संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले भोलि प्रदर्शन गर्ने

काठमाडौँ : संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले आइतबार काठमाडौँलगायत देशैभरि जनप्रदर्शन गर्ने भएको छ । शनिबार साँझ मशाल जुलुस सम्पन्न गरेको संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले बृहत् जनप्रदर्शनसहित दोस्रो चरणको आन्दोलन सम्पन्न गर्न लागेको हो ।

संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिमा नेपाल दलित सङ्घ, दलित नागरिक समाज, समाजवादी दलित मुक्ति महासङ्घ, दलित मुक्ति मोर्चा नेपाल, नेपाल दलित मुक्ति मोर्चा, जातीय समता समाज, साझा सामाजिक न्याय विभाग, जात व्यवस्था उन्मूलन मोर्चा–नेपाल, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान सङ्गठन, नेपाल राष्ट्रिय दलित केन्द्र, सङ्घीय दलित शिल्पी मञ्च, राष्ट्रिय दलित मोर्चा, संयुक्त दलित अधिकार मञ्च–नेपाल, विभेद मुक्ति प्रगतिशील समाज, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चालगायत १४ वटा सङ्घसङ्गठन आबद्ध छन् ।

उनीहरू रुकुम पश्चिमको सोती जातीय नरसंहार, रूपन्देही देवदहकी १३ वर्षीया अङ्गिरा पासीको बलात्कारपछि हत्या प्रकरण र धनुषा सबैलाका २३ वर्षीय शम्भु सदाको हत्याकाण्डका दोषीलाई छिटोभन्दा छिटो कानुनी कारबाही, पीडितलाई न्याय र पीडित परिवारको सुरक्षाको माग गर्दै निरन्तर आन्दोलित छन् ।

आइतबारको प्रदर्शन काठमाडौँ उपत्यकालगायत प्रदेश तथा जिल्लाका मुख्य सहरहरूमा हुने बताइएको छ । काठमाडौँमा माइतीघरबाट नयाँबानेश्वरसम्म जुलुस प्रदर्शनसहित विशाल विरोधसभा आयोजना गरिनेछ । संयुक्त सङ्घर्ष समितिले शुक्रबार नयाँबानेश्वरमा सडक बहस कार्यक्रम चलाएको थियो । कार्यक्रममा सत्तारूढ नेकपाबाहेक विभिन्न पार्टीका शीर्ष नेतृत्वको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :