नेकपाले एमसीसीविरुद्ध रित्तो थाली बजायो


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै रित्तो थाली बजाएर विरोध गरेको छ । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी पाल्पाको आयोजनामा गरिएको उक्त विरोध कार्यक्रममा नेपाल र अमेरिकाबीच भएको एमसीसी सम्झौता देशको स्वाधीनता, सार्वभौमसत्ता र स्वतन्त्रताका विरुद्ध भएको भन्दै विरोध गरिएको हो ।

जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा गरिएको विरोध कार्यक्रममा नेकपाका नेता नारायणले केपी वली नेतृत्वको सरकारले एमसीसी परियोजना संसद्बाट पास गर्न लागेको भन्दै यसका विरुद्ध खबरदारी गर्नुपरेको बताए । उनले कुनै पनि हालतमा यो सम्झौतालाई खारेज गर्न सम्पूर्ण देशभक्त नेपालीहरू सङ्घर्षमा उत्रिनुपर्ने बताए ।

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी पाल्पाकी उपाध्यक्ष माया खाम्चाको नेतृत्वमा विरोध कार्यक्रम सम्पन्न भएको थियो ।

नेकपा लुम्बिनी ब्युरोले एमसीसीका विरुद्धमा विभिन्न सङ्घर्षहरू गर्दै आएको छ । यसअघि पाल्पामा एमसीसीविरुद्ध पर्चा वितरण, पोस्टरिङ, कोणसभा, पुतलादहन, प्रदर्शनलगायत सङ्घर्षका कार्यक्रम सम्पन्न भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :