संसदवादी पार्टीभित्र नागरिकता ऐन कचिङ्गल


काठमाडौँ : सत्ता र कुर्सीको स्वार्थका लागि संसदवादी पार्टीहरू जे हर्कत गर्न पनि तयार हुन्छन् भन्ने कुरा एमसीसी विवाद र पछिल्ला घटनाक्रमहरूले पुष्टि गरेका छन् । फरकफरक राजनीतिक उद्देश्य र स्वार्थहरू भए पनि आफ्नो सत्तास्वार्थका लागि एक ठाउँमा उभिने नेपालका संसदवादी राजनीतिक दलको चरित्र नै बन्दै आएको छ ।

सानासाना कुरामा विवाद र कचिङ्गल गरिरहने सत्ताधारी पार्टी नेकपा र अर्को प्रतिपक्षी पाटी नेपाली काङ्ग्रेसबीच पनि यस्तै हुने गरेको छ । यसको पछिल्लो उदाहरण एमसीसीकाण्ड रहेको छ । आफ्नो पालामा गरेको सम्झौता कार्यान्वयन गरेर विदेशी प्रभुलाई खुसी बनाउने काङ्ग्रेसले उक्त राष्ट्रघाती परियोजना संसदबाट पारित गराउने विषयमा सत्ताधारी नेकपासँग घाँटी जोडेको छ । उक्त विवादास्पद एवम् राष्ट्रघाती परियोजनाले देशलाई पराधीन बनाउने भन्दै सत्तारूढ नेकपाभित्रै चर्को मतभेद भएको र उक्त पार्टी राष्ट्रघाती महाकाली सन्धि पारित गर्ने बेलाकै अवस्थामा पुग्नसक्ने आकलनहरू गरिएको बेला काङ्ग्रेस विदेशी प्रभु रिझाउन एमसीसी जसरी पनि संसदबाट पास गर्ने ध्याउन्नमा लागेको छ ।

तर यस्तै अर्को राष्ट्रिय र दीर्घकालीन महत्वको विषय मानिएको नागरिकता ऐनको विषयलाई लिएर पनि सत्ताधारी नेकपा र प्रतिपक्ष नेपाली काङ्ग्रेसबीच कचिङ्गल उत्पन्न भएको छ । शनिबार नेकपा सचिवालयको बैठकले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय गरेको थियो र नेकपा सचिवालय बैठकको निर्णयअनुसार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्र नेपाली नागरिकता दिने व्यवस्था राखेर नागरिकतासम्बन्धी विधेयक बहुमतले पास गर्यो ।

उक्त विषयलाई लिएर नेपाली काङ्ग्रेसले भने आपत्ति जनाउँदै सत्तारूढ नेकपाको यो निर्णयले मुलुकलाई गम्भीर राजनीतिक दुर्घटनातिर लगेको, नेकपाको उक्त निर्णय अत्यन्त अदूरदर्शी, अपरिपक्व, मुलुकमा साम्प्रदायिक दङ्गा भड्काउने, मुलुकलाई विभाजनमा लैजाने खालको भएको बताएको छ । सोमबारको राष्ट्रियसभा बैठकमा काङ्ग्रेसका सांसद जितेन्द्रनारायण देवले नागरिकताको उक्त प्रावधानको विरोधमा वीरगन्जदेखि राजविराजसम्म प्रदर्शन भइरहेको भन्दै उक्त कदमले दुर्घटना निम्त्याउने चेतावनी दिए । उनले नेकपालाई समाजवादी नभएर उग्रवादी भएको आरोपसमेत लाए । साथै उनले सत्ताधारी पार्टीले छिमेकी दुई ठूला मुलुकलाई समदूरीको सम्बन्धमा राख्न नसकेको बताएका छन् । विभिन्नखालका विवादास्पद निर्णय र सरकारको कामगराइको तरिकाले गर्दा जनमानसमा एकखाले तीव्र आक्रोश देखापर्ने गरेको छ । स्वस्फूर्त जस्ता देखिने प्रदर्शनहरू देशैभरि हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :