श्रमिकको हकहितमा लड्न मजदुर सङ्गठनहरूलाई ट्रेड युनियन महासङ्घको आह्वान


काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ केन्द्रीय समितिले प्रेस वक्तव्य जारी गर्दै विश्वव्यापी कोरोना महामारी र अनिश्चित लकडाउनका कारण श्रमबजार, श्रमिक मजदुरहरूको दैनिक जीवन प्रत्यक्ष रूपमा प्रभावित बन्न पुगेको अवस्थामा उत्पीडित श्रमिकहरूका पक्षमा लड्न सम्पूर्ण मजदुर सङ्गठनहरूलाई आह्वान गरेको छ ।

महासङ्घका संयोजक विनोद थापाले जारी गरेको वक्तव्यमा आफ्नो सङ्गठन व्यवसायजन्य सुरक्षा विभागमा दर्ता भई अघि बढिरहेको अवस्थामा यही नामबाट अर्को अमूक सङ्गठनले पनि बेरोकतोक गतिविधि अघि बढाइरहेको पाइएकाले उक्त समूहले आफ्ना गतिविधि नरोके कारबाही गरिने उल्लेख छ ।

वक्तव्यमा कोरानाका कारण विश्वभर नै रोजगारहरू बेरोजगार बन्न पुगेको, श्रमिकका निम्ति आएको राहतका विभिन्न योजना मुलुकैपिच्छे अपर्याप्त र अपुग हुन गई श्रमिक वर्ग भोकको मारमा परेको उल्लेख छ । त्यसैगरी वक्तव्यमा पछिल्लो समयमा गलैँचा क्षेत्रमा स्क्वायर फिटमा कायम भएको न्यूनतम् ज्यालामा कम गरिएको, पारिश्रमिक, सेवा तथा सुविधामा असमान व्यवहार हुने गरेको, गार्मेन्ट, सिलाइ, टेक्सटायल र अन्य यस्तै प्रकृतिका क्षेत्रमा ज्याला एवम् पारिश्रमिकमा व्यापक रूपले शोषण भएको, प्रचलित श्रम कानुनलाईसमेत ख्याल नगरीसरकारले नेपाल राजपत्रमा उल्लेख गरेबमोजिम कार्यान्वायन गर्नुपर्नेमा नगरी हानका तर्फवाट अनावश्यक बार्गेनिङ गरी मजदुरको सेवा तथा सुविधा कटौती गरेको, विभिन्न औद्योगिक घरानालाई रिझाउन उद्योग वाणिज्य महासङ्घले सरकारसँग विभिन्न राहत, पुनर्कर्जा माग गरी मजदुरको न्यूनतम् सर्त नसुनेको, बैङ्क, वित्तीय क्षेत्र र विभिन्न सङ्घसंस्थाका श्रमिकहरूलाई कामअनुसार पारिश्रमिक वितरण नगरिएको, हाइड्रो, होटेल, खानी र इँटाभट्टामा कार्यरत मजदुरहरूमाथि अन्यायपूर्ण तरिकाले पारिश्रमिक वितरणमा ढिलाइ गरिएको, ट्रेकिङ, पर्यटनलगायत क्षेत्रमा न रोजगारी, न त पारिश्रमिकको अवस्थाका कारण भयावह स्थिति उत्पन्न गरिएको, सेक्युरिटी क्षेत्रमा उच्च जोखिममा कार्यरत श्रमिकहरूको रोजगारी र पारिश्रमिक बेरोकतोक कटौती भएको उल्लेख छ ।

वक्तव्यमा अनौपचारिक क्षेत्रअन्तर्गत यातयात व्यवसायीहरूले जोखिममा सवारी सञ्चालन गर्न आनाकानी गर्दा असङ्ख्य मजदुरहरूको जीविकोपार्जनमाथि गम्भीर र संवेदनशील रूपमा प्रश्न उठेको, स्वरोजगार ट्याक्सी र अन्य यातायात मजदुरहरूमाथि न्याय नहुने गरी सरकारले किस्ता दाखिलाजन्य वित्तीय आतङ्कमार्फत थप प्रताडित बनाएको, हवाईयातायात मजदुरहरू जोखिम र भयका बीच श्रम कटौती र न्यून पारिश्रमिकमा काम गर्न बाध्य भएको, निर्माण क्षेत्रका मजदुरहरूले ज्याला नपाएको अवस्थामा सरकारको चरम अकर्मण्यता र व्यवसायीको निरीहताका कारण श्रमिकहरू मारमा परेको उल्लेख छ ।

वक्तव्यमा स्थापित ट्रेड युनियनहरूमध्ये अधिकांश मौन रही सरकारको समर्थनमा उभिएकोमा चिन्ता व्यक्त गरिएको छ । समस्त श्रमबजार झन् अस्तव्यस्त र आतङ्कित बनेको भन्दै महासङ्घले सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस्तो विषम परिस्थितिमा सबै श्रमिक हितमुखी सरोकारवाला सङ्घ तथा सङ्गठन प्रगतिशील, क्रान्तिकारी र न्यायप्रेमी ट्रेड युनियहरूको जुझारु र सशक्त सङ्घर्षबिना यतिबेला मजदुर श्रमिकको हितमा अन्य केही उल्लेख्य पहल कायम हुन सम्भव नदेखिएकाले महासङ्घले सम्पूर्ण श्रमिकहरूको हितका लागि सङ्घर्षमा उत्रिन पनि मजदुर सङ्गठनहरूलाई आह्वान गरेको छ । वक्तव्यकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :