दुस्मनले फैलाएको भ्रममा नपर्न नेकपा उपत्यका ब्युरोको आग्रह


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी उपत्यका विशेष ब्युरोले विभिन्न घटनाका सन्दर्भमा प्रेस विज्ञप्ति जारी गर्दै दुस्मन र तिनका खुफिया एजेन्टहरुले फैलाएको भ्रममा नपर्न र क्रान्तिमार्गमा निरन्तर लागिरहन अपिल गरेको छ । ब्युरो इन्चार्ज मिलनले विज्ञप्ति जारी गरी सरकार सबैतिर असफल, बदनाम र षड्यन्त्रकारी साबित भएको पनि बताएका छन् ।

मिलनको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी, उपत्यका विशेष ब्युरोको पछिल्लो राजनीतिक घटनाक्रम, हाम्रो पार्टीमाथि भएका विभिन्न षड्यन्त्र, तिकडम र भ्रमपूर्ण अफवाहहरूप्रति गम्भीर ध्यानाकर्षण भएको छ । त्यसबारेमा पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ । आज पनि सिङ्गो विश्व कोरोना भाइरस ‘कोभिड १९’ को महामारीबाट मुक्त हुन सकिरहेको छैन । आजको मितिसम्म विश्वमा सङ्क्रमितको सङ्ख्या ९०,४४,५४४ र मृत्यु हुनेको सङ्ख्या ४,७०,६६५ पुगेको छ । नेपालको सन्दर्भमा भन्नुपर्दा सङ्क्रमितको सङ्ख्या ९,०२६ र मृत्युको सङ्ख्या २३ पुगिसकेको छ भने विभिन्न मुलुकमा रोजगारीका क्रममा गएका झन्डै सयजना नेपाली नागरिकको कोरोनाकै कारण मृत्यु भइसकेको छ । कोभिड १९ को यसप्रकारको भयावह अवस्थामा पनि वर्तमान केपी नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकार गैरजिम्मेवार, निरीह र नालायक तर्क गर्दै जनतालाई अनावश्यक मृत्युको मुखमा धकेलिरहेको छ । योजनाविहीन लकडाउन, नाम मात्रको क्वारेन्टिन, आवश्यक उपचार सामग्री र चिकित्सकहरूको अभाव, उपचारमा निजी क्षेत्रको दादागिरी, यस्तो मानवीय सङ्कटको घडीमा पनि चरम भ्रष्टाचार र जनतामा आवश्यक सचेतनाको अभावले गर्दा कोभिड १९ भुसको आगोजस्तै फैलिरहेको छ । यस्तो परिवेशमा जनतालाई न उपयुक्त राहतको व्यवस्थापन हुन सकिरहेको छ, न त स्वास्थ्य उपचारको सही व्यवस्थापन नै भएको छ, न विदेशमा छट्पटाइरहेका नेपालीहरूको उद्धार गर्न सकिरहेको छ । सरकारको यस्तो गैरजिम्मेवार, निकम्मा र जनविरोधी कार्यको हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ । साथै सम्पूर्ण तहका न्यायप्रेमी जनसमुदायहरू सचेत, संयमित, अनुशासित र उच्च मनोबलसहित कोरोना महामारीसँग जुध्न अपिल गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘एकातिर कोभिड १९ को महामारी छ भने अर्कोतिर यसैबखत मुलुकमा विभिन्न आततायी, बर्बर र अमानवीय घटना भइरहेका छन् । रुकुम–चौरजहारी घटना, कैललीको क्वारेन्टिनमा महिलामाथिको सामूहिक बलात्कार, सांसद अपहरणकाण्ड, ओम्नी काण्ड, दिनहुँ आत्महत्या गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि हुनु, विदेशमा रहेका नेपाली स्वदेश फर्काउने सन्दर्भमा सामान्य भाडादरमा कैयौँ गुणा वृद्धि गरेर गरिएको घोटाला–भ्रष्टाचार र खुलेआम लुटपाट, एमसीसीजस्तो राष्ट्रघाती परियोजना नेपाल भित्र्याएर नेपालको सार्वभौमिकतालाई धुजाधुजा पार्ने र अमेरिकी सैन्य क्रीडास्थल बनाउने षड्यन्त्रमा राष्ट्रघाती साम्राज्यवादी एजेन्टहरू लाग्नुजस्ता घटना उल्लेख्य छन् । यसप्रकारका राष्ट्रघाती, बर्बर, आततायी र अमानवीय घटनामा संलग्न–दोषीलाई समयमै उचित कारबाही गर्नुको सट्टा विगतमा निर्मला पन्त हत्याकाण्ड, सुनकाण्ड, बालुवाटार जग्गाकाण्ड, वाइडबडी विमानकाण्ड जसरी नै दोषीलाई सरकारी संरक्षणबाटै उन्मुक्ति दिने षड्यन्त्र भइरहेकाले केपी नेतृत्वको सामाजिक फासिवादी सरकारको यसप्रकारको गलत कार्यको घोर भत्र्सना गर्दछ । साथै दलाल र षड्यन्त्रकारी सरकारको यसप्रकारको गैरजिम्मेवार कार्यका विरुद्ध हाम्रो पार्टी डटेर सामना गर्न सम्पूर्ण न्यायप्रेमी, देशभक्त, राष्ट्रप्रेमी र जनप्रेमी समुदायलाई एकताबद्ध भई अघि बढ्न हार्दिक अपिल गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी र गृहमन्त्री बादलकोे नेतृत्वमा रहेको गृह प्रशासन हाम्रो पार्टी र एकीकृत जनक्रान्तिका विरुद्ध सबै प्रकारका षड्यन्त्र गर्दै टुप्पीदेखिको बल लगाएर दमन र षड्यन्त्र गर्ने अभियानमा छ । शान्तिपूर्ण कार्यक्रममा गिरफ्तारीमा परेका नेता तथा कार्यकर्तालाई प्रहरीकै विस्फोटक पदार्थ र थोत्रा हतियारहरू भिराउने र जोर–जबर्जस्ती हस्ताक्षर गर्न लगाउने, झुक्याउँदै फसाउन खोज्ने, आत्मसमर्पण गर्न दबाब दिने, झूट्टा मुद्दा लगाएर देशभरका हिरासत घुमाउनेजस्ता सामान्य लोकतन्त्रको पनि उपहास हुनेगरी घृणित र निर्लज्ज कार्य गरिरहेको कुरा घामजत्तिकै छर्लङ्ग छ । यसको पछिल्लो उदाहरण हाम्रो पार्टीसँग अहिले कुनै पनि सम्बन्ध नै नरहेको श्याम महर्जनको गिरफ्तारीको हवाला दिँदै हाम्रो पार्टीको नाम जोडेर ठूलो परिमाणको विस्फोटक पदार्थ हात पारिएको नाटक मञ्चन गर्नु हो । विगतका दिनमा पनि दलाल सरकारद्वारा कपिलवस्तु, दाङ, सुर्खेत, सुनसरीलगायत जिल्लामा यसप्रकारको भद्दा नाटक प्रदर्शन भइसकेको यथार्थ छर्लङ्ग नै छ । यसप्रकारको मुतेन्यानो हर्कत नगर्न हाम्रो पार्टी सम्बन्धित पक्षलाई खबरदारी गर्न चाहन्छ । साथै सरकारको यसप्रकारको षड्यन्त्रको भ्रममा नपर्न सबै तह र तप्काका जनसमुदायलाई हार्दिक अनुरोध गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘दलाल पुँजीवादी सत्ताले क्रान्तिकारी पार्टी र क्रान्तिकारीहरूका विरुद्ध अन्तिम समयसम्म विभिन्न क्षेत्रमा आफ्ना खुफियाहरू प्रयोग गरेर आफ्नो आयु लम्ब्याउने कार्यहरू ज्वलन्त छन् । पछिल्लो चरण नेपालको पत्रकारिताको क्षेत्रमा घुसेका छद्म–घुसपैठियाहरू, एजेन्टका पनि एजेन्टहरू, सरकारबाट मासिक तलब खाएर परिचालित खुफियाहरू र पार्टीबाट निष्कासित क्रान्तिविरोधी कतिपय भगौडा तत्वहरूलाई समेत प्रयोग गरेर हाम्रो पार्टी र क्रान्तिका विरुद्ध आधारहीन, तथ्यहीन, गलत, भ्रमपूर्ण र अनावश्यक सूचना सम्प्रेषण गर्ने र आफ्नो मालिकलाई खुसी बनाउँदै जनतालाई भ्रम छर्नेजस्ता तल्लो दर्जाको पीत–पत्रकारितामा लागेको देखिएको छ । दुस्मनलाई अनावश्यक सूचना बेचेर खाने तत्वहरू क्रियाशील भएको पाइएको छ । सम्बन्धित सबैलाई यसप्रकारको निर्लज्ज र घृणित कार्यमा नलाग्न हाम्रो पार्टीेका तर्फबाट सचेत पार्न चाहन्छ । एकीकृत जनक्रान्तिको दौरानमा पैदा भएका सबैखाले झारपातलाई नामेट पारेर क्रान्ति अगाडि बढ्ने कुराको विश्वास दिलाउन चाहन्छ र यसप्रकारको खुफिया घुसपैठिया तत्वहरूले सम्प्रेषण गरेका सूचनाको भ्रममा नपर्न हाम्रो पार्टी सबैमा विशेष अनुरोध गर्दछ । विश्व कोभिड १९ को महामारीको चपेटामा परेको सन्दर्भमा हाम्रो पार्टी सबै प्रकारका आक्रामक फौजी कारबाहीहरू बन्द गरेर जनताको सेवामा लागिरहेको कुरा न्यायप्रेमी जनसुमदायलाई अवगत नै छ । अतः यो परिवेशमा पार्टीले कुनै पनि प्रकारको आर्थिक गतिविधिसमेत सञ्चालन नगरिरहेको सन्दर्भमा सरकारकै संरक्षणमा रहेका कतिपय तत्वहरू र पार्टीबाट कारबाहीमा परी निष्कासित गरिएका भगौडाहरूलाई प्रयोग गरेर लुटेरा गतिविधिमा परिचालन गरिएको पाइएको छ । जोर–जबर्जस्ती चन्दा असुली गर्न प्रयत्न गर्ने, उद्योगी–व्यवसायीहरूलाई धम्क्याउने र सहयोगीहरूलाई चिढ्याउनेजस्ता कार्य गरेर हाम्रो पार्टीलाई बदनाम गराउन खोज्ने कार्य भएको बुझिन आएकाले यसप्रकारका गलत र लुटेरा तत्वहरूलाई पार्टीले उपयुक्त समयमा उचित कारबाही गर्ने नै छ । सम्पूर्ण तप्काका सहयोगी मित्रहरू र जनसमुदायलाई यसप्रकारका लुटेरा गतिविधिसँग सचेत रहन हाम्रो पार्टी हार्दिक अपिल गर्दै सम्पूर्ण सहयोगी मित्रहरूलाई पार्टीको आधिकारिक र साङ्गठानिक प्रक्रियामा जोडिनसमेत हार्दिक अपिल गर्दछ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘संसद्ले हालै कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको नेपाली भूभाग समेटेर नेपालको भौगोलिक नक्सा पारित गरेको छ । विभिन्न समयमा भए–गरिएका नेपालको सार्वभौमिकताविरोधी सन्धि–सम्झौताहरू खारेज गर्दै कालापानी क्षेत्रबाट भारतीय सुरक्षा फौज फिर्ता गराउन र भारतीय साम्राज्यवादको कब्जामा रहेको नेपाली भूभाग नेपालकै व्यावहारिक स्वामित्वमा लिन हाम्रो पार्टी जोडदार ध्यानाकर्षण गराउन चाहन्छ । वैज्ञानिक समाजवाद स्थापनाका निम्ति हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सञ्चालित एकीकृत जनक्रान्तिमा सामेल, सहभागिता, सबैखाले सहयोग एवम् ऐक्यबद्धताका लागि सबै तह र तप्काका न्यायप्रेमी जनसमुदाय, श्रमिकवर्ग, राष्ट्रभक्त तथा देशभक्त शक्तिहरू, सुरक्षाकर्मी, पेसाकर्मीलगायत सबैलाई हाम्रो पार्टी विशेष अपिल गर्दछ । साथै वर्तमान जनविरोधी, राष्ट्रविरोधी दलाल केपी वली नेतृत्वको सरकार र त्यसबाट परिचालित हुने राष्ट्रघाती, जनघाती, षड्यन्त्रकारी, खुफिया, लुटेरा तत्वहरूले फैलाएको कुनै पनि भ्रममा नपर्न हाम्रो पार्टी उपत्यका विशेष ब्युरो हार्दिक अपिल गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :