नेकपा नेता अग्रीम पाँच महिनापछि रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकका तत्कालीन इन्चार्ज लेखबहादुर गजमेर ‘अग्रीम’ पाँच महिनाको हिरासत र जेल बसाइपछि सर्वोच्चको आदेशमा बिहीबार रिहा भएका छन् ।

२०७६ साल फागुन ७ गते पार्टी कामको सिलसिलामा रहेको समयमा सिन्धुपाल्चोकको चौताराबाट गिरफ्तार भई अभद्र व्यवहार मुद्दामा २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका अग्रीमलाई प्रहरीले पुनः गिरफ्तार गरी दोलखा पुर्याएको थियो ।

दोलखाबाट रामेछाप पुर्याएर साधारण तारेखमा रिहा भएका नेता अग्रीमलाई पुनः गिरफ्तार गरी प्रहरीले काभ्रे ल्याएर सङ्गठित अपराध र विस्फोटक पदार्थ मुद्दा लगाई हिरासतमा राखेको थियो । त्यसपछि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट परी रिहा भएका अग्रीमलाई पुनः गिरफ्तार गरी सिन्धुली पुर्याएर पुनः अभद्र व्यवहारको मुद्दा लगाएर ३० हजार रुपैयाँ धरौटी तोकिएको थियो । धरौटी नबुझाएपछि उनलाई सिन्धुली कारागार चलान गरिएको थियो ।

नेता अग्रीमका पक्षमा सर्वोच्चमा पुनः बन्दी प्रत्यक्षीकरण रिट परेपछि सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र बमकुमार श्रेष्ठको संयुक्त इजलासले यही असार १० गते रिहा गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार अग्रीम बिहीबार रिहा भएका हुन् ।

अग्रीमका पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोखरेल, कान्तिराम ढुङ्गाना र चिरञ्जीवी ढकालले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :