राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध खबरदारी गर्न मञ्चको आह्वान

काठमाडौँ : सेती महाकाली समाजवादी मञ्चले प्रेस विज्ञप्ति जारी गरी राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध खबरदारीमा जुट्न र संयुक्त सहकार्यमा आउन आह्वान गरेको छ । मञ्चका संयोजक देवीदत्त पाण्डेले जारी गरेको विज्ञप्तिमा सरकार संसद्बाट एमसीसी पास गर्ने कार्यबाट पछि हटोस् र राष्ट्रिय सार्वभौमिकताको रक्षा गरोस् भन्ने उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वाधीनता चाहने र समाजवादमा विश्वास राख्ने सबै शक्ति र व्यक्तिहरूको साझा मञ्च हो सेती–महाकाली समाजवादी मञ्च । यसको पहिलो वक्तव्य सेती–महाकाली मुक्ति मञ्चका तर्फबाट दिइएको थियो तर पछि सबै चिन्तक, विचारक र शुभेच्छुकहरूको सुझाव, सल्लाहबमोजिम यसलाई अझै फराकिलो दायरामा लैजाने उद्देश्यसहित यसलाई समाजवादी मञ्चमा रूपान्तरण गरिएको छ । यसको उद्देश्य राष्ट्रिय स्वाधीनता र समाजवादका पक्षमा लाग्ने र जागरण पैदा गर्ने रहनेछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यही सन्दर्भमा सरकार र सदनबाट सेती–महाकालीमा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने र पारित गर्ने कार्यको यो मञ्चले स्वागत र सम्मान गरेको छ । अझै उक्त भूमि व्यावहारिक रूपमा स्वामित्वमा ल्याउन बाँकी छ । तर फेरि सरकारका तर्फबाट योभन्दा पनि राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी पास गर्ने कदम अगाडि बढाइएको प्रति हाम्रो घोर आपत्ति र विरोध रहेको छ । हाम्रो आग्रह छ सरकार यस कार्यबाट पछि हटोस् र राष्ट्रिय सार्वभौमिकताको रक्षा गरोस् ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘हामी सेती–महाकालीबाट सरकार र सदनमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई पनि आग्रह गर्दछौँ– तपाईंहरू कसैले पनि राष्ट्रघाती एमसीसी सम्झौतामा हस्ताक्षर नगर्नुहोला । जनताको मतको सम्मान गर्नुहोला । सेमका सबै न्यायप्रेमी जनसमुदायलाई पनि हाम्रो आग्रह छ– तपाईंहरूले पनि जनप्रतिनिधिलाई खबरदारी गर्नुस् र आफ्नो मतको दुरुपयोग राष्ट्रघातमा हुन नदिनुहोस् । तसर्थ हामी सबैलाई यस राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध खबरदारीमा जुट्न र संयुक्त सहकार्यमा आउन आग्रह गर्दछाँै । साथै हाम्रो सेती–महाकाली समाजवादी मञ्च राष्ट्रियताका पक्षमा उम्भिने जोसुकै शक्ति र व्यक्तिसँग पनि सङ्घर्षमा सहकार्य र एकता गर्न तयार छ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :