प्रचण्ड, शनि र महादेव – भुसाल

Bhesh Raj Bhusalभेषराज भुसाल
माओवादी केन्द्रका कैयौं नेता कार्यकताहरू कहाँ पुग्ने भनेको कहाँ आइपुगियो भनी निश्चित पनि देखिएका छन् तर नेतृत्वको चाकरी गरेर अवसरको खोजी गर्ने पद, पैसा र प्रतिष्ठानका लागि मात्र माओवादी बनेकाहरू अहिले सामाजिक सञ्जालदेखि चोक–चौराहामा प्रचण्डको महिमामण्डित गर्न व्यस्त देखिन्छन् र भन्ने गर्छन् यो देशका नेता प्रचण्ड नै हुन् । प्रचण्ड नभई यो देश नै चल्दैन । फुटेर जानेहरू सिद्धिए र प्रचण्डलाई अब कसैले केही गर्न सक्दैन आदि इत्यादि । को सिद्धिने हो ? सिद्धिनु भनेको के हो ? त्यो इतिहासले नै फैसला गर्ला । उनी नेतै होलान् उनीबिना यो दलाल संसदीय व्यवस्था नै नचल्ला । यी भनाइप्रति केही भन्नु छैन तर प्रचण्डलाई अब कसैले केही गर्न सक्दैन भन्ने भनाइले पौराणिक कथामा आधारित शनि र महादेवबीचको एउटा घटना याद दिलायो । त्यसै सम्बन्धमा दुईचार पंक्ति कोर्न मन लाग्यो ।
एक दिन महादेवको वासस्थान भनिएको कैलास दरबारमा देवऋषि भनिएका नारद आएछन् र बिन्ती गरेछन्– हे देवाधिदेव महादेव; अत्यन्त दुःखका साथ भन्न बाध्य भएको छु । शनि ग्रहको वक्रदृष्टि तपाईंमाथि परेको छ, यसले अनिष्ट हुन सक्छ । बेलैमा बुद्धि पु¥याउनुहोला भनी ‘नारायण नारायण’; भन्दै नारद त्यहाँबाट हिँडिहालेछन् । नारदको भनाइले महादेवलाई अत्यन्त चिन्तित तुल्याएछ । आखिरी के–के दान ग¥यो भने शनि दशाबाट मुक्त हुन सकिएला भन्ने कुरा गम्भीर रूपमा सोच्न थालेछन् । पहिला आफ्नो शिरमा भएको चन्द्रमा शनिका नाममा दान गरेछन् । क्रमशः घाँटीको सर्प, त्रिशूल, डमरु सबै शनिका नाममा दान गरेछन् रे ! अब उनका साथमा इज्जत जोगाएको बाघको छाला मात्र बाँकी बचेछ । अब त्यो पनि दान दिने हो भने त नाङ्गै हुने भइयो । नाङ्गै बाटो कसरी हिँड्ने बडो दोधारमा परेछन् र अन्त्यमा जुक्ति लगाएछन् । यो छाला पनि शनिकै नाममा दान दिन्छु र झाडीमा लुकेर बस्छु भनी त्यो इज्जत ढाकेको बाघको छाला पनि फालेर झाडीमा लुकेर बसेछन् । त्यही बेला शनि उताबाट सेतो घोडामा चढेर आउँदै गरेको महादेवले देखेछन् र भनेछन् हे शनि ! अब तैँले मलाई के गर्न सक्छस् ?

PRACHANDA MAHADEVमहादेवको यस्तो कुरा सुनेर शनिले बडो गर्वका साथ भनेछ– तपाईं जस्तो देवादिदेव महादेवलाई कछाडसमेत फुकालेर नाङ्गै बनाएर झाडीमा पु¥याए । यहाँभन्दा बढी के गर्नु छ र ! भन्दै शनि आफ्नो बाटो लागेछ । उपर्युक्त आख्यानमा महादेवलाई शनिको त्रास भएजस्तै प्रचण्डलाई युद्ध–अपराधमा हेगमा पु¥याउने त्रासले सताइरह्यो । त्यसैले लाखौं कार्यकर्तालाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शनद्वारा प्रशिक्षित गर्ने प्रचण्ड, भैँसी पूजा गर्न थाले । अध्यात्मवाद र भौतिकवादलाई समायोजन गर्ने प्रवचन दिन थाले । आफैँले निर्माण गरी प्रशिक्षित गरेको जनमुक्ति सेना र रगतले साटेका हतियार बुझाउन र विघटन गर्न पुगे । “खेत कसको जोत्नेको” नारा दिएर गयल जमिनदारका जग्गा कब्जा गर्ने निर्देशन जारी गरे । जमिनदारका जग्गा कब्जा गर्दा हजारौं गरिब किसानको रगत बग्यो । यसरी रगत बगाएर कब्जा गरेका जग्गाबिना नीतिबिना व्यवस्था गरिबका छाप्रामा डोजर लगाउने जमिनदारलाई जग्गा फिर्ता गर्ने फर्मान जारी गरे । गाउँ–गाउँमा जाँडरक्सीका घैँटा फुटाउन आदेश दिने प्रचण्ड आज आफैँ घैँटाजस्तै भएका छन् भनी व्यापक हल्ला भएको छ । बहुविवाह गर्नेलाई भाटे कारबाहीका साथ श्रमकैदको फैसला गर्ने प्रचण्ड आफ्नै घरमा बहुविवाहलाई न्यायोचित ठह¥याइरहेका छन् ।

निजी सम्पत्ति पार्टीकरण गर्दै सर्वहाराकरण गर्न नेता–कार्यकर्तालाई निर्देश गरेका प्रचण्ड अहिले अरबौंका सम्पत्तिका मालिक बनेका छन् । महान् जनयुद्धमा गाउँघरका आमा दिदी–बहिनीका नाक– कानका गहना निकालेर पार्टीलाई बुझाउन लगाएका प्रचण्डका घरमा अहिले कति सुन होला, त्यो अनुमानकै विषय छ । हिजो निजी विद्यालय बन्द गर्न लगाउने प्रचण्ड र उनका सहयोगीहरूले आज आफ्ना सन्तान उच्चस्तरीय निजी विद्यालयहरूमा पढाएका छन्, छैनन् दुनियाँले देखेकै होला ।

सिङ्गो नेपाली समाजलाई सबै प्रकारका शोषण, दमन, उत्पीडन र विभेद गर्ने बुर्जुवा पुँजीवादी व्यवस्थाको अन्त्य गरी राष्ट्रिय स्वाधीनतासहितको वर्गीय, जातीय, लैंगिक र क्षेत्रीय उत्पीडनको अन्त्य गर्दै नयाँ जनवाद वैज्ञानिक समाजवाद हुँदै विश्व मानव जातिलाई सबै प्रकारका बन्धनहरूबाट मुक्त पार्ने अभियानलाई नेपाली धर्तीबाट सुरुआत गर्ने उद्घोष गरेका थिए । कमरेड माओको मृत्युपश्चात अन्तर्राष्ट्रियस्तरको नेता बन्ने नेतृत्वको अभावलाई पूरा गर्ने आकांक्षासहित आफैँले शंलेषण गरेको ‘प्रचण्डपथ’ टुकुचामा फालेकी नारायणीमा बगाएर सीमापारि प्रभुकहाँ भेटी चढाए । भारतीय हस्तक्षेपका विरुद्ध सुरुङ युद्ध लड्ने उद्घोषका साथ सिमानामा बङ्कर खन्न लगाउने प्रचण्ड अहिले भारतीय साम्राज्यवादीका अगाडि लम्पसार पर्नु । १९५० लगायत असमान सन्धि–सम्झौता खारेज गर्ने, राष्ट्रलाई सार्वभौम स्वतन्त्र राष्ट्र बनाउनैका लागि जनयुद्धको एउटा कार्यभार बनाएका प्रचण्डले बिप्पा, अपर कणाली, अरुण तेस्रोजस्ता राष्ट्रघाती सम्झौता गर्नु आफैँले राजतन्त्रको अन्त्यपछिको प्रमुख दुश्मन किटान गरेका शक्तिसँग एक प्रकारको रणनीतिक एकता गर्नु त्यो पनि विदेशीकै निर्देशनमा यी सबै घटनाक्रमले प्रचण्ड कति स्खलित भए भन्ने कुराको पुष्टि गर्दछ ।

यसरी महादेव कछाड फालेर नाङ्गै भए जस्तै प्रचण्ड विचार, दर्शन जनता, पार्टी, फालेर नाङ्गै भएका छन् । एउटा विश्व सर्वहाराको महान् नेता बन्ने बाटोबाट विचलित भएर आफैँले जनयुद्धको सुरुआत गर्ने बेला ध्वंस पार्ने भनिएको संसदीय व्यवस्थामा चुर्लुम्म डुबेपछि अब कसैले केही गर्न सक्दैन त भन्ने गरिएको छ तर बुर्जुवाहरूले रसजति चुसेर खोस्टा बनाएर कुन बेला मलखादमा फालिदिने हुन वा हेगमा पु¥याइछाड्ने हुन् । अलिकति गम्भीर भएर सोच्दा राम्रै हुन्थ्यो कि ?
रातो खबर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :