एमसीसी र रुकुम घटनाका विरुद्ध सिन्धुलीमा प्रदर्शन


काठमाडौँ : अमेरिकी परियोजना एमसीसी राष्ट्रघाती भएको र रुकुम चौरजहारीमा नवराज विकलगायत ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्ड सामाजिक, सांस्कृतिक जातीय विभेदका कारण भएको भन्दै नेकपाले सिन्धुलीको मरिणमा विरोध कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (दक्षिण सिन्धुली) का जिल्ला सेक्रेटरी एवम् तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य निसोनले दलाल पुँजीवादी व्यवस्थाका कारण दलालहरूले सञ्चालन गरेको राज्यसत्ताले गर्दा रुकुम चौरजहारीमा नवराज विकलगायत ६ जनाको ज्यान गएको बताए । जिल्ला सेक्रेटरी निसोनले एक्काईसौँ शताब्दीमा मानवसभ्यतालाई नै गिज्याउने गरी भएको उक्त अमानवीय र क्रूर हत्याकाण्डको जति विरोध गरे पनि अपुग नै हुने भन्दै हत्यामा संलग्नलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने अन्यथा पीडित वर्ग–समुदाय चुप लागेर नबस्ने बताए । साथै उनले इन्डो प्यासिफिक सैन्य रणनीतिअन्तर्गत नेपालबाट चीनलाई घेरा हाल्ने गरी आएको एमससी परियोजना संसद्बाट कुनै पनि हालतमा पास गर्न नदिन चर्को जनदबाब सिर्जना गर्नुपर्ने बताए ।

एमससी पारित भए नेपालमा अमेरिकाको प्रत्यक्ष दबाब बढ्ने र सेनासमेत ल्याएर राख्नसक्ने भन्दै यो मुलुक रणमैदानमा परिणत हुने उनको धारणा थियो । एमसीसी पास गरिएमा जनताले जिल्लाजिल्लाबाट संसद्हरू लखेट्ने अवस्था आउने बताए । उनले राष्ट्रघात र सीमा रक्षाका सँगै राष्ट्रिय स्वाधीनताको रक्षार्थ जनतालाई सडक सङ्घर्षमा आउन अपिल गरेका थिए । आइतबार सम्पन्न कार्यक्रममा दलित मोर्चा र तामाङ मुक्ति मोर्चाका प्रतिनिधिहरू पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :