रुकुममा दलित युवकको सामूहिक हत्या र अमेरिकामा अश्वेत युवकको हत्याकाण्डविरुद्ध दाङमा भव्य प्रदर्शन र सभा


काठमाडौँ : पश्चिम रुकुममा भएको जातीय नरसंहार र अमेरिकामा श्वेत प्रहरीद्वारा अश्वेत युवकलाई हत्या गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल दाङले तुलसीपुरमा प्रदर्शन तथा सभा गरेको छ ।

रुकुम हत्याकाण्ड भएको तीन साताभन्दा बढी समय बितिसक्दा पनि घटनामा संलग्न सबै दोषीलाई गिरफ्तार नगरिएकाले गिरफ्तार गर्न र गिरफ्तार दोषीहरूलाई जन्मकैदको सजायको माग गर्दै युवा सङ्गठन नेपाल दाङले विरोध प्रदर्शन तथा सभा गरेको हो ।

स्थानीय जनताको सहभागितामा भएको कार्यक्रममा उक्त घटनाका घाइतेहरूको सुरक्षाको ग्यारेन्टी र न्यायको पनि माग गरिएको छ । पूर्वयोजना अनुरुप सुनियोजित ढङ्गले नरसंहार भएको भन्दै कुनै पनि दोषी उम्कन नहुने र कुनै पनि प्रकारको राजनीतिक प्रभावभन्दा माथिबाट सत्यताका आधारमा दोषीहरूउपर कानुनी कारबाहीको माग गरिएको छ । कार्यक्रममा घटनामा मारिएका नवराज विक, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढालगायतलाई न्याय दे, जातीय विभेद बन्द गर, मानवअधिकार कायम गर, रुकुम पश्चिम नरसंहारका दोषीहरूलाई कारबाही गर, मानव–मानवबीचको विभेदको अन्य गरौँ, अमेरिकामा जारी रङ्गभेद बन्द गर, जर्ज फ्लोइडको हत्यारा प्रहरीलाई कारबाही गर, विश्वको कुनै पनि मुलुकमा जात र रङका आधारमा विभेद गर्न पाइँदैनलगायत नारा लेखिएका प्ले कार्डसहित नाराजुलुस गरिएको थियो ।

कार्यक्रममा युवा सङ्गठनका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज अनिलले यो शताब्दीमा पनि मान्छे–मान्छेबीचमा जात र रङका आधारमा छुवाछूत र विभेद गर्नु असामाजिक, अमानवीय, क्रूर अनि राक्षसी व्यवहार भएको बताए । उनले श्रमजीवी समुदायका मान्छेहरूलाई समाजमा रहेका केही त्यस्ता खराब मानिसहरूले विभेद गरे पनि उनीहरूका विरुद्ध सम्पूर्ण सचेत मानव समुदाय र आफ्नो पार्टी जातीय भेदभावको अन्त्य गर्न जस्तोसुकै कदम उठाउन तयार रहेको बताए । जातीय मुक्तिका लागि वर्गीय मुक्ति जरुरी भएकाले एकपटक सम्पूर्ण जनता एकाकार भएर सङ्घर्षमा लाग्न उनले अपिल पनि गरे । विद्यमान सम्पूर्ण समस्या समाधानको एक मात्र विकल्प एकीकृत जनक्रान्ति रहेको उनको भनाइ थियो । उनले भने, ‘अमेरिकामा श्वेत प्रहरीले अश्वेत युवकलाई रङ्भेद गरी हत्या गर्नु विश्व मानव समुदायमाथिकै चुनौती हो ।’ दोषी प्रहरीमाथि नेपाली युवाहरूका तर्फबाट खेद प्रकट गर्दै उनले दोषीलाई कडा कारबाहीको माग पनि गरे । रुकुम पश्चिम हत्याकाण्डका पीडितहरूले राज्यबाट उचित न्याय नपाए नेपाल कम्युनिस्ट पार्टी र युवा सङ्गठन नेपालले त्यसको हिसाब चुक्ता गर्ने चेतावनी उनले दिए ।

कार्यक्रममा युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य वीरेन्द्रको पनि उपस्थिति थियो । कार्यक्रमको सहजीकरण सङ्गठनका जिल्ला अध्यक्ष विराटले गरेका थिए ।

यसैगरी रुकुम पश्चिम चौरजहारी ८ सोतीमा निर्दोष युवाहरूको सामूहिक हत्यामा संलग्न अपराधीहरूलाई कारबाही गरी पीडितलाई न्याय दिन, एमसीसी सम्झौता खारेज गर्न, अमेरिकी रङ्गभेद र हत्याको निन्दा र कोरोना महामारी नियन्त्रणका नाममा भएको सरकारी भ्रष्टाचारविरुद्ध सोमबार दाङ घोराहीमा पनि विरोध प्रदर्शन गरिएको छ ।
अखिल (क्रान्तिकारी) दाङद्वारा आयोजित विरोध प्रदर्शन तथा एवम् खबरदारी सभामा सङ्गठनका जिल्ला अध्यक्ष अनिल केसीले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :