयुक्त विरोध कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी ब्युरो संयोजक विरेन्द्र विकले एमसीसी सम्झौता राष्ट्रघाती परियोजना भएकोले सम्पूर्ण देशभक्त नेपालीहरु एकजुट हुनुपर्ने बताए । उनले वर्तमान केपी वलीको सरकार र नेपाली कांग्रेसले एमसीसी पास गर्ने निर्णय गरेर अमेरिकी साम्राज्यवादको मतियार भएको बताए ।

नवलपुरको देवचुली, नवलपरासीको सुनवल, गुल्मीको मदाने गाउँपालिकाको अग्लुङ, पाल्पाको तिनाउ गाउँपालिका र अर्घाखाँचीमा पनि जबस मोर्चाले संयुक्त रुपमा विरोध प्रदर्शन गरेको समाचार प्राप्त भएको छ ।

यसअघि सामाजिक सञ्जालमा पोस्टरिङ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले प्रधानमन्त्रीलाई बेसार, अदुवा, तातोपानी उपहार प्रदान, अखिल नेपाल जनसांस्कृतिक महासंघले साहित्यिक कार्यक्रम, अखिल नेपाल महिला संघ क्रान्तिकारीले रित्तो थाली बजाउने कार्यक्रम, अखिल नेपाल शिक्षक संगठन र अखिल (क्रान्तिकारी) एमसीसीबारे अन्तरक्रिया र सडकमा पढाउने कार्यक्रम, जातीय मोर्चाहरुले प्रम केपी वली र शेरबहादुर देउवाको पुत्ला सडकमा लतार्ने कार्यक्रम, युवा संगठन नेपालले सिठी र लौरो जुलुस, जनवर्गीय संगठनहरुले संयुक्त रुपमा मसाल जुलुस आदि कार्यक्रम सम्पन्न गरिसकेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :