कामका लागि खाद्यान्न : टोनीहागन

toni-hagan 1
टोनीहागन, स्विजरल्याण्ड
म त्यस्तो कामलाई खोरमा खाँदाखाँद कुखुरा राखे जस्तै गरी मानिसलाई कुनै तरिकाले जिउँदो राख्ने कामभन्छु । उनीहरुले खान पाउँछन्, ज्यान जेनतेन धानिन्छ । तर उनीहरुमा कुनै जाँगर हुँदैन, जुन कुरा कुनै पनि प्रकारको विकासका लागि प्रत्युत्पादक हुन्छ । उनीहरु अरुले खटाएको काम मात्रै गर्छन् । आफ्नै मनले केही गर्दैनन् । बाइबलमा पनि भनिएको छ, “मानिसले रोटीकै लागि मात्र बाँच्नु हुँदैन ।” यो उक्ती तेस्रो विश्वका लागि झनै सटिक छ र कामको बदलामा खाद्यान्न दिनु भनेको त्यस्तै कुरा हो । काम गरेबापत उनीहरुले पाएका खाद्यान्न उनीहरु सस्तोमा बेच्न पुग्छन् । आखिर उनीहरुलाई लुगाफाटो किन्नुपर्छ, विद्यालयको शुल्क तिर्नुपर्छ, सापट र ऋणको रकम तिर्नुपर्छ र यस्तै अनेक काम गर्नुपर्छ । हामीले मानिसलाई आफ्ना प्राथमिकता आफैं बोक्ने छुट दिनुपर्छ । हामी निजीउद्यम र सहभागिता बढाउने कुरा गर्छौं, तर गएर उनीहरुलाई खाद्यान्न दिन्छौं । तिमीलाई चाहिएको यही हो र तिमीले यसै गर्नुपर्छ भन्छौं । कामको बदलामा खाद्यान्न दिंदा निस्केको परिणाम हामीले देखेका छौं । हाइटीकै उदाहरण लिउँ न, त्यहाँ त्यसरी वितरण गरिने खाद्यान्नको ८० प्रतिशत बेचिन्छ । तर बजारको भाउभन्दा सस्तोमा बेचिने हुँदा खाद्यान्नको उचित मूल्य मिल्दैन । दाताले सहायता स्वरुप खाद्यान्न पठाउँदा जति मूल्य परेको हुन्छ त्यसको ९० प्रतिशत भन्दा कम मूल्यमा स्थानीय बजारमा त्यो खाद्यान्न बेचिन्छ । हाम्रो अर्थात् विकसित मुलुकको उत्पादन लागत नै बढी हुन्छ । त्यसमाथि ढुवानी र अन्यखर्च जोड्दा यस्तो विकास सहायता असाध्य महँगो पर्न जान्छ । उसो भए सहायता स्वरुप खाद्यान्न किन पठाउने गरिन्छ त ? किनभने विकसित मुलुकमा उत्पादित खाद्यान्न किन पठाउने गरिन्छ त ? किनभने विकसित मुलुकमा उत्पादित खाद्यान्न उब्रिन्छ र त्यसलाई तह लगाउन गरिब मुलुकमा सहायता स्वरुप पठाइन्छ । अनि गरिब र भोकालाई खुवाएको भनेर जस बटुल्ने गरिन्छ । u
त्यस्तो श्रेयबाहेक यसबाट उनीहरुको सार्वजनिक छवि उजिल्याउने काम पनि हुन्छ । र बजेट माथिको भोटलाई प्रभावित गर्ने अवस्थामा उनीहरु पुग्छन् । आखिरमा नीजि स्वार्थले नै सबैथोक निर्धारण गरिरहेको हुन्छ ।
हामी (अर्थात् विकसित विश्व) चाहिएभन्दा बढी उत्पादन गछौं । त्यसो गर्नु नै असङ्गत कुरा हो । हामी अत्यधिक उर्जा र पुँजी खर्चेर उत्पादन गर्छौं । अनि प्रकृतिलाई हानी पु¥याउँछौं । हामी हाम्रा किसानहरुलाई आर्थिक अनुदान दिन्छौं र उनीहरुले महङ्गो तरिकाले उत्पादन गरेका खाद्यान्नलाई सहायताको नाममा तेश्रो विश्वका गरिब मुलुकहरुमा पठाउँछौं । र त्यहाँका किसानले सस्तोमा उत्पादन गरेका खाद्यान्नसित प्रतिश्पर्धा गराउँछौं । यो गलत काम हो र यसो गर्नु म अपराध हो भन्छु ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :