एमसीसी नयाँ इस्टइन्डिया कम्पनी हो : नेता पोख्रेल


काठमाडौँ : सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य लीलामणि पोखरेलले एमसीसी सम्झौता हिन्द–प्रशान्त रणनीति (आईपीएस) को अभिन्न अङ्ग भएकाले यसलाई खारेज गर्नुपर्ने बताएका छन् ।

एमसीसी परियोजना लागू भएमा नेपालको संविधानलाई नै निष्क्रिय बनाउने भएकाले यसलाई खारेज गर्नुपर्ने उनले बताए । त्यस्तै अमेरिकी अनुदान सहयोग एमसीसी नयाँ इस्टइन्डिया कम्पनीको नयाँ (आधुनिक) रूप भएको दाबी पनि उनले गरे । उनले भने, ‘हिजो जसरी ब्रिटिसहरूले भारतमा ३०० वर्ष शासन गरे त्यसरी नै एमसीसीले पनि नेपाललाई उपनिवेश बनाउनेछ ।’

उनले भने, ‘यसको दफा २.८ मा कुनै पनि विदेशी कर्मचारीहरूलाई कर नलाग्ने, दफा ३.२ (च) मा एमसीसी परियोजनाको सम्पूर्ण बौद्धिक सम्पत्ति अमेरिकाको हुने, परियोजना निर्माणपछिको सक्कली डकुमेन्ट अमेरिकालाई बुझाउनुपर्ने, लेखा रिपोर्ट नेपालले गर्न नपाउने, त्यस्तै एमसीसीको प्रावधानमा अमेरिकी सुरक्षानीतिको प्रतिकूल भएमा परियोजना खारेज हुने, अमेरिकी हितविपरीत भए स्वतः खारेज हुने, परियोजनाको बुँदासँग नेपालको कानुन बाझिएमा नेपालको कानुन खारेज हुनेजस्ता प्रावधानले एमसीसी राष्ट्रहितविपरीत छ ।’

त्यस्तै एमसीसीले नेपाललाई अमेरिकी सैन्य गुटको भासमा फसाउने नेता पोख्रेलले बताए । त्यस्तै अनुसूचीमा नेपालको प्रशासन सुधार (नेपाल विद्युत् प्राधिकरण) गर्नेजस्ता कुरा नेपालको सार्वभौमिकताविरोधी भएको उनले बताए । अर्को प्रसङ्गमा उनले अमेरिकाले नेपालको भूराजनीतिक महत्वको प्रयोग गरेर चीन घेर्न खोजेको बताए । अहिलेको विश्व आर्थिक राजनीतिको केन्द्र एसिया भएकाले अमेरिकाले चीनका विरुद्ध विभिन्न षड्यन्त्र रचेर एमसीसी नेपालमा थोपर्न खोजेको उनको भनाइ थियो ।

नेपाली काङ्ग्रेसका युवा नेता रामहरि खतिवडाले विवादित एमसीसी पास गर्न नेपाली काङ्ग्रेसलाईभन्दा प्रधानमन्त्री केपी वलीलाई बढी हतार भएको बताए । नेता खतिवडाले कोरोना सङ्कट र भ्रष्टाचारलाई विषयान्तर गर्न एमसीसीलाई स्वयम् सरकारले अगाडि ल्याएको बताए । उनले भने, ‘काङ्ग्रेसको पालामा आएको परियोजना भएकाले नेपाली काङ्ग्रेसले समर्थन गरेको हो । राष्ट्रिय हितविपरीत छ भने पास किन गर्नु प¥यो त ? सरकारले नै खारेज गरे भइगो नि ।’

प्रधानमन्त्री वलीका कारण कोरोना भाइरस बढेर गएको उनले बताए । अहिलेको सरकार भ्रष्टाचारमा लिप्त भएको र अनेकौँ काण्डमा मुछिएको उनको भनाइ थियो । मान्छे अपहरण गर्न सर्लाही पुगेको, होली वाइनलाई प्रधानमन्त्रीले वली वाइन बनाएको भन्दै उनले व्यङ्ग्य पनि गरे । त्यस्तै उनले प्रधानमन्त्री वली चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य बनेको आरोप लगाए ।

त्यस्तै नेकपा माओवादीका महासचिव कर्णजित बुढाथोकीले केपी वलीलाई कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्ने चेतना नभएको र जनदबाबका कारण वली नक्सा जारी गर्नुपर्ने अवस्थामा पुगेको बताए । राष्ट्रियतालाई धितोमा राखेर एमसीसी अनुदान लिन नहुने उनको भनाइ थियो । अमेरिका अहिले आइसोलेनमा रहेको तर नेपाली भूमिलाई चीनविरुद्ध प्रयोग गर्न खोजेको र एमसीसी पास गरे जनताले सांसदहरूलाई समेत कारबाही गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :