कृष्ण सेन ‘इच्छुक’ सँगका अविस्मरणीय दिनहरू : धर्मेन्द्र बास्तोला ‘कञ्चन’, स्थायी समिति सदस्य, नेकपा

Dharmendra Bastola

करिब ०४५ सालतिरको कुरा हो, मेरो विद्यार्थी जीवनमा भेट भयो कमरेड कृष्ण सेनसँग । कीर्तिपुरको पाँगामा थियो मेरो डेरा । पढाइ थियो रत्नराज्यलक्ष्मी क्याम्पसमा । म त्यतिबेला अनेरास्ववियुको काठमाडौँ जिल्ला अध्यक्ष थिएँ । कीर्तिपुरको पाँगा गाउँ, राजनीतिक रूपले काठमाडौँभित्रको हाम्रो आधारक्षेत्र थियो । काठमाडौँको सङ्गठनका नाममा स्थानीयबासी हाम्रा कलाकारहरू, हाम्रा किसान नेताहरू, मजदुर नेताहरू सबै कीर्तिपुरका थिए र त्यो पनि पाँगाकै थिए । उसो त काठमाडौँभित्र हाम्रो सङ्गठन राम्रै थियो, होटेल तथा कारखानाहरूमा हाम्रा क्रान्तिकारी मजदुरहरू थिए, कलेजहरूमा हाम्रा क्रान्तिकारी विद्यार्थीहरू थिए तर त्यो काठमाडौँको स्थानीय जनता थिएन, प्रायः सबै अन्य जिल्लाबाट आएको जनसमुदाय थियो । हाम्रो स्थानीय सङ्गठनको आधारक्षेत्रमा थियो मेरो बसाइ र मलाई त्यहाँ बस्दा निकै आनन्द र गौरव पनि लाग्थ्यो ।

मेरो बस्ने कोठा त्यस बेलाका आर्थिक रूपले विपन्न नेपाली विद्यार्थी जीवनको एउटा नमुना थियो । गरिबी र अभावको भुमरीभित्र पिल्सिएको विद्यार्थी जीवन, सस्तो–सस्तो खोज्दाखोज्दै पाएको रुग्ण अवस्थाको घर, कहिले तरकारीबिनाको दालभात त कहिले दालबिनाको तरकारी–भात, आवतजावतमा बानी परेका साथीहरूका लागि सहज बने पनि नयाँ पाहुनाका लागि त्यति सहज हुँदैनथ्यो । भलै मेरो कोठा हाम्रा विद्यार्थी र हाम्रो पार्टी नेकपा मशालका कमरेडहरूको आवतजावत, सम्पर्क र खानपिनको एउटा चौतारी नै थियो, प्रायः सबैजसो दिनहरूमा कोही न कोही साथीहरूको काम भइरहन्थ्यो मेरो डेरामा । तथापि गरिबीभित्रको अध्ययन र क्रान्तिका लागि विद्यार्थी सङ्गठनको काम त्यति सहज थिएन ।

संयोगवश त्यो दिन कोही साथी थिएनन् मेरो डेरामा । अनेरास्ववियु केन्द्रीय समितिका महासचिव यदु गौतम, जो पछि एमालेमा प्रवेश गरे र उनको राजनैतिक जीवनको अवसान भयो, उनैले लिएर आएका थिए कमरेड कृष्ण सेनलाई । कोठामा को आउँछ भन्ने कुराको ठेगान हुन्नथ्यो । त्यसैले, औपचारिक हात मिलाउने र बिस्तार–बिस्तार परिचयको बेलिविस्तार गर्ने बानी बसेको थियो त्यतिबेला । त्यही व्यवहार उहाँसँग पनि हुनु स्वाभाविक थियो । केहीबेरपछि उहाँ कमरेड कृष्ण सेन हुनुहुन्छ भनेर यदु गौतमले परिचय गराउनुभयो । त्यसपछि कताकता मेरो शरीर उत्तेजनाले फुलेजस्तो भयो । मैले उहाँको सम्मानमा कसरी सलाम गर्ने ? कुनै विधि नपाएको जस्तो भान भयो । यस्तो लाग्यो, त्यहाँ कोही अलौकिक मानिस आएको छ । अर्कै सभ्यता र संस्कृतिको मानिस प्रादुर्भाव भएको छ ।

मेरो मनोभावमा यत्रो सम्मानको अभिव्यक्ति त्यतिबेला अरू कुनै नेताहरूका लागि पैदा भएको थिएन, यद्यपि मेरो भेट त्यतिबेलाका तमाम नेताहरूसँग भैसकेको थियो । मानिसको सबैभन्दा ठूलो तागत भनेको उच्च विचार र अखोट नैतिकता हो, जो कमरेड कृष्ण सेनमा थियो । त्यतिन्जेलसम्म कमरेड कृष्ण सेनका बारेमा धेरै कुराहरू सुनिसकेको थिएँ मैले । उहाँ एउटा सच्चा र सक्षम क्रान्तिकारी कवि हुनुहुन्थ्यो । सेक्सपियरदेखि सेलीसम्मका प्रतिष्ठित अङ्ग्रेजी साहित्यका कविहरूका अन्तरङ्गको अध्ययन गर्ने मेरा लागि कविता आफैँमा एउटा आकर्षणको विषय हो । त्यसमा पनि क्रान्तिकारी कविता अर्को आकर्षणको विषय हो र क्रान्तिकारी कविप्रतिको सम्मान पनि त्यत्तिकै उचो हुनु स्वाभाविक थियो । त्यस्तैगरी, जीवनको सानै उमेरमा उहाँसँगको राजनैतिक उचाइ नै मेरा लागि सम्मानको आकर्षण थियो उहाँप्रतिको ।
जतिबेला पार्टीमा विभाजन भएको थियो, त्यसबेलामा उहाँ जेलमा हुनुहुन्थ्यो । पञ्चायती निरङ् कुश सत्ताभित्र जेलहरूमा क्रान्ति र परिवर्तनसम्बन्धी कसैसँग छलफल, बहस हुने कुरा सम्भव नै थिएन । निर्मल लामाको नेतृत्वमा चौथो महाधिवेशन भनेर पार्टी बन्यो र मशाल बन्यो मोहनविक्रमको नेतृत्वमा । त्यतिबेला जेलभित्रैबाट उहाँले सही निर्णय गर्नुभएको थियो । चौथो महाधिवेशनलाई छाडेर मशालका पक्षमा उभिनुभएको थियो । त्यसपछि, केही वर्षभित्रै फेरि अर्को फुटको आँधीबेहरी देख्नुपरेको थियो पार्टीले । मोहनविक्रमलाई पार्टीले कारबाही गरेपछि उहाँले पार्टी छाडिदिनुभयो र मसालका नाममा अर्को पार्टी बनाउनुभयो । त्यसपछि एउटा पार्टी नेकपा (मशाल)) रह्यो । कमरेड किरण, कमरेड प्रचण्ड र कमरेड बादललगायत कमरेडहरूको नेतृत्वमा र अर्को पार्टी नेकपा (मसाल) भयो मोहनविक्रम र चित्रबहादुर केसीको नेतृत्वमा । त्यतिबेला पनि कमरेड कृष्ण सेन जेलभित्रै हुनुहुन्थ्यो । उहाँले जेलभित्रैबाट फेरि अर्को पैmसला गर्नुपर्ने स्थिति पैदा भयो । नेपाली कम्युनिस्ट आन्दोलनमा मोहनविक्रमको सम्मान धेरै उचो थियो त्यतिबेला । जेलबाहिरको सुविधा अर्कै थियो, छलफल र बहसका लागि पार्टी भूमिगत भएकाले बहस भूमिगत हुने नै भयो । तर जेलभित्र बस्नेहरूका लागि त्यो कुरा सम्भव थिएन । जेलभित्र राजनैतिक दस्ताबेजका त कुरै छाडौँ, पत्रपत्रिका पाउनसम्म सम्भव थिएन । त्यसकारण पार्टीको सामान्य कार्यदिशा, साथीहरूसँगको पारिवारिक भेटघाटमा हुनसक्ने साङ्केतिक कुराकै भरमा सही र वैज्ञानिक कार्यदिशा, त्यसको नेतृत्व रोज्नु सामान्य कुरा थिएन ।

मलाई सम्झना छ, महान् जनयुद्धको थालनीपछि पनि कुष्ण सेन जेलमा पर्नुभएको थियो । उहाँ ०५४ सालतिर रिहा हुनुभयो र उहाँलाई गोरखपुरमा अध्यक्ष प्रचण्ड (त्यतिबेला पार्टीको सर्वोच्च पद महामन्त्री थियो ले अभिनन्दन गर्दा कमरेड इच्छुकले भन्नुभएको थियो, मैले एउटा परीक्षा पास गरेको छु । अरू कयौँ परीक्षा पास गर्न बाँकी नै छ । वास्तवमा कमरेड कृष्ण सेनले ०४५ सालतिर कीर्तिपुरको पाँगामा अवस्थित मेरो डेरामा पुग्दासम्म क्रान्तिकारी आन्दोलनका कयौँ आरोह– अवरोह र आफ्नो जीवनको क्रान्तिकारी यात्राका तमाम हाँसो र आँसुसमेत गरी कयौँ परीक्षाहरू पास गरिसक्नुभएको थियो । विद्यार्थी जीवनभित्रै पनि कमरेड कृष्ण सेन दुस्मनका अगाडि कहिल्यै नझुक्ने हिमाल हुनुहुन्थ्यो । मृदुभाषी, शीतल स्वभाव, हमेसा प्रसन्न मुद्रामा रहने र हमेसा आशावादी देखिने कमरेड कृष्ण सेन पञ्चायती निरङ्कुशताका छातीमा अग्न्यास्त्रका पर्रा हुनुहुन्थ्यो । तमाम जेल र नेलहरूका बाबजुद, आततायी शासकवर्गले थोपरेका पाशविक पीडा र यातनाका बाबजुद सेन क्रान्तिको यात्रामा कहिल्यै नरुक्ने अविरल नदी हुनुहुन्थ्यो । क्रान्तिकारी विचारमा उहाँ कहिल्यै खिया नलाग्ने स्पात हुनुहुन्थ्यो । त्यसैले उहाँप्रति मेरो सम्मान अगाध थियो ।

मसँग भेट भएपछि कमरेड कृष्ण सेन लामो समयसम्म मेरो डेरामा बस्नुभयो । त्यतिबेला मलाई अनुभूति हुन्थ्यो, मेरो डेरा छ, कमरेड कृष्ण सेनको आफ्नो डेरा छैन । त्यसैले मेरो घर र त्यसको दायरा साँघुरो छ । तर उहाँको दायरा सधैँ खुला र फराकिलो छ । वास्तवमा संसार आफ्नो बनाउन हिँड्नेहरूका लागि आफ्नो भन्ने केही हुँदैन र अर्को र अर्काको भन्ने पनि केही हुँदैन । पैसा र व्यक्तिगत सम्पत्तिप्रति सधैँ घृणा लाग्ने मेरो स्वभाव थियो । त्यसैले म सधैँ गरिब थिएँ । मलाई कसैसँग लोभलालच पनि थिएन र कसैको सद्भाव पनि चाहिएको थिएन । सायद त्यसै भएर होला, कृष्ण सेनका लागि मेरो डेरा सौहार्द र स्वाभिमानको धनी थियो र उहाँको बास मेरो डेरामा धेरै लामो समय रह्यो ।
हामी धेरै लामो समयसम्म साथै बस्यौँ र धेरै सङ्घर्षहरूमा साथै डट्यौँ । हाम्रो सङ्घर्षका ती अविस्मरणीय दिनहरू अहिले पनि ताजा नै छन् । २०४५ सालतिरको कुरा हो । फुटबलको मनोरञ्जन हेर्न दशरथ रङ्गशालामा जम्मा भएका दर्शकहरूलाई ढोका थुनेर जनताबाट तिरष्कृत पञ्चायती मण्डलेहरूको भाषण सुनाइँदै थियो । अकस्मात् हुरी, बतास र असिनापानी बर्सन थाल्यो काठमाडौँमा । दशरथ रङ्गशालाका बन्द गेटहरू खोल्ने आदेशसम्म पाएनन् पालेहरूले, उनका भाषणहरू नसकिएकाले । बाहिर निस्कन मान्छेको घुइँचो लाग्यो र एकपछि अर्को खातिँदै जाँदा ६ जना दर्शकको ज्यान गयो । त्यसको विरोधमा हाम्रा प्रदर्शनहरू भैरहेका थिए । एक दिन बिहानको समय थियो । हामीले विरोध प्रदर्शनको तयारी गरेका थियौँ, छड्के जुलुसका रूपमा । पञ्चायती शासकका जासुसहरू, सिभिलका पुलिसहरूको समेत आँखा छल्नुपथ्र्यो जुलुस गर्न र पक्राउ पर्ने गरी जुलुस गर्नसमेत पाइँदैनथ्यो । छापामार शैलीमा जुलुस गर्नुपथ्र्यो त्यतिबेला । इन्द्रचोकबाट छड्के जुलुस निकाल्ने योजना थियो । हामीले निर्धारित गरेको समय आइसकेको थियो । त्यसकारण ढिलो भयो भन्दै हामी यताउता गरिरहेका थियौँ र साथीहरू जम्मा हुँदै थिए । कमरेड सेन ‘ल यता आउनुस्’ भन्दै केही साथीहरूलाई भन्दै हुनुहुन्थ्यो । त्यही बेलामा ‘अँ, यता आउनुस्, ढिलो भयो’ भन्दै एउटा जासुस आयो र उहाँलाई पक्रियो । तुरुन्तै मलाई पनि पक्रियो । त्यसको लगत्तै देख्दादेख्तै यदु गौतमलाई पनि पक्रियो । तर यदु गौतमले ‘म त पत्रकार हुँ’ भनेर फुत्केजस्तो गरे । ‘ए त्यो त गयो’ भन्दै उनलाई छाडियो । हेर्दाहेर्दै कमरेड सूर्य सुवेदी, कमरेड महेश्वर दाहाल, कमरेड मोहन कार्कीलगायत केही साथीहरू पक्राउ पर्नुभयो र हामीलाई हनुमानढोकाको पुलिस खोरमा लगियो । त्यहाँ पुग्दा अरू साथीहरू पनि थिए । रात परिसकेको थियो । कालो सिसाले छोपेको गाडीमा हालेर हामीलाई सोह्रखुट्टे खोरमा पु¥याइयो । त्यहाँ ईश्वरचन्द्र ज्ञवाली, पछि माओवादीका तर्फबाट अन्तरिम विधायक बनाइएका हरि रोक्कालगायत तमाम विद्यार्थीलाई जम्मा पारियो र हामीलाई सोह्र दिनसम्म राखियो ।

हामी जति विद्यार्थीहरू थियौँ, तीमध्ये धेरै जेलजीवन बिताउने कमरेड कृष्ण सेन हुनुहुन्थ्यो । हामीले सोह्रखुट्टे जेलमा बस्दा पनि उहाँसँगका जेलजीवनका पीडादायी अनुभवहरू सुन्ने गरेका थियौँ । उहाँका अनुभवहरू र जेलका कहानीहरूले हामीलाई खोरमा बसेको अनुभव हुँदैनथ्यो । सानो कोठा, नजिकैको दुर्गन्धित पाइखाना, चिसो रछ्यानमा केवल गुन्द्री मात्र बिछ्याएको ठाउँ, जताततै उपियाँको टोकाइ, हेर्दाहेर्दै रोऊँरोऊँ लाग्ने र सोच्दासोच्दै हाँसौँहाँसौँ जस्तो लाग्ने विडम्बनाको अवस्था थियो त्यो कालकोठरी हाम्रा लागि । त्यसमा बाह्रपन्ध्रजना हामी विद्यार्थीलाई कोचिएको थियो । सोह्र दिनको कस्टडी साँच्चिकै कठिन घडी थिए तर कृष्ण सेनसँगको जीवनमा ती सहजजस्तै बनेका थिए ।
सोह्र दिनको कस्टडीपछि हामीलाई जेलमा पु¥याइयो । त्यहाँ पुगेपछि थाहा लाग्यो, त्यो भद्रगोल जेल रहेछ । त्यहाँ पहिलेदेखि नै राजबन्दी थिए । हामी भद्रगोल जेलमा पुगेपछि राजबन्दीको सङ्ख्या ५२ जना पुगेको थियो । हाम्रो सङ्गठनकै करिब १२ जना थियौँ । झापा आन्दोलनका मोहनचन्द्र अधिकारी, जसलाई त्यतिबेलाका मालेहरूले नेपालका नेलसन मन्डेला भन्ने गर्थे, लगायत माले र माक्र्सवादीका बन्दीहरू, नेपाली काङ्ग्रेस तथा पञ्चायतका भूमिगत गिरोहका विरोधी पञ्चहरू र पत्रकारहरूसमेत बन्दीहरू थिए । भद्रगोलका ९ महिनाहरू विचित्रका रहे । भद्रगोल जेलभित्र एउटा स्कुल थियो बन्दीहरूका लागि । त्यो औपचारिक रूपले हाइस्कुल थियो । त्यहाँ शिक्षक पनि थिए बन्दीहरू नै । परीक्षा दिने व्यवस्था थियो एमएसम्मका लागि । वास्तवमा भद्रगोल मानवस्वभावको अध्ययन गर्नका लागि तथा राजनीतिक विषय अध्ययन गर्नका लागि पनि मेरा लागि विश्वविद्यालय नै साबित भयो । मैले आफ्नै साथीहरूका बीचमा वर्गहरूको विभेद त्यहाँ पाएको थिएँ । त्यहाँ पनि अवसरवाद, अराजकतावाद र व्यक्तिवादको खडेरी थिएन, जस्तो बाहिरको संसारमा पाइन्छ । हामीले चार पर्खालको बन्द आकाशभित्र नयाँ जीवनको नयाँ बाटो बनाएका थियौँ ।

कमरेड कृष्ण सेन जेलका पर्खालभित्र पनि विचार र भावनाले मुक्त हुनुहुन्थ्यो, उहाँका विचार र भावनाहरूलाई काव्यविधामा रूपान्तरण गर्नका लागि । सरल, सरस र क्रान्तिकारी विज्ञानबाट ओतप्रोत कमरेड इच्छुकका कविताहरू, त्यहाँका बन्दीहरूका लागि केरेका पनि कवितै हुन्थे, मेटेका पनि कवितै हुन्थे र कविता पनि कवितै हुन्थे । किनभने उहाँ कविता लेख्नुहुन्थ्यो, अनि सुनाउनुहुन्थ्यो । ती कविता हाम्रा लागि कवितै हुन्थे र त्यसैलाई फेरि कुँद्ने र जलप लगाउने क्रममा पुरानो केरिन्थ्यो, कति मेटिन्थ्यो र नयाँ तयार हुन्थ्यो, फेरि पनि त्यो कविता नै हुन्थ्यो ।Krishna sen

 

कृष्ण सेन केवल क्रान्तिकारी साहित्यकार मात्र हुनुहुन्नथ्यो । उहाँ क्रान्तिकारी नेता पनि हुनुहुन्थ्यो । नेतृत्वको स्वभाव अडिग र अटल हुनुपर्छ भन्ने उहाँको चरित्रले पनि व्यक्त गर्दथ्यो । हामी थोरै थियौँ तर त्यहाँ धेरै प्रवृत्तिहरू थिए । ती प्रवृत्तिहरूको पहिचान गर्नु र त्यसको मित्रवत् रूपले समाधान गर्नु नेतृत्वको काम हुन्थ्यो । विद्यार्थीका नेताका हिसाबले अरू पनि थिए तर उहाँ मृदुभाषी, सिद्धान्तका पारखी र सङ्गठनात्मक विधिका विज्ञ पनि हुनुहुन्थ्यो ।

२०४५ सालको घटना हो, भदौ २४ गतेको राति थियो । अकस्मात् भुइँचालो आयो । भक्तपुरका सयौँ घरहरू भत्किए । सयौँ मानिसहरूको मृत्यु पनि भयो । राति नै थाहा भयो, जमिनको डगमगले पोखरीको पानी पनि बाहिर निस्केको थियो । बन्दीहरूले एउटा पोखरी बनाएका थिए । त्यो पोखरीको पानी थालमा भरेजस्तै हुन्थ्यो । त्यो पोखरीको पानी बाहिर पोखिने कत्रो हलचल भयो होला यो पृथ्वीमा । त्यसको हलचल र आतङ्क सबै बन्दीहरूको दिमागमा थियो र त्यो आतङ्क धेरै दिनसम्म रह्यो ।

एक रात बिहानीको समय भैसकेको थियो । केन्द्रीय कारागारको छानोमा एउटा बाँदर उफ्रेछ । बिहान चर्पी गएको बन्दी डराएर हल्ला गरेपछि केन्द्रीय कारागारमा होहल्ला भयो । भद्रगोलको बुर्जामा बसेको सिपाहीले हल्ला नगर्न के कराएथ्यो, सबै बन्दीहरू उठेर हामफाल्न थाले । बाहिर पानी परिरहेको थियो भदौको वर्षायाममा । नालीमा भल बगेको थियो । हाम्रो एकजना साथी माथिको तलाबाट फालहाल्दा नालीमा खस्नुभयो र उहाँ झन्डै मर्नुभएन पानीमा डुबेर । म निद्राबाट ब्युँझँदै गर्दा कमरेड सेन त्यही ओछ्यानमा बस्नुभएको थियो र बिजुलीको तारमा झुन्डिएको बत्ती देखाउँदै भन्दै हुनुहुन्थ्यो, यो तार हल्लिएको छैन । त्यसकारण भूकम्प आएको होइन । भाग्न खोज्ने साथीहरूलाई उहाँ समात्नुहुन्थ्यो र कम्पन नभएको कुरा बताउनुहुन्थ्यो । विपत्मा नआत्तिने मानिस नै असल नेता हुनसक्छ । कमरेड सेनमा त्यो धैर्य थियो । तर हाम्रै केही साथीहरू थिए, त्यो रातमा हामफालेर खुट्टा भाँचेका थिए । झमझम पानी परिरहेको थियो । बन्दीहरू सबै चौरमा जम्मा भयौँ । भूकम्प हो कि होइन भन्ने कुरामा निकै चर्चा भयो । बिहान भएपछि सबैले समाचारमा ध्यान दिए । तर त्यो दिन भूकम्प थिएन । बाँदरको कारणले होहल्ला भएको तथ्य बताइयो ।

हामी जेलबाट रिहा भयौँ र क्रान्तिकारी आन्दोलनमा आआफ्नो ठाउँमा डट्यौँ । समय बित्दै गएपछि २०४६ सालको आन्दोलन चल्यो । आन्दोलनको नेतृत्व नेपाली काङ्ग्रेस र ‘वाम’ मोर्चाको रहे पनि आन्दोलनमा वर्चस्व थियो संयुक्त राष्ट्रिय जनआन्दोलनको । म कृष्ण सेन ‘इच्छुक’ लाई सधैँ पत्रिकाको सम्पादनमा, आन्दोलनमा, कविता र साहित्यका बीचमा पाइरहन्थेँ । आन्दोलनको विकास हुँदै गयो । हाम्रो पार्टीसहितको संयुक्त राष्ट्रिय जनआन्दोलनले चैत २४ गते आन्दोलन घोषणा गर्ने निर्णय ग¥यो । चैत २३ गते कीर्तिपुरमा हाम्रो विशाल जुलुस थियो । त्यही जुलुसको समापनमा भोलिपल्ट २४ को कार्यक्रमको घोषणा गर्नु थियो । नेपाली काङ्ग्रेस र ‘वाम’ मोर्चाको सम्भावित धोखाघडी र आत्मसमर्पणप्रति सचेत रहन अपिल गर्दै पञ्चायती निरङ्कुशतावादका विरुद्ध राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्ने सङ्घर्षमा जुट्न ऐतिहासिक दिन चैत २४ गते आन्दोलनमा उत्रन आह्वान गर्ने निर्णय ऐलान गर्नु थियो जनसमुदायको माझमा । हाम्रो जुलुस कीर्तिपुरको नयाँबजारमा आएपछि त्यसको घोषणा मैले गरेको थिएँ । आन्दोलन चर्कंदै गयो । २६ गते राति नेपाली काङ्ग्रेस र ‘वाम’ मोर्चाले राजाको अगाडि आत्मसमर्पण गरेर राजतन्त्रको अन्त्य र संसदीय गणतन्त्रको अन्त्य गर्न अगाडि बढेको आन्दोलन धर्मराउँदै पल्टन पुग्यो । काङ्ग्रेस र ‘वाम’ मोर्चाको आत्मसमर्पणले देशमा राजतन्त्रको अन्त्यका लागि गरिने सङ्घर्ष अहिलेसम्म जारी नै छ ।

राजतन्त्रसहितको बहुदल आएपछि म जिल्लातिर गएँ, पार्टीको नेतृत्व समाल्नका लागि । कृष्ण सेन काठमाडौँमै हुनुहुन्थ्यो । त्यसपछि भने हाम्रो भौतिक रूपले कमै भेटघाट हुन्थ्यो । भलै उहाँका कवितासँग बेलाबखत भेट भैरहन्थ्यो पत्रपत्रिकाहरूमा । मलाई सम्झना छ, पार्टीको एकता महाधिवेशनमा होस् वा राष्ट्रिय सम्मेलनहरूमा, कृष्ण सेन सदैव क्रान्तिकारी कार्यदिशामा तार्किक निष्कर्षसहित खरो उत्रनुहुन्थ्यो ।
समय बित्दै गएपछि मेरो जिम्मेवारी करिब ५० सालदेखि नै अन्तर्राष्ट्रिय विभागमा प¥यो । हाम्रो भेटघाट भारतमा गरिने कार्यक्रमहरूमा हुन थाल्यो । कहिले दिल्ली, कहिले लखनउ, कहिले गोरखपुरमा भेट हुन्थ्यो उहाँसँग ।
म कहिले कलकत्ता र कहिले दिल्लीमा हुन्थेँ । कमरेड कृष्ण सेन गिरफ्तार हुनुभएको थियो । त्यतिबेला म दिल्लीमा थिएँ । एकाएक समाचारहरू आए कमरेड कृष्ण सेनको हत्या गरिएको । आफ्नो जीवनमा मानवमुक्तिका लागि सयौँ परीक्षा पास गरेका कृष्ण सेन मेरो जीवनमा सबैभन्दा सम्मानको व्यक्ति हुनुहुन्थ्यो । संसद्वादी शासकहरूको पाशविक यातनामा भएको उहाँको हत्याका विरुद्धको आक्रोश र पीडाको सीमा हुन सक्दैनथ्यो । हत्या र आतङ्कको सहारामा, सामाजिक फासिवादमा पतन भएको एमाले र सामन्ती फासिवादमा पतन भएको काङ्ग्रेसहरूकै मिलोमतो र जानकारीमा त्यतिबेलाको जल्लादी पुलिसद्वारा हत्या गरिनुभएका कमरेड सेनको पीडा खप्न सकिँदैनथ्यो । मानवमुक्तिका अदम्य पहाडलाई झुकाउन खोज्ने तानाशाहहरूका विरुद्ध, मानवमुक्तिकै अविरल बहावलाई छेक्न खोज्ने पाखण्डका विरुद्ध शोकलाई शक्तिमा बदल्दै नेपाली फासिवादको सर्वनास नहुन्जेल सङ्घर्ष गर्ने प्रण गरेका छौँ हामीले ।

नेपाली पत्रिकाहरूले उहाँको हत्याको विरोधमा निकै राम्रो भूमिका निर्वाह गरे । विश्वमा त्यतिन्जेलसम्म कुनै त्यस्तो व्यक्ति थिएन, जसले अन्तर्राष्ट्रिय रूपमा अत्यधिक सम्मान पाएको होस् । पत्रकारिताको भूमण्डलीकरण, सञ्चारमा भएको विद्युतीय विकास र मानवजातिको सुरक्षा, साम्राज्यवाद र फासिवादका विरुद्धको विश्वव्यापी जनमतको समायोजनको कारण पनि हुनसक्छ, कमरेड कृष्ण सेनको हत्याका विरुद्ध संसारमा सबैभन्दा बढी विरोध भएको थियो ।

मेरो कार्यक्षेत्र युरोप परेपछि मलाई थाहा भयो, युरोपेली जनताका बीचमा सेनको सम्मान कति थियो भन्ने । न कसैले उहाँलाई देखेको थियो, न कसैसँग उहाँको नातापाता नै थियो, न कसैसँग रगतको नाता नै । तमाम युरोपियनहरू नेपालका बारेमा कुरा हुनेबित्तिकै कृष्ण सेनका बारेमा जान्न र बुझ्न लालायित हुन्थे । यो महान् सम्मानका लागि एउटै कारण थियो, मानवमुक्तिका लागि उहाँको विचार र सङ्घर्ष ।
आतङ्कका बलमा सत्ता टिकाउने यो देशका आततायीहरूले उहाँको शरीरको हत्या त गरे, तर कमरेड कृष्ण सेन वीरहरूको इतिहासमा कसैले ढाल्न नसक्ने पहाडजस्तै खडा हुनुभएको छ, कसैले छुन नसक्ने धु्रवताराजस्तै अटल हुनुहुन्छ, कसैले छेक्न नसक्ने सूर्यजस्तै प्रज्वलित हुनुहुन्छ ।

राताे खबर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :