स्वास्थ्य सामग्री खरिदमा नीतिगत भ्रष्टाचार : लेखा समिति

काठमाडौँ : स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको अनियमितता शङ्कास्पद भएको संसद्को सार्वजनिक लेखा समितिका सदस्यहरूले बताएका छन् । उक्त काण्डमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र उनका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीको भूमिका शङ्कास्पद देखिएको सार्वजनिक लेखा समितिका सदस्यहरूले बताएका हुन् ।

संसद्को लेखा समितिले सोमबार प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह, स्वास्थ्यसचिव लक्ष्मण अर्याल र स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख रघुराम बिष्टसँग स्वास्थ्य सामग्रीमा भएको अनियमितताबारे छलफल गरेको छ ।

खरिद ऐनमा व्यवस्था भएको मूल्याङ्कन समितिलाई खरिदप्रक्रियामा कुनै भूमिका नदेखिएको पाइएको समितिले प्रारम्भिक अध्ययनले देखिएको छ । उक्त काण्डमा सत्तारूढ दलकै सांसदले विरोध गरेका छन् । उनीहरूले स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी समूहलाई दिनका लागि भएका दौडधुपमा पनि अनियमितता भएको शङ्का गरेका छन् । नेकपाकी सांसद धर्मशीला चापागाईंले खरिदप्रकियामा के–कति अनियमितता भएको हो, अङ्कमा भन्नुपर्ने भन्दै मन्त्रालयले खरिदप्रकियामा गरेको भ्रष्टाचारबारे सबैलाई थाहा भइसकेको बताइन् । सामान खरिदका लागि राती बैङ्क खुला गर्ने, थरीथरी बैठक हुने र अनेकौँ पत्राचार हुने गरेको पनि लेखा समितिका सदस्यहरूको भनाइ छ ।

प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद मीनेन्द्र रिजालले पनि स्वास्थ्य सेवा विभाग तथा मन्त्रालयका कर्मचारीहरूले गम्भीर त्रुटि गरेकाले नीतिगत भ्रष्टाचार देखिएको भन्दै स्वास्थय सामग्रीमा अनियमितता हुने शङ्का गरेका छन् । यस्तै सांसद पार्वती चौधरीले सेनालाई खरिदको जिम्मा दिनु नै स्वास्थ्य सामग्री खरिदप्रकियामा घोटाला भएको प्रमाण भएको दाबी गरिन् ।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले ओम्नी समूहलाई ठेक्का दिन स्वास्थ्यमन्त्री नै लागिपरेको भन्दै स्वास्थ्यमन्त्रीले नै कानुन उल्लङ्घन गरेर खरिदकर्तासँग वार्ता गर्न टोली गठन गरेको बताए । सरकारले कोरोना भाइरसको परीक्षण गर्ने किट र अन्य स्वास्थ्य सुरक्षा सामग्री खरिद गर्न बदनाम ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिएको थियो । ती स्वास्थ्य सामग्री खरिद गर्न स्वास्थ्यमन्त्रीकै सहभागितामा स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग औपचारिक सम्झौता गरेको थियो । स्वास्थ्य सामग्री खरिदप्रकरणका विषयमा भ्रष्टाचार भएको देखिएपछि यसको सर्वत्र आलोचना भइरहेको र उक्त काण्डको छानबिन हुनुपर्ने आवाज उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :