मेरी आमा मोतीमाया

(बेपत्ता योद्धा पूर्ण पौडेलप्रति समर्पित)

राखेर नौ महिनासम्म कोखमा
पियाएर दस धारा दूध
सिकायौ हिँड्न टुकुटुकु, भन्दै तातेताते
सिकायौ बचेरालाईझैँ टिप्न आहारा
संसार चिन्नुपर्छ मेरो बाबुले भन्दै
लगायौ क–ख सिक्न
बेरेर मीठो मातृवात्सल्यको ममतामा
सिकायौ चुम्न भविष्यको सुन्दर सपना
त्यसैले त महान् छ्यौ तिमी
मेरी आमा मोतीमाया ।

अभाव र गरिबीले लत्याएको तिम्रो मुहारमा
भरिँदै थियो उज्यालो हाम्रो हुर्काइ र पढाइको प्रगतिले
धावा बोल्दा अन्याय र असमानताविरुद्ध
पञ्चायती कालरात्रीमा
पाएको थिएँ रेस्टिकेटको न्यानो उपहार स्कुलबाट
त्यसले तिमीलाई पारेको धक्का
तिम्रो मुहारमा लागेको औँसीले बताउँथ्यो आमा
तैपनि हारिनौ हिम्मत तिमीले
किनकि
तिमी नै थियौ
न्याय र समानताको पाठ सिकाउने
मेरो पहिलो पाठशाला
त्यसैले त तिमी महान् छ्यौ
मेरी आमा मोतीमाया ।

लत्याउँदै तिम्रो डाक्टर बनाउने सपना
म बन्दा रोगी समाजको शल्यचिकित्सक
भुलेको थिइनँ मैले तिम्रा आँखामा छचल्किएको आँसु
आततायी सत्ताका रखवाला राक्षसहरुले बारम्बार
आतङ्ककारी छोरो देखा भन्दै
ताकिरहँदा पनि कन्चटमा पेस्तोल
तिम्रो आँटिलो जबाफको बज्रमुक्काले
प्रशासन नतमस्तक भई फर्केको खबर सुन्दा
गर्वले छाती फुल्थ्यो आमा युद्धमोर्चामा
बर्सौंवर्ष भेट नहुँदा पनि
एउटै खबरको भरमा
उभियौ दरिलो खम्बा बनेर मेरा हरपाइलामा
त्यसैले त तिमी महान् छ्यौ
मेरी आमा मोतीमाया ।

जनयुद्धको सुन्दर फूल फुलाउँदा यो क्रान्तिकारी धर्तीमा
विषालु फौजी कीराहरूको आक्रमण हुन्थ्यो आमा
डस्न आउँथ्यो बगैँचाका मालीहरूलाई गोमनसत्ता
फिँजाउँदै विषालु फणा
अरू सहयोद्धाहरूसँगै म पनि परेँ आमा
त्यही विषालु डसाइमा !
मृत्युपत्रमा हस्ताक्षर गरेको म
उत्तीर्ण भएँ यातनाका हरेक अग्निपरीक्षामा
हरपरीक्षामा डिस्टिङ्सन ल्याउँदा
विचार फक्रियो, शरीर झन् इस्पात भयो आमा
त्यो सबै थियो तिम्रो पाठशालाको कमाल आमा
त्यसैले त तिमी महान् छ्यौ
मेरी आमा मोतीमाया ।

मुजैमुजा परेको तिम्रो अनुहारको बुढ्यौलीले पनि
मत्थर पार्न सकेन मलाई खोज्ने तिम्रो गति
मेरो खोजीमा उठायौ अनेक अप्ठ्यारा र जोखिम
तर भेट हुने र न्याना हातहरूले
मेरो अधर चुम्ने तिम्रो सपना अधुरै रह्यो आमा
आए नि आउन त सत्तामा, धेरै नेता आए र
बारम्बार खोजी भइरहेको डम्फु पनि बजाए
तर सबैसबैले निराश र आक्रोशित मात्र बनाए
तर पनि आएन तिम्रो हिम्मतमा रत्तिरभर कमी
त्यसैले त तिमी महान् छ्यौ
मेरी आमा मोतीमाया ।

लामो यात्राका पथिकहरूलाई
छहारी दिने चौतारी हौ तिमी
गर्व गथ्र्यौ खुलेरै हजारौँ छोराछोरी पाएकोमा
तर !
तर भुलेर हाम्रा सुन्दर सपना उनीहरूले
अहिले फेरेका छन् रे बाटो
ह्विस्की र ब्रान्डी पिएर
करोडौँको महल र लाखौँको पलङमा
मस्त निदाउँछन् रे सपनाका काला व्यापारीहरू
पैसा र जवानीको उन्मादमा
धाउँछन् रे डान्सबार र डिस्को
हिँडिरहेका छन् रे उल्टो यात्रा
यस्तै त हुन्छ जनताको साथ छोडेपछि
र भ्रष्ट–दलालसँग नाता जोडेपछि !
गरेकी छ्यौ रे सम्बन्धविच्छेद
बिग्रेकाहरूसँग जान सकिँदैन सती भनेर
त्यसैले त तिमी महान् छ्यौ
मेरी आमा मोतीमाया ।

प्रतिक्रान्तिका हुँडरहरू खोज्दै र
मुर्छित सपनाहरू ब्युँझाउँदै
गर्दैछन् नवीन यात्राको सुरुआत फेरि पनि
क्रान्तिकारी यायावरका लावालस्कर
मेरी उनी त्यही यात्रामा, म उनीसँगै
तिम्रो आशीर्वाद शिरमाथि राखेर
निकाल्दै क्रान्तिकारी हुँकार र बजाउँदै विप्लवी धुन
लम्किरहेका छन् सुनौलो बिहानीको यात्रामा
त्यसैले त तिमी महान् छ्यौ
मेरी आमा मोतीमाया
हाम्री आमा मोतीमाया ।

२५ जेठ, २०७७ ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!