एमसीसीविरुद्ध साहित्यकारहरू गर्जिए


काठमाडौँ : अखिल नेपाल जनसांस्कृतिक महासङ्घ लुम्बिनी ब्युरोले एमसीसी परियोजना राष्ट्रघाती भएको भन्दै आयोजना गरेको कार्यक्रममा स्रष्टाहरू यसका विरुद्ध सिर्जनामार्फत गर्जिएका छन् । कवि, लेखक र कलाकारहरूको सहभागिता रहेको कार्यक्रममा राष्ट्रियताका पक्षमा बोल्दै साहित्यकारहरूले सिर्जनाहरूमार्फत एमसीसी सम्झौता खारेज हुनुपर्ने माग गरेका छन् ।

उनीहरूले राष्ट्रियताका पक्षमा आवाज उठाउँदा सरकारले दमन गरेको भन्दै स्रष्टाहरूमाथि गरिएको दमन, धरपकड र गिरफ्तारीको निन्दासमेत गरे । साहित्यकारहरूले सिर्जनामार्फत एक स्वरमा भने, ‘कलममाथि बन्दुकको दमन अस्वीकार्य छ । अक्षरमाथिको दमन फासिवाद हो । देशभक्त र श्रमिक जनताका पसिना उनिएका गीत र स्वरहरूमाथिको अवरोध हो ।’

कार्यक्रममा कवि एवम् लेखक डा. शिवशङ्कर बस्यालले सामाजिक दलाल पुँजीवादी सत्ता सर्जक र सिर्जनादेखि डराएको भन्दै फासिवादी सत्ताविरुद्ध सिर्जनात्मक हस्तक्षेप तीव्र पार्नुपर्ने बताए । उनले साहित्य, कला, गीत, सङ्गीत जनताका पक्षमा लेखिनुपर्ने भन्दै सत्यका पक्षमा उभिनुपर्ने स्रष्टाहरूको दायित्व भएको बताए । उनले गीत, सङ्गीत, कला, साहित्यलाई राजनीतिसित जोड्नु अनिवार्य भएको भन्दै साहित्य सिर्जनाले जनताको सेवा गर्नुपर्ने बताए । पुँजीवादले ज्ञानको सङ्कट बढाएको भन्दै उनले क्रान्तिकारी र देशभक्त लेखक÷साहित्यकारहरूले यो अभिभारा पूरा गर्नुपर्ने बताए ।

राष्ट्रघाती सम्झौता एमसीसीविरुद्ध आफूहरूले सुरुदेखि नै सङ्घर्ष गर्दै आएको भन्दै उनले भने, ‘एमसीसीविरुद्ध हल्ला गर्नु र साँच्चिकै लड्नुमा फरक छ । हामी साँच्चिकै लडिरहेका छौँ ।’

कार्यक्रममा राष्ट्रियताका पक्षमा र एमसीसीविरुद्ध २० जना साहित्यकारहरूले कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा क्षितिज परिवारले ५ वटा देशभक्तपूर्ण गीत प्रस्तुत गरेको थियो । कार्यक्रममा नेकपा लुम्बिनी ब्युरोअन्तर्गतका विभिन्न जिल्लाबाट लेखक, साहित्यकार, कलाकारहरूको सहभागिता रहेको थियो ।

ब्युरो संयोजक खोमा तरामु मगरको अध्यक्षता र ब्युरो सदस्य संयोगको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :