नेकपा र युवा सङ्गठन असहायको घर निर्माणमा सघाउँदै

काठमाडाैँ : दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ भलानेटीमा विभिन्न व्यक्तिहरूको घरमा बसी गुजारा चलाउँदै आएका वयोवृद्ध, असहाय तथा अपाङ्गसमेत रहेका चन्द्रबहादुर सुनार र चनमती सुनारदम्पतीको आवास निर्माण कार्यमा सघाउन युवा सङ्गठन नेपाल दाङले जनश्रमदान गरेको छ ।

उक्त कार्यमा युवा सङ्गठन नेपालका ब्युरो इन्चार्ज अनिल, सङ्गठनका केन्द्रीय सदस्य वीरेन्द्र, जिल्ला अध्यक्ष मनोजलगायत युवाहरूको सहभागिता रहेको छ ।

चन्द्रबहादुर सुनार उमेरले सहत्तर वर्ष पार गरिसकेका छन् भने उनकी श्रीमती हिँडडुल गर्न नसक्ने अपाङ्ग छिन् । न उनीहरूको घर छ, न जग्गा, न त साथमा छोराछोरी नै छन् । उनीहरू हाल विभिन्न व्यक्तिहरूको घरमा बस्दै कष्टकर जीवन बिताइरहेका छन् । अहिले सुनारदम्पती रेमन्त विकको घरमा बसिरहेका छन् । उक्त घर खरको छानो, पानी चुहिने र भत्किने अवस्थामा पुगेको थाहा पाएपछि नेपाल कम्युनिस्ट पार्टी दाङको पहल र स्थानीयको सहयोगमा दुईकोठे भवन निर्माणकार्य हुँदैछ । उक्त भवन निर्माणका लागि युवा सङ्गठन नेपाल दाङले अन्य विभिन्न सहयोग गर्दै पनि आएको छ ।

भवन निर्माणकार्यमा विभिन्न सहयोगीहरूबाट नगद, जिन्सी, श्रम सहयोग हुँदै आएको जानकारी आवास निर्माणमा अगुवाइ गर्दै आएका नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सदस्य जनक विकले दिए । भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको र सहयोगी दाताहरूको विस्तृत विवरण निर्माणकार्य सम्पन्न भैसकेपछि सार्वजनिक गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :