एमसीसी परियोजना राष्ट्रघाती भएको भन्दै सामाजिक सञ्जालमा सर्वत्र विरोध


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोअन्तर्गत विभिन्न जिल्लाहरूले एमसीसीको विरोधमा सामाजिक सञ्जालमा कालो ब्यानरसहितको नारा राखेका छन् । सामाजिक सञ्जालमा ‘राष्ट्रघाती एमसीसी परियोजना चाहिँदैन, अमेरिकी सेना ल्याउन पाइँदैन !’ नारा लेखिएको कालो ब्यानरमा एमसीसी परियोजनाको लोगोमा रातो क्रस लगाइएको छ ।

सरकारले एमसीसी सम्झौता संसद्बाट पास गर्ने तयारी गरिरहेको भन्दै नेकपाले त्यसका विरुद्ध सङ्घर्ष गर्दै आएको छ ।

जेठ अन्तिम साता नेकपाका महासचिव विप्लवले एमसीसी सम्झौताविरुद्ध साताव्यापी सङ्घर्ष घोषणा गरेका थिए । उक्त कार्यक्रमअन्तर्गत देशका अन्य भूभागहरूमा झैँ लुम्बिनी ब्युरोअन्तर्गतका कपिलवस्तु, रूपन्देही, पाल्पा, नवलपुर, नवलपरासी, अर्घाखाँची, गुल्मीलगायत जिल्लाहरूमा पनि पर्चा वितरण, पोस्टरिङ, मशाल जुलुस, कोणसभा, पुतलादहन, प्रदर्शनलगायत कार्यक्रम सम्पन्न गरिएको थियो ।

एमसीसी सम्झौता सैन्य रणनीतिसित सम्बन्धित रहेकाले संसद्बाट पास भए गम्भीर राष्ट्रघात हुने लुम्बिनी ब्युरोका एक नेताले बताए । उनले यो सम्झौता खारेजीका लागि सम्पूर्ण देशभक्त नेपालीहरूले सङ्घर्ष गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :