११ दलीय मोर्चाले घोषणा गर्यो एमसीसी खारेजीका लागि असार ९ गते देशैभर जनप्रदर्शन

काठमाडौँ :विवादित अमेरिकी परियोजना ‘हिन्द प्रशान्त रणनीतिक प्रतिवेदन’ मा आधारित ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) केपी वली सरकारले संसद्बाट पारित गर्न खोजेपछि उक्त राष्ट्रघाती सम्झौता पारित भएर कार्यान्वयन भएमा नेपाल विदेशी शक्तिको क्रीडास्थल र रणभूमि बन्ने ठहर गर्दै सम्झौता खारेजीको माग गर्दै नेपालका ११ दलको बैठकले असार ९ गते एमसीसीविरुद्ध जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।

सङ्घर्षको घोषणा गर्दै संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा मोहनविक्रम सिंह, महामन्त्री, नेकपा (मसाल), मोहन वैद्य ‘किरण’, महासचिव, नेकपा (क्रान्तिकारी माओवादी), सीपी मैनाली, महासचिव, नेकपा (माले), चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल, अध्यक्ष, देशभक्त जनगणतान्त्रिक मोर्चा, लोकनारायण सुवेदी, सहसंयोजक, नेकपा, गोपाल किराँती, अध्यक्ष, नेकपा (माओवादी केन्द्र), सुवासराज काफ्ले, अध्यक्ष, जनसमाजवादी पार्टी नेपाल, साध्यबहादुर भण्डारी, राष्ट्रिय जनजागरण परिषद् नेपाल, केदारचन्द्र शर्मा, महासचिव, नेकपा (संयुक्त) र गुणराज लोहनी, संयोजक, राष्ट्रिय जागरण मञ्च रहेका छन् ।

एमसीसी नेपालमा लागू गर्नु राष्ट्रघाती कदम भएको भन्दै यसका विरुद्ध विरुद्ध ११ दलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी प्रशासनको रक्षा मन्त्रालयले तयार पारेको ‘हिन्द–प्रशान्त रणनीतिक प्रतिवेदन’ मा आधारित ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ सँग नेपालका विभिन्न सरकारहरूले सम्झौता गर्दै आएका छन् । त्यसलाई अन्तिम रूप दिन संसद्को चालू अधिवेशनबाटै पारित गर्नुपर्ने अमेरिकी निर्देशनलाई कार्यान्वयन गर्न वली सरकार टुप्पीदेखि पैतालासम्मको बल लगाएर लागिपरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको पूर्ण समर्थनको सुनिश्चितताका आधारमा केपी वली यसलाई पारित गराउने दाउमा लागेका छन् । राष्ट्रघाती हुनुका साथै नेपाललाई विदेशी शक्तिको क्रीडास्थल र रणभूमि बनाउने एमसीसी सम्झौताको खारेजीका लागि नेपाली जनता पनि एकताबद्ध भएर सङ्घर्षमा सम्मिलित हुँदै आइरहेका छन् ।’

प्रेस विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ :

अमेरिकी प्रशासनको पेन्टागनले तयार पारेको ‘हिन्द–प्रशान्त रणनीतिक प्रतिवेदन’ मा आधारित ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ सँग नेपालका विभिन्न सरकारहरूले सम्झौता गर्दै आएका छन् । त्यसलाई अन्तिम रूप दिन संसद्को चालू अधिवेशनबाटै पारित गर्नुपर्ने अमेरिकी निर्देशनलाई कार्यान्वयन गर्न वली सरकार टुप्पीदेखि पैतालासम्मको बल लगाएर लागिपरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको पूर्ण समर्थनको सुनिश्चितताका आधारमा केपी वली यसलाई पारित गराउने दाउमा लागेका छन् ।

राष्ट्रघाती हुनुका साथै नेपाललाई विदेशी शक्तिको क्रीडास्थल र रणभूमि बनाउने एमसीसी सम्झौताको खारेजीका लागि नेपाली जनता पनि एकताबद्ध भएर सङ्घर्षमा सम्मिलित हुँदै गइरहेका छन् । ठीक यसै समयमा राष्ट्रिय स्वाधीनताका लागि लड्दै आएका ११ दलको बैठक हालै सम्पन्न भएको छ । बैठकमा आमन्त्रित एमसीसीको विरोधमा सक्रिय मञ्च, अभियानको नेतृत्व र सम्मानित व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो । यो सङ्गीन परिस्थितिमा सम्पन्न यो बैठकले लिएका निर्णयको निकै ठूलो महत्व हुने महसुस गर्दै यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
(१) पहिले सङ्घर्षरत रहँदै आएको १० दलमा अब ‘राष्ट्रिय जागरण मञ्च’ थपिएको छ ।
(२) एमसीसीको खारेजीका लागि सशक्त सङ्घर्षलाई अघि बढाउनका लागि निम्नअनुसारका निर्णय लिइएको छ :
(क) सङ्घर्षलाई केन्द्रित र घनीभूत बनाउनका लागि अन्य सबै विषयलाई थाती राखी यो संसद्को कार्यसूचीबाट यसलाई नहटाउँदासम्म ‘एमसीसीको खारेजी’ लाई एकसूत्रीय माग बनाउने निर्णय गरिएको छ ।
(ख) यसै मुद्दामा केन्द्रित भएर सङ्घर्ष गरिरहेका सबै शक्ति र व्यक्तित्वहरूसँग सङ्घर्षमा तालमेल मिलाई, समन्वय गरी एकताबद्ध रूपमा अघि बढ्ने निर्णय भएको छ ।
(ग) आगामी १० गते हुन लागेको सत्तारूढ नेकपाको स्थायी समितिको बैठक मूलतः एमसीसीलाई संसद्मा पेस गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रित हुने देखिएको छ । अतः आगामी ११ गते बैठक बसी विकसित परिस्थितिमाथि ध्यान दिँदै सङ्घर्षको आगामी योजना तय गरिनेछ ।
(३) एमसीसी सम्झौताको खारेजीका लागि आगामी असार ९ गते काठमाडौँमा विशाल संयुक्त जनप्रदर्शन गरिनेछ । यो जनप्रदर्शनलाई ऐतिहासिक बनाउनका लागि यसमा सामेल हुन सबैलाई आह्वान गरिएको छ ।
(४) असार ९ गते काठमाडौँ उपत्यकाबाहिरका सबै जिल्लामा पनि यसै विषयमा विरोधका संयुक्त कार्यक्रमहरू सञ्चालन गर्न आह्वान गरिएको छ ।
(५) सङ्घर्षका कार्यक्रम :

एमसीसी सम्झौता खारेजीका लागि आगामी असार ९ गते काठमाडौँमा संयुक्त विशाल जनप्रदर्शन ।
स्थान : माइतीघरमण्डला । समय : दिनको ठीक १ बजे ।
असार ९ गते नै देशका सबै जिल्लामा संयुक्त जनप्रदर्शन ।
असार ८ गते नयाँसडकमा ब्यानर प्रदर्शन र विरोध कार्यक्रम । समय : दिनको ४ बजे ।

हस्ताक्षरकर्ताहरू

१.मोहनविक्रम सिंह, महामन्त्री, नेकपा (मसाल)
२. मोहन वैद्य ‘किरण’, महासचिव, नेकपा (क्रान्तिकारी माओवादी)
३. सीपी मैनाली, महासचिव, नेकपा (माले)
४. चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा
५. सीपी गजुरेल, अध्यक्ष, देशभक्त जनगणतान्त्रिक मोर्चा
६. लोकनारायण सुवेदी, सहसंयोजक, नेकपा
७. गोपाल किराँती, अध्यक्ष, नेकपा (माओवादी केन्द्र)
८. सुवासराज काफ्ले, अध्यक्ष, जनसमाजवादी पार्टी नेपाल
९. साध्यबहादुर भण्डारी, राष्ट्रिय जनजागरण परिषद् नेपाल
१०. केदारचन्द्र शर्मा, महासचिव, नेकपा (संयुक्त)
११. गुणराज लोहनी, संयोजक, राष्ट्रिय जागरण मञ्च

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :