एमसीसीका पक्षमा भोट हाल्ने सांसदलाई जिल्लाजिल्लामा बहिष्कार गरिन्छ : गजुरेल


काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी) का नेता तथा देजमोका संयोजक सीपी गजुरेल ‘गौरव’ ले नेपालमा एमसीसी सम्झौता लागू भयो भने नेपाल एउटा रणभूमिमा बदलिने बताएका छन् ।

राष्ट्रिय जागरण मञ्च नेपाल, देजमो, मसाललगायत ११ दलीय संयुक्त मोर्चाले मङ्गलबार काठमाडौँमा आयोजना गरेको संयुक्त प्रदर्शनपछि आयोजित सभामा सम्बोधन गर्दै गजुरेलले एमसीसी नेपालको संसद्बाट पारित भई लागू भएमा नेपाल ठूला शक्तिराष्ट्रहरूको युद्धक्षेत्र बन्ने चेतावनी दिए ।

नेपाललाई रणभूमि बन्न दिने कि नदिने भन्ने प्रश्न उठेको प्रस्ट पार्दै गजुरेलले भने, ‘एकथरी मान्छेहरू खाएको पैसा पचाउनलाई एमसीसी सम्झौता पास गर्न ठिक्क परेर बसेका छन् । हामी उनीहरूलाई आग्रह गर्दछौँ– एमसीसीका पक्षमा भोट हाल्ने सांसदलाई भोलि जिल्लाजिल्लामा बहिष्कार गर्नेछौँ ।’ स्मरणीय छ, नेकपाले यसअघि नै एमसीसी पारित गर्ने सांसदहरुलाई जिल्लामा कारबाही गर्ने सार्वजनिक गरिसकेको छ ।

सभामुखलाई एमसीसी प्रस्ताव टेबुल नगर्न र सांसदहरूलाई भोट नहाल्न तथा बहसमा भाग नलिन आग्रह गर्दै गजुरेलले एमसीसीविरुद्ध सत्ताधारी पार्टीमै केपी वली अल्पमतमा रहेको र एमसीसीविरुद्ध ठूलो जनमत तयार भएको बताए ।

५५ अर्ब पचाउनलाई कतिपय दलालहरू र्याल काढेर बसेको भन्दै गजुरेलले एमसीसी परियोजना खारेज गर्नुपर्छ भन्नेहरूलाई दमन गर्ने केपी वलीले नक्सा जारी गरेर देखाएको देखावटी राष्ट्रवाद एमसीसीमा आएर बागमतीमा बगाइदिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :