दास विद्रोहको नयाँ चरण


कोरोना जीवाणु महामारीको प्रारम्भिक चरणमा नै विश्वव्यवस्था भाबी दिनमा कसरी जाला भनेर समाजशस्त्रीहरूले अनेक अड्कल गरेका थिए । त्यो क्रम जारी छ र अझै गहिरिँदै गइरहेको छ । अमेरिका, युरोप हुँदै एक साताभित्रै नेपालमा पूर्वानुमान नगरिएका परिदृश्यहरू देखिन थालेका छन् । यसको पृष्ठभागमा केही विरासत, केही वर्तमान र केही संयोग (कोरोना कहर) जिम्मेवार देखिन्छन् । समग्र विश्व नै अस्थिर भएको छ । स्थिर विश्व र अझै स्वतन्त्र समाजको दिशामा विश्व प्रवाह हुनेछ तर बलिदान कति होला ? त्यो अहिल्यै भन्न सकिन्न ।

युरोप र अमेरिका भौतिक विकासको उच्च चरणमा पुगेर स्थिर भएका छन् । भौतिक विकास र समृद्धिको आधार औपनिवेशिकता हो । अब बेलायतले भारतबाट लरी भरेर भारतबाट सुन र हीरा लैजान सक्दैन । अमेरिकाले अफ्रिकाबाट दासहरू ल्याएर उखु, चिया, कफी उत्पादन गर्न सक्दैन । एसियाको प्रचुर कच्चा पदार्थ कब्जा गर्न प्रथम र दोस्रो विश्वयुद्धमा जसरी हतियार र फौजी श्रेष्ठता छैन । आणविक हतियारमा अमेरिका र युरोपको एकाधिकार तोडिएको छ जसको कारण कमजोर आर्थिक अवस्था र न्यून स्रोत भएको जनवादी जनगणतन्त्र कोरियाले विश्वशक्ति भनिएको अमेरिकालाई खुम्चन बाध्य पारेको छ । कोरियाले जापानलाई समुद्रमुनि डुबाउने धम्की दिँदा, ट्रम्पलाई कोरियाली नेताले आफ्नो टेबुलमा आणविक बमको नियन्त्रण (स्विच) भएको चेतावनी दिँदा पनि निरूपाय भएका छन् । चीन, रुस, भारत, ब्राजिल र ‘एसियाली टाइगर’ भनिएका दक्षिणपूर्वी एसियाली देश मात्र होइन, अरेबियन देशहरू पनि नयाँ ध्रुवीकरणमा छन् जसको कारण एसिया र अफ्रिकालाई लुटेर निर्माण गरिएको युरोप र अमेरिकी सभ्यता र विश्वव्यवस्था धर्मराउन थालेको छ । तिनीहरू पुरानै तरिकाले अस्तित्व धान्न नसक्ने अवस्थामा छन् । समस्या बल्झिँदै गएको देखिन्छ ।

साम्यवादको उदयपछि त्यसको प्रवाहलाई रोक्नु पुँजीवादले मूलतः युरोपले लोककल्याणकारी राज्यप्रणाली अवलम्बन ग¥यो । शिक्षा, स्वास्थ्य, रोजगार, बेरोजगार भत्ता, ज्येष्ठ नागरिक र बच्चाको सुरक्षा, महिलाअधिकारमा राज्यले लगानी ग¥यो जसको कारण ‘विकासका लागि समाजवाद अनिवार्य छ र !’ भन्ने बहस चल्यो तर यो अवस्था धेरै दिन रहेन । जब सन् १९९० मा बर्लिनको पर्खाल ढल्यो र सोभियत सङ्घको विघटन तथा चीनमा देङ स्याओ पिङको उदयपछि पुँजीवादले आफूलाई दिग्विजयी ठान्यो, विश्वव्यवस्थामा प्रतिपक्ष देखिएन तब पुँजीवादले दुईदलीय तानाशाही व्यवस्था क्रूर बनाउँदै सन् १९१७ को अगाडि पु¥यायो । लोककल्याणका क्षेत्रमा लगानी घटाउन थालियो । विश्व बैङ्क, एसियाली विकास बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वभरि अनुदान, लोककल्याण र मानवहितमा लागनी नगर्न दबाब दिन थाले । त्यसका विरुद्ध अनेक विद्रोही भुल्काहरू उठ्दै, निभ्दै गरेका थिए । यस्तो अवस्थालाई अमेरिकी बौद्धिक तथा लेखक नोम चोम्स्कीले ‘दुईवटा बहुराष्ट्रिय निगमको तानाशाही’ भनेका छन् । दुईदलीय व्यवस्था यथार्थमा केही ‘कर्पोरेट हाउस’ का रबरछाप थिए र छन् । त्यसप्रकारको अवस्थालाई कोरोना जीवाणु महामारीले उत्कर्षतिर धकेलेको छ ।

अमेरिकाले अर्बौं डलर अन्तरिक्षमा खर्चिएको छ । विश्वभरि हतियार र फौज निर्यात गरेको छ । यो एउटा अमेरिकी यथार्थ हो । अमेरिकामा अर्को दुर्दान्त कथा व्यथा बोकेको अमेरिका पनि छ । बेरोजगार, भोकानाङ्गा र जातीय उत्पीडनमा परेको अर्को अमेरिका पनि यथार्थ हो । अमेरिका लामो समयदेखि शिक्षा, स्वास्थ्य, रोजगार र रङ्गभेदबाट उकुसमुकुस थियो । जुल्फिकर अलि भुट्टोको फाँसीलाई लिएर नेपालमा २०३६ सालमा भएको सामान्य घटना विस्फोट भएर जनमत सङ्ग्रहसम्म विस्तार भएझैँ अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोइडको राक्षसी शैलीको हत्यालाई लिएर किङ मार्टिन लुथर हत्यापछिको ठूलो विद्रोह भएको छ । अमेरिकी रङ्गभेदविरोधी विद्रोह स्पेन, अस्ट्रेलिया, फ्रान्स हुँदै बेलायतसम्म विस्तार भएको छ । त्यसका बाछिटा नेपालसम्म प्रकट भएका छन् । भूमण्डलीकृत विश्वमा यसो हुनु अनिवार्य छ ।

रङ्गभेदको द्वन्द्व बढ्दै जाँदा अमेरिका लामो गृहयुद्धमा फसेको थियो । अमेरिका ‘रेड इन्डियन’ भनिने आदिबासी, उखु, चिया र कफी खेतीका लागि अफ्रिकाबाट ल्याइएका दासहरू र युरोपबाट आएका आप्रवासी मिलेर बनेको समाज हो । युरोपबाट अमेरिका पुगेका गोरा युरोपियनहरूले आदिवासी र अफ्रिकी मूलका नागरिकमाथि मध्ययुगीन बर्बर अत्याचार गरेका थिए । त्यसका विरुद्ध प्रतिरोध बढ्दै जाँदा अमेरिका लामो गृहयुद्धमा फस्यो । लोकतान्त्रिक संविधानले गृहयुद्धलाई साम्य पा¥यो तर व्यवहारमा लोकतन्त्र आएन । सत्ता कब्जा गरेर बसेको गोरा कुलीन वर्गले उत्पीडन जारी राख्यो । दासमालिक र गृहयुद्धका अपराधीहरूको सालिक ठड्याइयो । उनीहरूको सौन्दर्यीकरण गरियो । गोराहरू नै सत्ताको हर्ताकर्ता हुनुले अमेरिकी वैचारिक सत्ता (दृष्टिकोण) दासकालीन रहिरहेको छ जसले गर्दा अमेरिकी संविधानले रङ्गभेद मान्दैन तर गोरो सत्ताले रङ्गभेद छोडेको छैन । अमेरिकामा विश्वभरिका शरणार्थी, डीभी भरेर लगिएकाहरू, विश्वका ‘ग्रिनकार्ड होल्डरहरू’ दासका रूपमा रहिरहेका छन् । दासहरूलाई निश्चित मालिकले बेचबिखन गर्थे । आज कानुनले समान हक दिएका तर व्यवहारमा दास नै रहेको वर्गले दासमालिक बदल्न सक्छ । दासमालिक आफूखुसी बदल्ने अधिकार छ तर बेचिन बाध्य छन् । वित्तीय र व्यावहारिक साङ्लोले बाँधिन बाध्य छन् । उसबेला फलामको साङ्लोले बाँधिन्थे । नयाँ शैलीको दासप्रथाका विरुद्ध अमेरिकीहरू विद्रोहमा उत्रिएका छन् । नयाँ प्रकारको दासप्रथा युरोपमा कायम छ । हिजो अफ्रिकाबाट लुटेर पानीजहाजबाट ल्याइन्थे । आज शरणार्थी बनाएर ल्याइन्छन् । आफ्नै देशमा दासहरू बढाइरहेका छन् जसका विरुद्ध युरोपभरि विद्रोहको झिल्का देखिन थालेको छ ।

नेपालमा दासमालिक जुद्धशमशेरको सालिक स्वतन्त्र नागरिकलाई ललकार्दै ठडिएको छ । जुद्धशमशेरका उत्तराधिकारी केपी वलीहरूले जनतालाई अरब र भारतमा निर्यात गरिरहेका छन् । प्रवासी नेपाली मालिक फेर्न स्वतन्त्र आधुनिक दासको अवस्थामा छन् । आधुनिक दासको विप्रेषणबाट शासकहरू आफ्नी प्रेमिकाको लागि सुनको कोपरा किनिरहेका छन् । त्यसप्रकारको अवस्थाका कारण नेपाली जनमत बिथोलिएको अवस्था छ ।

प्रम वली र उनका सुसारे–धाईमण्डली कोरोनामा राजनीति मिसावट भएको हल्ला गर्दैछन् । कोरोना जीवाणुमा राजनीति होइन, भ्रष्टाचार र निरङ्कुशता मिसिएको हो । कोरोना जीवाणुमा मिसिएको भ्रष्टाचार र निरङ्कुशता झिकेर फाल्न राजनीति प्रवेश गराउन ढिलो भएको थियो । अमेरिकाका अश्वेत जर्ज फ्लोइड हत्याकाण्डले विश्वभरि नयाँ जागरण सिर्जना गरेको छ र युवाहरू ‘सामाजिक सञ्जाल पार्टी’ गठन गरेर विद्रोहमा उत्रिएका छन् । प्रम वलीसमूह धम्कीको भाषा बोलिरहेको छ र स्वयम् वलीको बोली र भङ्गिमा हेर्दा उनमा गहिरो मानसिक असन्तुलन देखिन्छ ।

कोरोना जीवाणु महामारीले धेरै विषयलाई उदाङ्गो पारिदिएको छ । राज्य नियन्त्रित अर्थव्यवस्था भएका, लोककल्याणकारी व्यवस्था भएका र नागरिक जबाफदेही भएका देशहरूले महामारीलाई सापेक्षिक रूपले सहज व्यवस्थापन गरेका छन् । चीन, कोरिया, जापान, नेदरल्याण्ड, नर्वे, स्विट्जरल्यान्ड त्यसका उदाहरण हुन् । तर मुठीभर धनाढ्य भएका खोक्रो राज्यप्रणालीवाला देशहरूको अवस्था उदाङ्गो भएको छ । अमेरिका, भारतजस्ता देशहरूको अवस्था उदाङ्गो भएको छ । अमेरिका, भारतजस्ता देशहरूको खोक्रोपन उदाङ्गिएको छ । भारतमा फोहोरको थुप्रोमा लासहरू फालिएका, उपचार नगरिएरै सयौँ नागरिक मरेको यथार्थ भारतको सर्वोच्च अदालतले उजागर गरेको छ । अमेरिकाको त्यस्तै अवस्था छ । वलीहरू रोगको लक्षण नभएकालाई जाँच नगरी घर पठाउने र विश्वकै त्यही चलन छ भन्छन् । तर एकै दिन १ लाख मान्छेको पीसीआर जाँच गरेको चाहिँ देख्दैनन् । इटालीले असहायको घरघरमा खाना पु¥याएको देख्दैनन् । कतारले जाँच र यात्रा खर्च आफैँले दिँदा वली सरकार दोब्बर भाग माग्छ आफ्नै नागरिकबाट । स्थानीय निकायले केन्द्रबाट सहयोग नभएको दुखेसो गरिरहेका छन् । मेयरको कुरा सही कि वलीको ? भ्रष्टाचारी स्थानीय निकाय कि केन्द्र सरकार ? आफ्नो भ्रष्टाचारी अनुहार छोप्न निर्वाचित तानाशाहहरू कम्मर कसेर लागेका छन् ।

कोरोना महामारीका कारण विश्वव्यवस्थामा प्रश्न उठेको छ । अमेरिका, भारत, बेलायतजस्ता पुँजीवादका हस्तीहरू आन्तरिक लोकतन्त्र कायम गर्न नसक्ने र अर्थतन्त्र खुम्चिँदै जाने अवस्थामा छन् । त्यसले उनीहरूलाई अस्तित्वरक्षार्थ सैन्यवादको निर्विकल्पतातिर धकेल्न सक्छ । त्यसले देशभित्र फासिवाद र बाहिर सैन्यीकरणलाई प्रोत्साहित गर्छ । अमेरिकाले चीनमाथि आर्थिक नाकाबन्दी लगाउन सक्ने धम्की दिइरहेको छ । त्यसप्रकारको धम्की युद्धकै धम्की हो । त्यसले विश्वभरि ध्रुवीकरण अझ बढाउनेछ । अमेरिकाका लागि चीन र रुसका विरुद्ध मोर्चा कस्ने स्थितिमा युरोप छैन र बुढो युरोपले त्यसप्रकारको तागत पनि गुमाइसकेको अवस्था छ । कोरोना जीवाणु महामारीले विश्वमा भयङ्कर मन्दी आउने र त्यसको सुरुआत भइसकेको सङ्केत विश्व बैङ्कले गरिसकेको छ । सेयर बजार ओरालो लागेको छ । बेरोजगारी उच्च दरमा वृद्धि भइरहेको छ । जनताको क्रयशक्ति ह्रास भएको छ । कमजोर अर्थव्यवस्था भएका देशहरू शक्ति देशहरूको चेपुवामा पर्दै जानेछन् । बीआरआई र एमसीसी विवाद त्यसैको सुरुआत हो । अमेरिकी नेतृत्वको नवऔपनिवेशिक विश्वव्यवस्था चल्न नसक्ने भएको छ । अब नयाँ औपनिवेशिक प्रणाली अस्तित्वमा आउन खोज्दैछ । एमसीसी ‘स्वऔपनिवेशिक’ विश्व व्यवस्थाको प्रारम्भ हो । यो नयाँ प्रकृतिको सैन्य गठबन्धन पनि हो । चीनको बीआरआईलाई पनि त्यसरी नै हेर्न थालिएको छ । पाकिस्तान र श्रीलङ्का मात्र होइन, लिपुलेक सम्बन्धमा चीन र भारतबीचमा भएको दुईदेशीय पर्यटन तथा व्यापार मार्ग बनाउने सहमतिलाई बीआरआई रणनीतिको चस्माले हेरिएको छ । भारत–चीनबीच सन् २०१५ मा भएको त्यससम्बन्धी सहमति एमसीसीभन्दा फरक छैन । चीन सरकार नियन्त्रित समाचारले उठाएको सगरमाथा विवाद मानवीय कमजोरी मात्र थिएन । यद्यपि बीआरआईभन्दा एमसीसी बढी खतरनाक देखिन्छ ।

यसरी विश्व नयाँ रूप र शैलीमा कायम दासप्रथाका विरुद्ध उभिएको छ । कोरोना जीवाणु महामारीले त्यसप्रकारको नवजागरणमा नयाँ गति थपेको छ । श्रमिक वर्गका लागि गुमाउन केही छैन । यो पुँजीवादको सङ्कट हो । पुँजीवादले आफ्नो सङ्कटलाई युद्धद्वारा समाधान गर्न खोज्छ । श्रमिक वर्गले समाजवादी क्रान्तिद्वारा सङ्कटको निकास खोज्नुपर्छ । त्यसका निम्ति भूमण्डलीकृत स्वरूपको खोजी र तयारी आवश्यक छ । शिक्षा, यातायात, सञ्चारमा तीव्र विकास र भूमण्डलीकृत विश्वका कारण नेपाली समाजको आमसमाजिक चेतनामा गुणात्मक परिवर्तन भएको छ । शासकहरू लोकतन्त्र र समाजवादको कुरा गर्छन् तर व्यवहार घोर सामन्ती छ । अझ यसो भन्न सकिन्छ– विकसित उत्पादक शक्ति र पछौटे उत्पादन सम्बन्ध नै नेपाली समाजको प्रधान र मुख्य अन्तरविरोध हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :