नेकपाले प्रधानमन्त्री वलीलाई पठायो बेसार उपहार


काठमाडौँ : नेकपाले प्रधानमन्त्री केपी वलीलाई बेसार उपहार पठाएको छ । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) मार्फत नेकपा नवलपरासीले प्रधानमन्त्री वलीलाई बेसार उपहार पठाएको नेकपा स्रोतले जनाएको छ ।

उक्त बेसार बुझाउनका लागि किसान महासङ्घको टोली रामग्राम नगरपालिका वडा नं. १४ का अध्यक्ष पारसनाथ चौधरीको कार्यकक्षमा पुगेको थियो ।

नेकपा नवलपरासीले एमसीसीविरुद्धको सङ्घर्षस्वरूप साङ्केतिक रूपमा प्रधानमन्त्री वलीलाई उक्त सामग्री पठाइएको जनाएको छ । वली सरकारले कोरोना सङ्क्रमित जनतालाई औषधीउपचार गर्नुको सट्टा औषधी खरिदप्रक्रियामा उल्टै भ्रष्टाचार गरेको र संसद्मा प्रधानमन्त्री केपी वलीले कोरोनालाई जित्ने औषधी बेसार भएको भन्दै भाषण गरेपछि वलीको सर्वत्र विरोध भएको छ । उक्त कार्यको विरोधस्वरूप नेकपा पाल्पाले बेसार, तातोपानीलगायत सामग्री प्रधानमन्त्री वलीलाई बुझाइएको जनाएको छ ।

नेकपाले एमसीसी सम्झौता र औषधी खरिदमा गरिएको भ्रष्टाचार प्रकरणलगायत विषयमा सङ्घर्ष गर्दै आएको छ । नेकपाले केही दिनअघि एमसीसीविरुद्ध देशव्यापी सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको थियो । उक्त कार्यक्रमअन्तर्गत पर्चा वितरण, पोस्टरिङ, कोणसभा, पुतलादहन, मशाल जुलुस, सम्झौतापत्र जलाउने काम सम्पन्न भएको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :