छोराको सम्झनामा

कविता

आशा थियौ, माया थियौ मेरो छोरा तिमी
भर्खरको युवा जोस हिँड्यौ जोश बोकी
लडाइँमा लागे युवा बोकी लालझन्डा
तिमी पनि गयौ लड्न मलाई एक्लै छोडी ।

असारको महिनामा चट्याङ ठूलो प¥यो
बिहानीको मिर्मिरेमै मेरो माया खोस्यो
राक्षस हुन् कि दुस्मन हुन् कि अँध्यारोमै आए
मुटुजस्तो मेरो छोरो घिच्याउँदै लगे ।

बेपत्ता भो मेरो छोरो नेता दरबार छिरे
जनयुद्ध बिर्सिएर महल खडा गरे
लत्याएर सहिदका सपना र त्याग
धनयुद्ध गर्न थाले कमान्डरले आज ।
इच्छा पूरा गर्छौं भन्थे बेपत्ता योद्धाका
लौरो मात्र बने युवा धोका भयो सारा
चाहिँदैन अरू केही सन्तान देखाइदेऊ
जिउँदा छन् कि मारिसक्यौ सत्य बताइदेऊ ।
को हो लुट्ने हाम्रा सन्तान थाहा पाएका छौँ
बघिनी हौँ हामी आमा त्यसै कहाँ बस्छौँ
अरू इच्छा केही छैन सन्तान भेट्ने मन छ
आँट भए भनिदेऊ मेरो छोरो काँ छ ?

शान्ता भण्डारी (बेपत्ता योद्धा विपीन भण्डारीकी आमा)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :