नेकपा लुम्बिनी ब्युरोद्वारा एमसीसीबारे अन्तरक्रिया


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोले एमसीसी सम्झौताबारे जनतासँग छलफल चलाएको छ । पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) मार्फत एमसीसीबारे बहस तथा छलफल चलाइएको हो ।

कपिलवस्तुको वाणगङ्गास्थित जनज्योति मावि, नवलपुरको लक्ष्मी मावि, जनज्योति मावि, बालकुमारी क्याम्पस, नवलपरासीको भुताहा, रूपन्देहीको सैनामैना, अर्घाखाँचीको शीतगंगा नगरपालिका र सन्धिखर्क नगरपालिकामा नेकपाले एमसीसीबारे छलफल चलाएको छ ।

छलफलमा प्राध्यापक, शिक्षक, कर्मचारी, अधिकारकर्मी, बुद्धिजीवी, विभिन्न पार्टीका प्रतिनिधि तथा शुभचिन्तक, सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय जनता सहभागी भएका थिए । छलफलमा एमसीसीको औचित्य, सम्झौताका राष्ट्रघाती बुँदा, साम्राज्यवादी नीति, देशको स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताबारे थुप्रै जिज्ञासाबारे बहस भएको समाचारमा जनाइएको छ ।

छलफलमा एमसीसी परियोजना हिन्द–प्रशान्त रणनीतिसित सम्बन्धित रहेकाले नेपालमा अमेरिकी सेना ल्याएर नेपाल र चीनका विरुद्ध प्रयोग गर्न थालिएको, अमेरिकालाई जासुसी सेटेलाइट र मिसाइल चार्ज गर्न हाई भोल्टेज आवश्यक भएकाले विद्युत् परियोजना अगाडि सारिएको, पाल्पाको दोभानस्थित वसन्तपुर डाँडामा अमेरिकी जासुसी यन्त्रसहित सेना राख्न लागिएको र मुस्ताङको युरेनियम खानी कब्जा गर्ने उद्देश्यले एमसीसी सम्झौता संसद्बाट पारित गर्न लागिएको भन्दै यो सम्झौता देशको स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताका विरुद्ध हुने नेकपाले बताएको छ । सिङ्गो देश एमसीसीका विपक्षमा रहेको बेला केपी वली सरकारले काङ्ग्रेसको समर्थनमा संसद्बाट पास गराउन खोज्नु राष्ट्रघाती र पञ्चशीलको सिद्धान्तविपरीत भएको नेकपाको निष्कर्ष छ ।

छलफलमा एमसीसीको अर्को भित्री उद्देश्य दक्षिणएसियामा कम्युनिस्ट प्रभाव रोक्ने, नेपाली क्रान्तिलाई दमन गर्ने नीति रहेकाले यसका विरुद्ध देशको स्वाधीनता र सार्वभौमिकताका पक्षमा देशभक्त नेपालीहरू सङ्घर्षमा उत्रिनु अनिवार्य रहेको नेकपा लुम्बिनी ब्युरोले बताएको छ ।

कपिलवस्तुमा अखिल नेपाल शिक्षक सङ्गठनले पनि एमसीसीका विरुद्ध छलफल चलाएको छ । छलफलमा सङ्गठनका कपिलवस्तु अध्यक्ष रामनिवास चौहानले एमसीसी सम्झौता लागू भए गम्भीर राष्ट्रघात हुने बताए । कार्यक्रममा रामअचाल कोरीलगायतले बोलेका थिए ।

नेकपा लुम्बिनी ब्युरोले एमसीसीविरुद्ध विभिन्न किसिमका सङ्घर्ष गर्दै आएको छ । यसभन्दा अगाडि प्रधानमन्त्रीलाई बेसार, लसुन, अदुवा, तातोपानी उपहार, पोस्टरिङ, प्रदर्शन, साहित्यिक कार्यक्रम, रित्तो थाली बजाउने कार्यक्रम सम्पन्न गरिसकेको नेकपा लुम्बिनी ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :