केपी वली र शेरबहादुर देउवाको पुतला सडकमा घिसारियो


काठमाडौँ : अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा लागू गर्नु नहुने भन्दै एमसीसी पारित गरेरै छाड्ने अडान लिएका प्रधानमन्त्री केपी वली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पुतला सडकमा घिसारिएको छ । नेकपा लुम्बिनी ब्युरोअन्तर्गतका रूपन्देही, पाल्पा, नवलपुर, गुल्मी र अर्घाखाँची जिल्लामा बिहीबार प्रधानमन्त्री केपी वली र नेपाली काङ्ग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुख्याँचा बनाएर सडकमा घिसारिएको समाचारमा जनाइएको छ ।

प्रधानमन्त्री वली र काङ्ग्रेस सभापति देउवाको फोटोमा ‘म एमसीसीको दलाल हुँ’ भन्ने लेखेको बुख्याँचालाई सडकमा घिसारिएको स्थानीय बासिन्दाले बताएका छन् । उक्त कार्यक्रमको सुरुमा नेकपाले कोणसभासमेत गरेको बताइएको छ ।

कोणसभामा सम्बोधन गर्दै नेकपाका नेताहरूले एमसीसी कुनै पनि हालतमा संसद्बाट पास हुन दिनु नहुने भन्दै यसलाई पास गरिए सशक्त प्रतिरोध गर्ने बताए । उनीहरूले एमसीसीविरुद्ध सङ्घर्ष गर्न देशभक्त नेपालीहरू एक हुनुपर्ने बताए । उनीहरूले एमसीसी अमेरिकी सैन्य रणनीतिसित सम्बन्धित रहेको भन्दै वली र देउवा यसको मतियार भएको बताए ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा जिल्ला सेक्रेटरी माहुरी, मालपानीमा अखिल (क्रान्तिकारी) जिल्ला सचिव धर्मबहादुर नेपाली, रूपन्देहीका शुद्धोदन र रोहिणीमा नवीन, जसवन्त र जीवनले सम्बोधन गरेका थिए ।

त्यस्तै नवलपुरको कावासोती, पाल्पाको तानसेन नगरपालिकाको डम्कडा, गुल्मीको धुर्कोट र अस्लेवामा पनि पुतला घिसादै कोणसभा गरिएको नेकपा लुम्बिनी ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :