किसान महासङ्घले पठायो प्रधानमन्त्री वलीलाई बेसार उपहार


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) कपिलवस्तुले प्रधानमन्त्री केपी वलीलाई बेसार, अदुवा र तातोपानी पठाएको छ । वाणगङ्गा नगरपालिका वडा नं. ३ का अध्यक्ष सन्तराम रोतारलाई महासङ्घ (क्रान्तिकारी) लुम्बिनी ब्युरोको संयोजक सेवक सिंहको नेतृत्वमा गएको टोलीले बेसारलगायत सामग्री बुझाएको हो । उक्त सामग्री जिल्ला अध्यक्ष गल्फासले बुझाएको समाचारमा जनाइएको छ ।

त्यसैगरी कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. १ र २ का अध्यक्षमार्फत प्रधानमन्त्री वलीलाई बेसारलगायत सामग्री पठाइएको बताइएको छ । आइतबार उक्त गाउँपालिकाअन्तर्गत रहेको वडा नं. १ का अध्यक्ष इन्द्र थारू र वडा नं. २ का अध्यक्ष नेपाल थारूमार्फत महासङ्घले एमसीसीको विरोधस्वरूप प्रतीकात्मक रूपमा प्रधानमन्त्री वलीलाई बेसार, अदुवा र तातोपानी पठाएको हो ।

किसान महासङ्घ ब्युरो संयोजक सेवकसिंह, कपिलवस्तुका अध्यक्ष गल्फास, तिलक कवरले केपी वली नेतृत्वको सरकारले संसद्बाट राष्ट्रघाती एमसीसी सम्झौता पास गर्न खोजेको भन्दै त्यसको विरोधस्वरूप साङ्केतिक रूपमा बेसार, अदुवा र तातोपानी प्रधानमन्त्रीलाई पठाइएको बताएका छन् । उनीहरूले एमसीसी परियोजना कुनै हालतमा पनि संसद्बाट पास गर्न नदिन सङ्घर्ष गर्नुपरेको बताए । उक्त बेसार, अदुवा र तातोपानी लिएर किसानहरूसहित किसान महासङ्घ (क्रान्तिकारी) सम्बद्ध नेता–कार्यकर्ताहरू कार्यालयमा पुगेका थिए ।

नेकपाले लुम्बिनीमा यसअघि एमसीसी परियोजनाविरुद्ध चरणबद्ध सङ्घर्ष गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :