अलबिदा कमरेड वन्दना !

असहायको सहारा
क्रान्तिकी नक्षेत्र
आशाकी पुञ्ज
क्रान्तिकी अथक योद्धा
तिमी अस्ताएको पीडाले
रोएको छ जाजरकोट
स्तब्ध छ कर्णाली
शोकमग्न छ देश
तिम्रो सम्मानमा
झुकाएको छ शिर सिस्ने हिमालले !

अनकन्टार बस्ती
अबोध समाजमा
फुलाउँदै हिँड्दा समानताको फूल
क्रूर राक्षसी झम्टाइले
बाजले चल्ला टिपेझैँ
लगिदियो बाबाको जीवन
अस्ताउँदा समर्पित सयौँ तारा
समाल्यौ परिवार
डगमगाउन दिइनौ समाज
गल्न दिइनौ आफ्नो यात्रा
ढल्न दिइनौ आदर्श ।

भेरी र कर्णालीको गडगडाहटमा
कर्णालीको धर्तीलाई
क्रान्तिले सिञ्चित गर्दै
फुलाउँदै हजारौँ रक्तबीज
आस्थाको गौरव
उठाई क्रान्तिका औजार
कमिसार गर्यौ सेनाको
हजारौँ योद्धाहरूको पहरा
कुशे र सिस्नेको सान
जुनीको काखमा
क्रान्तिका सुन्दर बगैँचामा
फुलायौ क्रान्तिका फूलहरू
बाल्यौ क्रान्तिका धुनीहरू ।

अछुत र उचनिच देख्ने रोगी समाज
पन्छाउँदै पाखण्डी र ढोंगी परम्परा
रूपान्तरणको जग आफैँबाट खनी
शिलान्यास ग¥यौ समानताको लोकमार्ग
सांस्कृतिक क्रान्तिकी अथक योद्धा
पछ्याउँदै तिम्रो पदचापलाई
कयौँ विजय र पराजयको बीचबाट
हिँडिरहेका छन् हजारौँ योद्धा
सुन्दर तर कठोर सांस्कृतिक यात्रामा
भत्काउँदै अवरोधका बर्लिन–पर्खालहरू
तोड्दै फलामे जन्जिरहरू
जुटिरहेका छन् यात्रामा
कुदिरहेका छन् सडकमा ।

सपनाहरूलाई छाडी मझधारमा
समाज दुर्गन्धित पारी
पारिवारिक सुगन्धमा
भोगविलास र ऐसआराममा
कयौँ आदर्श ढल्दासमेत
दिइनौ आस्था निभ्न
भुलिनौ सपनाहरू
उजाडिएका मनहरूमा
बालिरह्यौ आशाका दीपहरू
फुकिरह्यौ क्रान्तिका विगुलहरू ।

आफू रोगी थियौ तर
आदर्श सधैँ निरोगी राख्यौ
सुक्दै र गल्दै थियो शरीर
उज्ज्वल र अटल रहिरह्यो विचार
तिमीले अल्पायुमा लगाउँदा पूर्णविराम
सिलाउँदै च्यातिएको मन
तिमीले छोडेका योजना
तिम्रा अधुरा सपना
जिम्मेवारी पूरा गर्ने अठोटका साथ
नयाँ सङ्कल्प अनि प्रतिबद्धतासहित
सुनौलो भविष्यको म्याराथनमा
अविचलित कुदिरहेकी छु म पनि ।

अपराजित योद्धा
उच्च सम्मान छ तिमीलाई
हार्दिक श्रद्धाञ्जली छ तिमीलाई
प्रिय कमरेड वन्दना
अलबिदा तिमीलाई !
(सविता सिंह ‘बन्दना’ प्रति समर्पित)

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!