राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध असार ५ गते देशव्यापी प्रदर्शन हुँदै

काठमाडौँ : राष्ट्रघाती अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको संसदबाट पारित गर्ने सरकारी कदमका विरुद्ध नेकपाले असार ५ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ । नेकपा केन्द्रीय कार्यालय स्रोतका अनुसार नेकपा निकट विभिन्न जनवर्गीय सङ्गठनको आयोजनामा असार ५ गते देशैभर विरोध प्रदर्शन हुन लागेको हो ।

एमसीसीविरुद्ध यसअघि नै पर्चा, पम्प्लेटिङ, कोणसभा, मशाल जुलुस, पुतला जलाउने, गोष्ठी, अन्तरक्रियालगायत विभिन्न किसिमका आन्दोलन गरिसकेको नेकपाले एमसीसी परियोजनाका विरुद्ध र राष्ट्रियता रक्षाका पक्षमा एक हुन सम्पूर्ण देशभक्त, क्रान्तिकारी, वामपन्थी, राष्ट्रवादी, बुद्धिजीवी र जनसमुदायहरूलाई आग्रहसमेत गरेको छ ।

अमेरिकी परियोजना एमसीसी नेपालको हितविरुद्ध भएको र उक्त परियोजना संसदबाट पारित भई लागू भए नेपाल पराधीन बन्ने भन्दै उक्त परियोजना पारित नगर्न सरकारमाथि चौतर्फी दबाब भैरहेको छ । अमेरिकी परियोजना एमसीसी नेपालमा लागू भए नेपाली भूमि दुरुपयोग गरेर अमेरिकाले नेपालको राष्ट्रियता र सार्वभौमसत्ताविरुद्ध गतिविधि गर्ने, चीनविरोधी गतिविधि गर्ने खतरा बढ्ने नेकपाको निष्कर्ष छ । सरकारी पार्टीभित्रै पनि एमसीसीविरुद्ध चर्को आवाज उठिरहेको छ । सरकारी नेकपाले बनाएको एमसीसी अध्ययन कार्यदलले उक्त सम्झौता कार्यान्वयन गर्नु नहुने सुझाव दिएको थियो तर प्रधानमन्त्री केपी वली र संसद्को प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले संसदबाट एमसीसी पारित गर्ने निर्णय गरिसकेका छन् । केपी वली र शेरबहादुर देउवा जनमतविरुद्ध एमसीसी पारित गराएरै छोड्ने हठमा छन् ।

एमसीसी परियोजना नेपालको संसदबाट पास गरिएमा नेपालको सार्वभौमिकता गुम्ने र विदेशी र विशेषगरी अमेरिकी साम्राज्यवादको युद्धस्थल बन्ने भन्दै नेकपालगायत विभिन्न राजनीतिक पार्टी र अन्य देशभक्त शक्तिहरूले आवाज उठाइरहेका छन् ।

नेकपाका महासचिव विप्लवले वक्तव्य जारी गरी एमसीसीजस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन संसदवादी दलहरूलाई चेतावनी दिँदै देशव्यापी आन्दोलन घोषणा गरेका थिए । गत जेठ १८ गते घोषित आन्दोलनअनुसार देशभर पर्चा, पम्प्लेटिङ, मशाल जुलुस, कोणसभा, एमसीसी सम्झौता जलाउने, केपी र शेरबहादुर देउवाको पुतला जलाउने कार्यक्रम सम्पन्न भइसकेका छन् भने यही ५ गते देशव्यापी प्रदर्शन हुँदैछ ।

एमसीसीविरुद्ध आन्दोलन घोषणा गर्दै नेकपा महासचिव विप्लवले भनेका थिए, ‘नेपालका आमनागरिक, देशभक्त, बुद्धिजीवी र राजनीतिक पार्टीहरूले निरन्तर विरोध गर्दै रोकिँदै आएको अमेरिकी अतिक्रमणकारी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई केपी सरकारले नेपाली काङ्ग्रेसको समर्थनमा संसदबाट पास गर्न खोजिरहेको विषयप्रति हाम्रो पार्टीको ध्यान गम्भीर प्रकारले आकर्षित भएको छ । एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा अत्यधिक जनमत पास गर्नु हुँदैन भन्नेमा देखापरेको छ । त्यसैगरी कयौँ राजनीतिक पार्टी र व्यक्तित्वहरूले पनि त्यसका विरुद्ध सङ्घर्ष गरिरहेका छन् । यसप्रति हाम्रो पार्टी खुसी व्यक्त गर्दछ । सरकारी नेकपाभित्र पनि पास गर्नु हुँदैन भन्ने पक्ष देखापर्नुलाई पार्टीले सकारात्मक महत्वका रूपमा लिएको छ । हामी एमसीसी सम्झौता सम्पूर्ण रूपले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्धमा रहेको स्थितिमा उक्त सम्झौतालाई कुनै पनि हालतमा संसदबाट पास नगर्न विशेष रूपले आग्रह गर्दछौँ । साथै सरकारी नेकपालाई यस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन आग्रह गर्दछौँ ।’

एमसीसीविरुद्ध वक्तव्य प्रकाशित गर्दै पार्टी महासचिव विप्लवले भनेका थिए, ‘हामी एमसीसी सम्झौताले अमेरिका–नेपाल सम्बन्धमा समेत गम्भीर नकारात्मक परिणाम ल्याउने भएकाले अमेरिकी सरकारलाई पनि यो सम्झौता नेपालमा नलाद्न र नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप नगर्न आग्रह गर्दछौँ । यदि जनमतविपरीत एमसीसी पास गरिएमा नेपाली देशभक्त आमनागरिक, बुद्धिजीवी, राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा अविलम्ब सशक्त प्रतिरोधमा उत्रन अनुरोध गर्दछौँ । साथै नेपाल कम्युनिस्ट पार्टीले सशक्त प्रतिरोध गर्ने चेतावनी पनि दिन चाहन्छ । त्यसबाट पैदा हुने परिस्थितिको जिम्मेवार सरकार, संसद् र अनुमोदन गर्ने पार्टीहरू हुनुपर्ने पनि स्पष्ट गर्दछ ।’

स्मरणीय छ, नेकपाका कयौँ जिल्ला समितिहरूले समेत एमसीसी पारित गरेमा सांसदहरूलाई जिल्ला प्रवेश गर्न नदिने निर्णय सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :